नेपाली पत्रकारिता क्षेत्रमा सुपरिचित नाम हो, शन्तराम बिडारी । समाचार लेखन, पत्रिका सम्पादनदेखि प्रेस स्वतन्त्रताको महाअभियानमा बिडारी लामो समयदेखि सक्रियता रहँदै आएका छन् ।
पत्रकारिता जगतमा उल्लेखनीय उपस्थित जनाएर स्थापित बिडारी प्रेस चौतारीका नेपालका होनहार अभियन्ता पनि हुन् । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ बज्रवाराहीमा जन्मेका बिडारी डेढ दशकदेखि पत्रकारिता जगतमा सक्रिय छन् । उनले आमसञ्चार विषयको अध्यापन पनि गराउँदै आएका छन् । बिडारीले नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबीसी टेलिभिजन, बुधबार साप्ताहिक र साँघु साप्ताहिकजस्ता प्रतिष्ठित मिडियामा काम गरिसकेका छन् । उनी प्रकाशक रहेको दामन पोष्ट साप्ताहिक निरन्तर प्रकाशित भइरहेको छ ।
बिडारीको मुख्य परिचय सक्रिय पत्रकार, प्रेस स्वतन्त्रताको सेनानी, लेखक, अध्यापक, सम्पादकका रूपमा रहेको छ । पत्रकारिता तथा आमसञ्चार विषयमा औपचारिक अध्ययन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमए तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् भने नेपाल ल क्याम्पबाट एलएलबी गरेका छन्।
समाचार कक्षमा बसेर समाचार सम्पादन गर्ने भूमिकादेखि राज्यका नीतिगत निकायसँग जोडिएर काम गरिसकेको उनको अनुभव छ । नेपाली पत्रकारितालाई विश्वसनीय, तथ्यगत, सन्तुलनमा आधारित बनाउँदै उत्तरदायित्व सहितको पत्रकारिताका निम्ति स्थापना भएको संस्था प्रेस काउन्सिल नेपालमा सदस्यको रूपमा बिडारी अनुभव सँगालिरहेका छन् ।
स्थायी मुकाम खोटाङको जन्तेढुङ्गा–२ भएका उपेन्द्र खड्का पत्रकार तथा साहित्यकारको रूपमा परिचित छ्न । स्वास्थ्य क्षेत्रमा निरन्तर लेखिरहेका खड्काले आधा दर्जनभन्दा धेरै सञ्चारमाध्यममा १ दशकदेखि सक्रियता जनाउँदै आइरहेका छन् । पत्रकारितामा यथार्थ खोज, तथ्य र समवेदनासँग जोडेर समाचार प्रस्तुत गर्न सिपालु पत्रकार उपेन्द्र खड्काले शुक्रबार साप्ताहिक, परिवार मासिक र उकेरा डटकम जस्ता मुलधारको मिडियामा काम गरिसकेका छन् । निरन्तर पत्रकारितामा सक्रिय खड्काले विशेषगरी स्वास्थ्य पत्रकारितामा अलग पहिचान बनाएका छन् ।
छापा र डिजिटल माध्यममा प्रकाशित दर्जनौं खोजमूलक रिपोर्टहरूमार्फत आफूलाई योग्य रिपोर्टरको रूपमा चिनाउन सफल भएका छन् खड्का । पत्रकारितासँगै साहित्यिक सिर्जनामा पनि सक्रिय खड्काले लेखेको कवितासंग्रह ‘सपनाका अनगिन्ती कथाहरू’ र उनैले सम्पादन गरेको ‘सुहागरात’ पुस्तक प्रकाशित भइसकेका छन् । खड्का हाल काठमाडौं विश्वविद्यालको स्कूल अफ आट्र्स अन्तर्गत भाषा तथा सञ्चार विभागमा सञ्चार सम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका छन्।
बिडारी र खड्काले लेखेको पुस्तक ‘आमसञ्चारको परिचय’ केही समय अगाडि प्रकाशनमा आएको छ । १ वाक्यमा भन्दा पुस्तक पत्रकार, पत्रकारिताका विद्यार्थी तथा आमसञ्चारमा रूचि राख्ने जोकोहीलाई महत्वपूर्ण पुस्तक बनेको छ । भुँडीपुराण प्रकाशन बागबजारद्वारा प्रकाशित पुस्तक पत्रकारिताका विद्यार्थीका लागि सन्दर्भ सामग्री बनिरहेको छ ।
