म्याग्दी । म्याग्दीमा निर्वाचनपछि विजयी उम्मेदवारले ठूला र्याली, नाराबाजी र तडकभडकसहित ‘विजयी उत्सव’ मनाउने परम्परा लामो समयदेखि चल्दै आएको थियो।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै बजार क्षेत्रमा बाजागाजा, जुलुस र राजनीतिक नाराबाजीले माहोल तताउने दृश्य यहाँ सामान्यजस्तै मानिन्थ्यो। निर्वाचित उम्मेदवार र दलका नेता, कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो ।
तर यसपटकको प्रतिनिधिसभा निर्वाचनपछि भने म्याग्दीमा फरक दृश्य देखियो । भारी मतान्तरसहित विजयी भएका स्वतन्त्र उम्मेदवार महावीर पुनले जितको खुसीलाई उत्सवमा होइन, जिम्मेवारीमा रूपान्तरण गर्ने सन्देश दिए। शनिबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी भएका स्वतन्त्र उम्मेदवार महावीर पुनको जितमा भने फरक अभ्यास देखियो ।
पुनले आफ्नो विजय सुनिश्चित भएसँगै मतदाता र शुभेच्छुकलाई कुनै पनि तडकभडक हुने खालको विजयी र्याली र उत्सव नगर्न आग्रह गर्दै सन्देश जारी गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि उनलाई बधाई दिन मतदाता र शुभेच्छुकहरू सडकमा भेला भएका थिए । मतदातालाई सम्बोधन गर्दै पुनले निर्वाचनमा जित–हार हुनु सामान्य प्रक्रिया भएको बताउँदै आफूले जितलाई उत्सव नभई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको बताए ।
“मुख्यगरी शिक्षा नीति सुधार गर्न म उम्मेदवार भएको थिएँ । जनताले भोट दिएपछि म निर्वाचित भएँ । अब कुनै खुसी मनाउने कुरा होइन, जिम्मेवारीको भारी बोकेर काम गर्ने कुरा हुन्छ । मतदानमा सहभागी सम्पूर्ण मतदाताप्रति म आभारी छु”, पुनले भने ।
निर्वाचनमा कतिपय उम्मेदवारले विजयपछि र्याली गर्ने गरेको उल्लेख गर्दै उनले जितमा मात्तिने र हारमा आत्तिने काम दुवै गलत भएको बताए । “चुनावमा विजयी भएपछि धेरै मतदाताले बेनी बजारमा विजयी उत्सव मनाउनुपर्ने भन्दै आग्रह गरिरहेका छन् । कतिपय साथीभाइले यति ठूलो खुसीमा किन उत्सव नगर्ने भनेका छन् । तर मैले सार्वजनिक रूपमा विजयी उत्सव र्याली नगर्ने घोषणा गरिसकेको छु”, पुनले भने ।
निर्वाचनबाट एक जनामात्र विजेता हुने र अन्य उम्मेदवार पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने उनले धारणा राखे । विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सांसद पुनले सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताए ।
हरेक विजयी उत्सवमा धेरै नागरिकको समय र पैसा खर्च हुने गरेको उल्लेख गर्दै सांसद पुनले समय अमूल्य भएकाले त्यसलाई सही ठाउँमा उपयोग गर्न आग्रह गरे । साथै, उनले जिल्लाको विकासका लागि उम्मेदवार, राजनीतिक दल र सरोकारवालासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पुन निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतान्तरले विजयी भएका हुन् । उनले २२ हजार ८५० मत प्राप्त गर्दा नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत पाए । त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६, नेकपाका अर्जुन थापाले तीन हजार ५२९ र रास्वपाका युवराज रोकाले एक हजार ५३० मत प्राप्त गरे ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुनलाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले औपचारिक रूपमा विजयी भएको प्रमाणपत्र प्रदान गरे । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।




































