इरानमाथि अमेरिका–इजरायल युद्धको सुरुवातमै जोर्डन र इजिप्टले सिरियातर्फको ग्यास आपूर्ति बन्द गरेको रिपोर्टहरू बाहिर आए । मध्यपूर्वलाई पुनःसंरचना गर्ने निरन्तर प्रयासको रूपमा रहेको अमेरिका–इजरायली आक्रामकतापछि उत्पन्न स्तब्धताबिच यी रिपोर्टहरू सामान्य विवरण जस्तै देखिए ।
यद्यपि यस्ता सामान्य देखिने रिपोर्टहरूले ती दीर्घकालीन र गैर–सैन्य प्रक्रियाहरूलाई लुकाउँछन्, जसका माध्यमबाट पुनःसंरचनाको कार्य भौतिक रूपमा कार्यान्वयन भइरहेको छ । यो समाचारले के स्पष्ट पारेको छ भने यस क्षेत्रमा इजरायलको ऊर्जा नियन्त्रण बढ्दो छ, जसले उसको औपनिवेशिक एजेन्डालाई अगाडि बढाउन मद्दत पुर्याउन सक्छ ।
ग्यास कहाँबाट आउँछ ?
गत जनवरीमा इजिप्टले ‘अरब ग्यास पाइपलाइन’मार्फत सिरियालाई दैनिक २८ लाख घनमिटर ग्यास आपूर्ति गर्न थालेको थियो । पाइपलाइन इजिप्टको एल आरिशबाट ताबा हुँदै जोर्डनको अक्काबा, त्यसपछि उत्तरमा अम्मान, सिरियाको दमासकस र होम्स हुँदै लेबनानको त्रिपोली पुग्छ । इजिप्टबाट ग्यास आयातका लागि लेबनानसँग पनि समझदारी पत्रमा हस्ताक्षर भएको थियो तर रिपोर्टहरूका अनुसार प्राविधिक चुनौतीका कारण ग्यास प्रवाह अझै सुरु भएको छैन । जनवरीमै जोर्डनको सरकारी स्वामित्वको ‘नेसनल इलेक्ट्रिक पावर कम्पनी’ले सिरियाली पेट्रोलियम कम्पनीसँग दैनिक ४० लाख घनमिटर ग्यास आपूर्तिका लागि सम्झौता गरेको थियो ।
यी सम्झौताका समाचारहरू सार्वजनिक भएदेखि नै एउटा केन्द्रीय प्रश्न खडा भयोः इजिप्ट र जोर्डनले निर्यातका लागि ग्यास कहाँबाट प्राप्त गर्नेछन् ?
इजिप्ट ग्यास उत्पादक देश हो तर विगतका वर्षहरूमा यसको स्थानीय उत्पादन घटेको छ । सन् २०२४ मा उत्पादन ४९.३ अर्ब घनमिटरको ६ वर्षे न्यून विन्दुमा झरेको थियो । सोही वर्ष यसको आयात १४.६ अर्ब घनमिटरको कीर्तिमानी उचाइमा पुग्यो, जसमध्ये करीब १० अर्ब घनमिटर इजरायलबाट आएको थियो । गत वर्ष काइरोले सन् २०४० सम्म इजरायली ग्यास आयात गर्न ३५ अर्ब डलरको सम्झौता गर्यो, जसले अघिल्लो आपूर्तिलाई वार्षिक अर्को २ अर्ब घनमिटरले बढाएको छ ।
इजिप्ट ग्यास आयातकर्ता भए पनि उसले अझै ग्यास निर्यात गर्दछ । यद्यपि उसले सिरियालाई कुन ग्यास बेचिरहेको छ भन्ने रिपोर्टहरू विरोधाभासपूर्ण छन् । कतिपयले यो इजरायली मूलको ग्यास भएको बताउँछन् भने अरूले यो इजिप्टका लागि लक्षित तरल ग्यास भएको दाबी गर्छन्, जुन जोर्डनको अक्काबा बन्दरगाहमा प्राप्त गरी पुनः ग्यासमा परिणत गरेर ‘अरब ग्यास पाइपलाइन’मार्फत उत्तरतर्फ पठाइन्छ ।
इजिप्टको विपरीत जोर्डन ठूलो ग्यास उत्पादक देश होइन । स्थानीय उत्पादनले ग्यास आवश्यकताको ५ प्रतिशतभन्दा कम मात्र हिस्सा ओगट्छ । उसले बाँकी वार्षिक करीब ३.६ अर्ब घनमिटर आयात गर्दछ, जसमध्ये अधिकांश हिस्सा इजरायलबाट आउँछ भने केही इजिप्ट र केही तरल ग्यासबाट प्राप्त हुन्छ ।
जब सिरियालाई गरिने जोर्डनी ग्यास बिक्रीको स्रोतबारे प्रश्नहरू उठे, एक सिरियाली अधिकारीले आयातित ग्यास जोर्डनी मूलको नभएको, बरु विश्वव्यापी बजारबाट किनिएको तरल प्राकृतिक ग्यास भएको र अक्काबामा त्यसलाई पुनः ग्यासमा परिणत गरिएको जवाफ दिएका थिए ।