पत्रकारिता भनेको केवल समाचार लेख्ने सीप मात्र होइन, समाज बुझ्ने दृष्टि, सत्यप्रतिको प्रतिबद्धता र दायित्वको यात्रा पनि हो । पत्रकारिताको यही मर्मलाई आत्मसात गर्दै तयार पारिएको यो पुस्तक ‘आमसञ्चारको परिचय’ नेपाली पत्रकारिता आधारभूत अध्ययनका गर्नका लागि एक उपयोगी र समयसापेक्ष सन्दर्भ सामग्रीका रूपमा प्रकाशित भएको छ ।

पुस्तकको संरचना ५ अध्यायमा विभाजित छ, जसले पत्रकारिता र आमसञ्चारका आधारभूत अवधारणादेखि लिएर व्यावहारिक अभ्यास, कानूनी तथा नैतिक पक्षसम्मलाई समेत समेटेको छ ।
पहिलो अध्यायमा आमसञ्चार र पत्रकारिताको परिचय, परिभाषा, प्रकार, सञ्चार प्रक्रिया तथा अवरोध, पत्रकारिताका प्रक्रिया, आमसञ्चारमाध्यमको विकासक्रम जस्ता विषयलाई सरल र क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ । यस अध्यायले पत्रकारिता अध्ययनको जगलाई बुझाउने काम गरेको छ ।
पुस्तकमा दोस्रो भागमा चर्चा गरिएको समाचारको परिभाषा, समाचारको तत्व, समाचारका प्रकारहरू, समाचारका स्रोतहरू, समाचारको मूल्य आदि समाचारका मूल अवयव हुन् । यी अवयवहरूको छोटोछरितो चर्चा यस अध्यायमा गरिएको छ । यहीँ अध्यायमा समाचारका अन्य अत्यावश्यक तत्वहरू जस्तैः समाचारको शीर्षक, समयसीमा, डेटलाइन, आमुख, फोटोको प्रयोग, चित्रण, कार्टुन, रेखाचित्र, पृष्ठ संयोजन, छपाइ शुद्धता, समाचार बनावटको पनि चर्चा गरिएको छ ।
समाचार लेख्दा समाचारको शीर्षकको निकै महत्व हुने गर्छ । शीर्षकले समाचारलाई आकर्षण ढंगले बुझाउन वा छोटोमा समाचारको संक्षिप्त बुझाउन सहयोग गर्छ । समयसीमा समाचार लेख्दा अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । समयसीमाले समयको महत्वलाई जोड दिन्छ । डेटलाइन समाचारका लागि आवश्यक छ । बार, स्थान आदि खुलाउन डेटलाइनको प्रयोग गरिन्छ । यस्तो अभ्यास मुलधारको मिडिया र कतिपय स्थानीय मिडियामा नियमिततामा प्रयोग भएका छन् । कतिपय मिडियामा डेटलाइन नै आएको हुँदैन । पत्रकारिताको सिद्धान्तमा डेटलाइन अनिवार्य मानिन्छ ।
आमुखले समाचार तयार पार्दा समाचारको मुख्य तत्वलाई जोड दिन्छ । समाचारको पहिलो अनुच्छेदलाई आमुखले व्याख्या गर्छ । आमुखमा ५डब्ल्यू (के, कहाँ, कहिले, किन, कसरी) लाई समेटनुपर्छ । केही समाचारमा फोटोको प्रयोग पनि गरिन्छ । फोटोहरूलाई समाचारलाई जीवन्त बनाउने माध्यमको रूपमा लिइन्छ । भनिन्छ एउटा फोटोले सयौं शब्द बराबरको तागत राख्छ । समाचार बनाउँदा चित्रण वा स्केच पनि प्रयोग हुन्छ । इलस्ट्रेसनहरूले समाचारलाई स्पष्ट र आकर्षक बनाउने गर्छन् । कार्टुन पनि सञ्चारकै एक बेग्लै शैली हो । कार्टुनहरू व्यंग्यात्मक तरिकाले समाचार र तत्कालीन परिस्थितिलाई बुझाउन बनाउने गरिन्छ । रेखाचित्रले जटिल जानकारीलाई सरल बनाउन सहयोग गर्छ । धेरैजसो खोजमूलक समाचारहरूमा यसको प्रयोग गरिन्छ ।
पृष्ठ संयोजनले पेजभित्रको लेआउटको महत्वलाई जोड दिन्छ, पत्रिकाको पृष्ठलाई आकर्षक र पढ्न सजिलो बनाउने डिजाइनले मात्र समाचारलाई पाठकमाझ आकर्षक ढंगले पठाउन सकिन्छ । यसैले समाचारको सिर्जनात्मक वितरण गर्न पृष्ठ संयोजन महत्वपूर्ण भूमिका हुन्छ । छपाइ शुद्धीकरण समाचारमा अतिआवश्यक छ । अखबार छाप्नुअघि सम्पादनले मसिनो गरी हेर्छन् । यो प्रक्रियामा व्याकरणीक त्रुटि र तथ्य जाँचका विधिहरूको आवश्यकता हुन्छ ।
