इरानमाथि भएको अमेरिका–इजरायल युद्धले विश्वव्यापी ऊर्जा बजारमा गहिरो प्रभाव पार्नेछ । यसले मानक मानिने ‘ब्रेन्ट क्रुड’ तेलको मूल्यलाई प्रतिब्यारेल झण्डै १२० डलर पुर्याइसकेको छ, जुन सन् २००८ जुलाईमा रेकर्ड गरिएको अहिलेसम्मकै उच्च मूल्य १४७ डलरको नजिक हो ।
सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पनि ब्रेन्ट क्रुडको मूल्य आकाशिँदै मार्चमा प्रतिब्यारेल १३९ डलर पुगेको थियो, जुन अर्को वर्ष युद्धपूर्वको दरमा स्थिर भएको थियो । प्राकृतिक ग्यासको मूल्यले पनि सन् २०२२ मा उच्चतम बिन्दु छोएको थियो र इरानमाथिको आक्रमण एवं हर्मोज जलसन्धि बन्द भएपछि यो महिना पनि त्यस्तै भएको छ ।
कसैले रूस–युक्रेन युद्धको ऊर्जा धक्कालाई औंल्याउँदै इरान युद्ध पनि त्यस्तै ढाँचामा जाने तर्क गर्न सक्छन्ः अर्थात् एक अस्थायी धक्का र अन्ततः बजारको सामान्यीकरण । तर यसपटक त्यस्तो हुने सम्भावना कम छ । हो, तेल र ग्यासको मूल्य अन्ततः स्थिर त हुनेछ तर त्यो क्षेत्र र विश्वका लागि धेरै ठूलो आर्थिक मूल्य चुकाएपछि मात्र सम्भव हुनेछ ।
सन् २०२२ को ऊर्जा संकट मुख्यतया युरोपेली देशहरू र संयुक्त राज्य अमेरिकाले रूसमाथि लगाएको प्रतिबन्ध र मूल्य सीमाद्वारा प्रेरित थियो । यसले तेलको ठूलो परिमाणलाई वैकल्पिक व्यापार मार्गहरूमा धकेल्यो र युरोपतर्फ हुने अधिकांश रूसी पाइपलाइन ग्यास आपूर्ति काटिदियो । यसको परिणामस्वरूप तेल र ग्यासको मार्ग परिवर्तन गरियो र मूल्यवृद्धि कम गर्न रणनीतिक तेल सञ्चितिबाट समन्वित रूपमा तेल बजारमा पठाइयो ।
यद्यपि युद्ध र प्रतिबन्धहरूले विश्वव्यापी बजारमा रूसको हैसियत परिवर्तन गरेनन्, बरु सबैभन्दा ठूला तेल र ग्यास उत्पादकमध्ये रहिरह्यो । रूसले मध्यस्थकर्ताहरूमार्फत भए पनि युरोपेली देशहरू लगायत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो हाइड्रोकार्बन बिक्री जारी राख्यो ।
यसको विपरीत सन् २०२६ को अमेरिका–इरान युद्धले एउटा भौतिक अवरोध सिर्जना गरेको छ । हर्मोज जलसन्धि बन्द भएका कारण तेल र ग्यास आपूर्तिको एउटा हिस्सा नै बजारबाट बाहिरिएको छ । ट्यांकर ट्राफिकमा आएको अवरोधले खाडीका उत्पादकहरूलाई उत्पादन कटौती गर्न बाध्य पारेको छ, किनभने उनीहरूसँग भण्डारण क्षमता सकिएको छ ।
यसबाहेक ग्यास र तेलका पूर्वाधारहरूमा इरानी आक्रमणले केही क्षति पुर््याएको छ र सावधानीका रूपमा धेरै सुविधाहरू बन्द गरिएका छन् । पूर्वाधारमाथिका यी आक्रमणहरूले अनिश्चितता बढाएका छन्, ‘रिस्क प्रिमियम’ वृद्धि गरेका छन् र बजारबाट केही उत्पादन क्षमता हटाएका छन् ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को मूल्यांकन अनुसार यो घटना विश्वव्यापी तेल बजारको इतिहासमा अहिलेसम्मकै ठूलो आपूर्ति अवरोध हो । हर्मोज जलसन्धिबाट हुने दैनिक २ करोड ब्यारेलको प्रवाह ठप्प प्रायः भएको छ र खाडीको उत्पादनमा कम्तीमा १ करोड ब्यारेल प्रतिदिन कटौती भएको छ ।