इजरायल केन्द्रित क्षेत्रीय ग्यास ऊर्जा प्रणाली
‘अरब ग्यास पाइपलाइन’ः जो कुनै समय संयुक्त अरब विकास परियोजनाहरूको प्रतीक थियो, अहिले जोर्डन र इजिप्ट दुवैमा इजरायली ग्यास निर्यात गर्ने प्राथमिक माध्यम बनेको छ । हाइफाको तट नजिकै रहेको ‘लेभियाथान’ क्षेत्रबाट ग्यास बोक्ने पाइपलाइनहरू उत्तरी जोर्डनको माफराक गभर्नरेटको पाइपलाइन सञ्जालसँग जोडिन्छन्, जहाँबाट ग्यास दक्षिणतर्फ इजिप्टको सीमातिर बग्छ ।
अक्काबा टर्मिनलमा ट्यांकरबाट आउने कुनै पनि स्वतन्त्र तरल ग्यास ढुवानी ‘अरब ग्यास पाइपलाइन’ प्रणालीमा प्रवेश गर्नैपर्छ, जहाँ यो सञ्जालमा पहिलेदेखि नै बगिरहेको इजरायली ग्याससँग अनिवार्य रूपमा मिसिन्छ । एकपटक प्रणालीभित्र छिरेपछि यो अन्तरसम्बन्धित राज्यहरूबिच वितरण गरिने साझा ‘ग्यास मिश्रण’को हिस्सा बन्छ । महत्वपूर्ण कुरा के छ भने पाइपलाइनमार्फत हुने दीर्घकालीन आपूर्तिको मेरुदण्ड इजरायली ग्यास नै हो ।
परिणामस्वरूप तरल ग्यास ढुवानीलाई सम्भवतः क्षेत्रीय राफसाफ संयन्त्रमार्फत व्यवस्थापन गरिन्छ । उदाहरणका लागि अक्काबामार्फत तरल ग्यासको रूपमा आयात गरिएको ग्यासलाई सञ्जालको नजिकको विन्दु इजिप्टतर्फ पठाइन्छ, जबकि उत्तरी जोर्डनमा प्रणालीमा प्रवेश गर्ने सोही परिमाणको इजरायली ग्यासलाई सिरियातर्फ पठाइन्छ । यो व्यवस्थाले पाइपलाइनको प्रवाह उल्टाउने वा लामो दूरीसम्म ग्यास ढुवानी गर्दा लाग्ने लजिस्टिक र वित्तीय लागतलाई जोगाउँछ ।
जब इजरायली ग्यास रोकिन्छ, सम्पूर्ण सञ्जाल रोकिन्छ
जब इजरायलले लेभियाथान क्षेत्रमा ग्यास उत्पादन बन्द गर्यो, जोर्डन र इजिप्टतर्फको ग्यास प्रवाह तुरुन्तै रोकियो, जसले दुवै देशलाई संकटमा धकेल्यो र अचानक उत्पन्न अभावको सामना गर्न आपतकालीन योजनाहरू सक्रिय गर्न बाध्य बनायो । १ वर्षभन्दा कम अवधिमा भएको यो दोस्रो अवरोध थियो । अघिल्लो जुनमा इरानमाथि भएको १२ दिने इजरायली आक्रमणको समयमा पनि सोही क्षेत्र १३ दिनका लागि बन्द गरिएको थियो, जसले फेरि जोर्डन र इजिप्टको आपूर्ति काटेको थियो । यसपटक यस्तो हुँदा अम्मानले सिरियालाई आपूर्ति गरिरहेको ग्यासमा कटौती र आंशिक स्थगनको घोषणा गर्यो । काइरो पनि सिरियातर्फको निर्यात स्थगित गर्न बाध्य भयो ।
त्यसैले भौतिक यथार्थले आधिकारिक दाबीहरूलाई खण्डन गरेको देखिन्छः सिरिया र भविष्यमा लेबनान पुग्ने ग्यास व्यावहारिक रूपमा इजरायली ग्यास नै हो । कुनै विशेष कारोबारमा इजरायल प्रत्यक्ष आपूर्तिकर्ता नभएको अवस्थामा पनि यो प्रणाली संरचनात्मक रूपमा इजरायली ग्यासमा निर्भर छ । एकपटक इजरायली निर्यात रोकिएपछि सम्पूर्ण सञ्जाल नै धर्मराउँछ ।

इजरायली ग्यासको अवरोधपछि जोर्डनको आफ्नै आपतकालीन योजनामा विश्वव्यापी बजारबाट अक्काबामार्फत तरल ग्यास आयात गर्ने समावेश छ । वर्तमान परिस्थितिमा पनि यो विकल्प स्पष्ट रूपमा उपलब्ध छ । यदि त्यो मार्ग उपलब्ध छ भने सिरियातर्फको आपूर्ति किन घटाइयो वा रोकियो ?