समाचारको बनावटमा पिरामिड संरचनामा ध्यान दिनुपर्छ । मुख्य तथ्य माथिबाट राख्दै जाने र कम महत्व विषयको अर्को अनुच्छेदमा राख्ने सिद्धान्त छ । अर्थात्, समाचारले भन्न खोजेको मुख्य कुरा पहिलो अनुच्छेदमा आउनुपर्छ । यसरी एउटा समाचार बनाउने रोचक शैली अपनाइन्छ । लेखकद्वयले समाचार निर्माणको यी चरणलाई मसिनो गरी चर्चा गरेका छन् । जुन जोकोही पत्रकारिताका विद्यार्थीले अनिवार्य रूपमा बुझ्नैपर्ने हुन्छ । यसै अध्यायमा ‘सम्पादक र संवाददाताका योग्यता (गुण) र भूमिकाहरू’ रिपोर्टिङ र सम्पादनका सिद्धान्तहरू नामक २ पाठ रहेका छन् । यी पाठहरूले पत्रकारिता सिद्धान्तको जानकारीमूलक ढंगले व्याख्या गरेका छन् ।
पत्रकारिता लोकतान्त्रिक राज्यको चौथो अंग मानिन्छ । पत्रकारिता र पत्रकारको दायित्व समाजमा सही सूचना प्रवाह, सत्यको खोजी र शक्तिको सन्तुलनसँग सम्बन्धित हुन्छ । पुस्तकको चौथो अध्यायमा नेपालमा पत्रकारहरूका लागि आचारसंहिताको विकास र यसको कार्यान्वयनको सन्दर्भमा प्रेस काउन्सिल नेपालको भूमिकालाई जोडेर चर्चा गरिएको छ । यो अध्यायमा पत्रकारहरूका लागि निर्धारित आचारसंहिताको अवधारणा, यसको महत्व र विशेषगरी प्रेस काउन्सिल नेपालको भूमिकालाई केन्द्रमा राखेर चर्चा गरिएको छ ।
मिडिया केवल सूचना प्रवाहको माध्यम होइन, यो कानूनको दायराभित्र उभिएको जिम्मेवार माध्यम पनि हो । कानूनले मिडियालाई स्वतन्त्रता दिन्छ तर त्यो स्वतन्त्रता अनुशासन विनाको र जिम्मेवारी विनाको भने हुँदैन ।
पत्रकारिताको वास्तविक सौन्दर्य सनसनीमा होइन, सत्य, नैतिकता र उत्तरदायित्वमा निहित हुन्छ । यही कुरासँग सम्बन्धि २ पाठ यस अध्यायमा रहेको छ । ‘मिडियामा कानूनको परिचय’ र ‘पत्रकारितामा नैतिकता’ नाममा । यसरी पुस्तकले पत्रकारिताको आधारभूत ज्ञान दिएको छ । अध्याय ५ मा प्रयोगात्मक कार्य र मूल्याङ्कनलाई चर्चा गरिएको छ । अन्तिममा किताब लेख्दा प्रयोग भएका सन्दर्भ सामग्री रहेका छन् ।
‘आमसञ्चारको परिचय’ नामक पुस्तकले पत्रकारितालाई सीपको तहमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वको अभ्यासका रूपमा बुझाउन खोजेको छ । यसले सूचना उत्पादनका अनेकौं चरण, तरिका, सैद्धान्तिक अभ्यासलाई सिकाउँछ । पत्रकारलाई सत्यप्रतिको इमान्दार हुन सिकाउँछ । पत्रकारितामा प्रवेश गर्न चाहनेहरूका लागि यस पुस्तकले दिशाबोध दिन्छ भने अभ्यासरत पत्रकारका लागि आत्ममूल्यांकनको अवसर प्रदान गर्छ । सैद्धान्तिक ज्ञान र व्यवहारबिचको दूरी घटाउने प्रयास यस पुस्तकको बलियो पक्ष हो । बदलिँदो परिवेशमा पत्रकारिताको मर्यादा कसरी जोगाउने भन्ने प्रश्नमा उठिरहेको सन्दर्भमा यस्ता पुस्तक लेखिनुपर्छ । नेपाली पत्रकारितालाई सैद्धान्तिक रूपमा पनि मजबुत बनाउन जरुरी छ ।
पुस्तक पढ्दा केही कमी पनि महसूस हुन्छ । कतिपय वाक्य सिर्जनात्मक लाग्दैनन् । कतिपय वाक्यले छरिता पनि छन् । लेखकद्वयले सम्पादनमा अझै ध्यान दिनुपर्ने देखिन्छ । यी कुरामा लेखकहरूको ध्यान जाओस् ।
अध्यायहरू छोटा छन्, जसकारण विषयको व्यवस्थित व्याख्या पर्याप्त हुन सकेको छैन । अर्को संस्करणमा लेखकद्वयको सिर्जनात्मक लेखन झन् मजबुत होस् । लेखकद्वयलाई थप लेखन यात्राका निम्ति शुभकामना !
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।































