काठमाडौंं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको १६५ क्षेत्रकै नतिजा आइसकेको छ । समानुपातिकको पनि मत गणना सकिएको छ । समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भइसकेको छ ।
तर समानुपातिकको हिसाबकिताब भने बाँकी नै छ । समानुपातिकतर्फ एक करोड ९ लाख मत खसेको थियो । गणनाको नजिताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लख बढी मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख बढी, एमालेले १४ लाख बढी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख हाराहारी मत ल्याएका छन् । श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख बढी मत ल्याएका छन् । यसले ६ वटा दल मात्रै राष्ट्रिय दल हुने स्पष्ट भइसकेको छ ।
यससँगै अब दलहरूले समानुपातिकतर्फ कति सिट पाउलान् भन्ने हिसाबकिताब गर्न सकिने अवस्था बनेको छ । मतपरिणामको पछिल्लो अवस्था हेर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले समान चार सिट पाउने सम्भावना देखिन्छ ।
समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम गरी ६ वटा क्लस्टरमा आयोगले तोकेको प्रतिशतअनुसार दलहरूले उमेदवारको सूची आयोगमा बुझाएका छन् । यसबाटै समानुपातिक सांसद छानिनेछन् । संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ । प्रत्यक्षतर्फ कुल १४ महिला निर्वाचित भएका छन् । दलहरूले पाएको सिटअनुसार ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने देखिन्छ । राष्ट्रियसभामा प्रतिनिधित्व भएका दलहरूको भने राष्ट्रियसभासहित जोडिनेछ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रास्वपाबाट प्रत्यक्षतर्फ १२५ सांसद निर्वाचित हुँदा १३ जना मात्रै महिला निर्वाचित भएका छन् । समानुपातिकर्फ ५८ सिट कायम भएमा रास्वपा कुल १८३ सिटको पार्टी हुनेछ । ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याउन रास्वपाबाट समानुपातिक प्रणालीतर्फबाट ४८ महिला सांसद चुनिनेछन् ।
नेपाली कांग्रेसको राष्ट्रियसभामा २४ सांसद छन् । प्रतिनिधिसभाको प्रत्यक्षमा १८ सिट जितेको छ । समानुपातिकतर्फ १९ पाएमा कांग्रेसको संघीय संसद्मा ६१ सांसद हुनेछन् । राष्ट्रियसभामा पाँच र प्रत्यक्षमा एक गरी संसद्मा कांग्रेसका ६ सांसद छन् । महिला प्रतिनिधित्व पुर्याउन समानुपातिकबाट अब १५ जना छान्नुपर्ने हुन्छ । त्यसैगरी, एमालेको राष्ट्रियसभामा १० सांसद छन् । त्यसमध्ये सातजना महिला छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले ९ सिट जितेको छ । समानुपातिक मत हेर्दा एमालेले समानुपातिकतर्फ ९ सिट पाएमा संघीय संसद्मा एमालेको कुल ३५ सिट हुन जान्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पुरुष मात्रै सांसद बनेका छन् । उसको राष्ट्रियसभामा सातजना महिला छन् । संसद्मा ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउन एमालेबाट पाँचजना महिला सांसद निर्वाचित गराउनैपर्छ ।
नेकपाको राष्ट्रियसभामा १७ जना सांसद छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ सिट जितेको छ । समानुपातिकतर्फ ९ सिट पाउने सम्भावना देखिएको छ । त्यसो भएमा संघीय संसद्मा नेकपाका ३४ सांसद हुनेछन् । प्रत्यक्षमा सबै सांसद पुरुष छन् । तथापि, राष्ट्रियसभामा उसका आठ महिला सांसद छन् । उसले ३३ प्रतिशत पुर्याउन समानुपातिकबाट चारजना महिला सांसद बनाउनुपर्ने हुन्छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । समानुपातिकतर्फ चार सिट पाउने सम्भावना छ । त्यसो भएमा उसले तीनजना महिलालाई सांसद बनाउनुपर्छ । त्यस्तै, प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकर्फ चार सिट पाउने सम्भावना छ । उसले दुईजना महिला सांसद चुन्नुपर्ने हुन्छ ।
आयोगले बुधबार दलहरूलाई समानुपातिक सिटको संख्या निर्धारण भएको जानकारी पठाउने तयारी गरेको छ । निर्धारित संख्यामा समानुपातिकतर्फ निर्धारित क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले समानुपातिक बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि ती नामावली समावेशी क्लस्टरबमोजिम मिले/नमिलेको रूजु गर्नेछ । समानुपातिकतर्फका निर्वाचित सांसदको नाम एकिन भएपछि आयोगले प्रमाणपत्र उपलब्ध गराउँछ । निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि आयोगले त्यसको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्छ । आयोगले चैतको पहिलो साताभित्र मतपरिणाम बुझाउने गरी काम गरिरहेको अधिकारीहरू बताउँछन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