व्याख्या जेसुकै भए पनि तथ्यहरूले के पुष्टि गर्छन् भने इजरायल उदीयमान क्षेत्रीय ग्यास प्रणालीको केन्द्रमा छ । यो केन्द्रीयताले उसलाई उल्लेख्य राजनीतिक लाभ प्रदान गर्दछ । ऊर्जा आपूर्तिलाई पहिले नै राजनीतिक औजारको रूपमा प्रयोग गरिसकिएको छ, उदाहरणका लागि कथित शान्ति सन्धि उल्लंघनको बहानामा इजिप्टसँगको ग्यास सम्झौताहरूमा पुनर्विचार गर्ने धम्की दिएर ।
अझ स्पष्ट रूपमा इजरायलले अत्यावश्यक पूर्वाधार र उपयोगिताहरूलाई हतियार बनाउने आफ्नो इच्छा प्रदर्शन गरिसकेको छ । गाजामा भएको नरसंहारको समयमा बिजुली, ऊर्जा र पानी (तिनीहरूलाई टिकाइराख्ने पूर्वाधारसहित) व्यवस्थित रूपमा लक्षित गरी काटिएको थियो, जसलाई सामूहिक दण्ड र विनाशको साधनको रूपमा प्रयोग गरियो ।
निर्भरताको पिँजडा
लेबनान र सिरियालाई बिजुलीको सख्त आवश्यकता छ । त्यो हतारोलाई इजरायल केन्द्रित क्षेत्रीय ऊर्जा सञ्जालमा एकीकृत हुन जायज ठहराउन प्रयोग गरिँदैछ । यस्तो अवस्थामा ग्यासको स्रोतबारेका प्रश्नहरूलाई पन्छाउने सम्भावना छ र क्षेत्रीय ऊर्जा व्यवस्थामा इजरायलको संरचनात्मक केन्द्रीयतालाई चुपचाप बेवास्ता गरिन्छ ।
यसको परिणाम एउटा यस्तो प्रणाली हुनेछ, जसले यी दुवै देश इजिप्ट र जोर्डनका साथ एउटा यस्तो पूर्वाधारभित्र राख्नेछ, जहाँ आपूर्तिमा अवरोध कुनै पनि क्षण सम्भव छ र जहाँ निर्णायक साँचो अन्ततः इजरायलको हातमा रहन्छ ।
यो सियोनिस्ट बसोबास औपनिवेशिक परियोजना केवल सैन्य आक्रामकताबाट मात्र होइन, बरु आर्थिक शक्ति र ऊर्जा सञ्जालका माध्यमबाट पनि कसरी विस्तार भइरहेको छ भन्ने स्पष्ट उदाहरण हो । यो एउटा यस्तो पूर्वाधारमार्फत अगाडि बढ्छ जुन सामान्य र प्राविधिक देखिन्छ, तर अन्ततः यसले समाजको घाँटी निमोठ्छ । एकपटक यस्तो प्रणालीमा बाँधिएपछि यसबाट अलग हुनु असाधारण रूपमा गाह्रो हुन्छ, किनभने यसले दैनिक जीवनका अत्यावश्यक वस्तुहरूः बिजुली, पानी र ऊर्जालाई नियन्त्रण गर्दछ ।
सिरिया र लेबनानसँग विकल्प भने छ, आफ्नै ऊर्जा भण्डारको विकास गर्ने । सिरियाको जमिन मुनिको ग्यास भण्डार २८० अर्ब घनमिटर र समुद्रमुनि सम्भवतः २५० अर्ब घनमिटर रहेको छ; लेबनानको समुद्रमुनि ७०० अर्ब घनमिटरसम्मको भण्डार हुन सक्छ । यी ऊर्जा स्रोतहरूको विकास गर्न समय र ठूलो लगानी मात्र होइन, बरु राजनीतिक दबाब, विशेष गरी इजरायल र अमेरिकाको दबाबलाई प्रतिकार गरी इजरायली ग्यासमा निर्भर हुने विकल्पलाई अस्वीकार गर्ने बलियो राजनीतिक इच्छाशक्ति आवश्यक पर्दछ ।
आज सिरियाली र लेबनानी राजनीतिक नेताहरू छिटो र सजिलो आर्थिक सुरक्षा तथा भरपर्दो जीवनयापनको आश्वासनबाट लोभिन सक्छन् । तर त्यस्तो सुरक्षा भ्रम मात्र हुनेछ । अन्तिम नियन्त्रण एउटा यस्तो राज्यको हातमा रहनेछ, जसको आपूर्ति काट्ने क्षमता र त्यस अवरोधलाई विनाश, राजनीतिक जबरजस्ती र औपनिवेशिक विस्तारको औजारको रूपमा प्रयोग गर्ने क्षमता पहिले नै सबैले देखिसकेका छन् । (लेखक हिशाम साइन्स पोस्थित सेन्टर फर इन्टरनेसनल स्टडिजका अनुसन्धानकर्ता हुन् ।) (अलजजिराबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