सन् २०२२ मा १८ करोड ब्यारेल तेल बजारमा पठाउँदा अभावको डर केही हदसम्म कम भई ऊर्जा मूल्यको धक्का व्यवस्थापन गर्न मद्दत पुगेको थियो । यद्यपि यस महिना ४० करोड ब्यारेल तेल छोड्ने आईईएको निर्णयले उस्तै प्रभाव पार्ने सम्भावना देखिँदैन, किनभने यसले समस्याको जड अर्थात् भौतिक आपूर्ति ठप्प भएको अवस्थालाई सम्बोधन गर्दैन ।
यसबाहेक सञ्चित तेल छोड्ने कार्यको प्रभावकारिता ढुवानी व्यवस्थाद्वारा सीमित छ । रणनीतिक पेट्रोलियम सञ्चितिहरू मुख्यतया अमेरिका, युरोप, जापान र दक्षिण कोरियामा अवस्थित छन्, जहाँ ती जमिनमुनिका सुविधाहरूमा भण्डारण गरिएका छन् । यस तेललाई अभावले सबैभन्दा बढी प्रभावित क्षेत्रहरू विशेषगरी एसियाली आयात बजार र केही हदसम्म युरोपसम्म पुर्याउन समय, ढुवानी क्षमता र सुरक्षित समुद्री मार्ग चाहिन्छ । वर्तमान सन्दर्भमा ट्यांकरहरूको उपलब्धता सीमित रहेकाले भण्डारणबाट तेल निकाल्दैमा अन्तिम उपभोक्तासम्म समयमै पुग्छ भन्ने ग्यारेन्टी हुँदैन ।
मार्ग परिवर्तनले पनि मद्दत गर्ने छैन । साउदी अरेबिया र इराकमा हर्मोज जलसन्धिलाई बाइपास गर्ने वैकल्पिक पाइपलाइन मार्गहरूसँग केवल दैनिक ३५–५५ लाख ब्यारेलको मात्र अतिरिक्त क्षमता छ ।
प्राकृतिक ग्यास बजारले पनि उस्तै संकटको सामना गरिरहेको छ । वार्षिक रूपमा ११२ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी) अर्थात् विश्वव्यापी एलएनजी व्यापारको २० प्रतिशत हिस्सा सामान्यतया हर्मोज जलसन्धि भएर जान्छ । यो अहिले काटिएको छ ।
यसका विकल्पहरू सीमित छन् । कतारबाट संयुक्त अरब इमिरेट्स हुँदै ओमानसम्म जाने ‘डल्फिन पाइपलाइन’ छ, जसले वर्षमा २०–२२ अर्ब घनमिटर ग्यास ओसार्छ । यो पाइपलाइनसँग थप ग्यास बोक्न सक्ने धेरै क्षमता छैन र ओमानका एलएनजी टर्मिनलहरू (जहाँ ग्यासलाई तरल बनाइन्छ) ले पनि बढेको प्रवाहलाई धान्न सक्दैनन् ।
विश्वव्यापी एलएनजी बजार तेलको तुलनामा झन् कसिलो छ र विश्वव्यापी माग पूरा गर्न कुनै अतिरिक्त उत्पादन क्षमता छैन । अधिकांश विद्यमान सुविधाहरू पहिले नै उच्च उपयोग दरमा चलिरहेका छन् र अल्पकालीन आपूर्ति लचिलोपन सीमित छ । एलएनजी उत्पादनको विस्तारका लागि समय लाग्छ र यसले तत्कालको अभावलाई पूर्ति गर्न सक्दैन ।
दीर्घकालीन रूपमा हामीलाई के पर्खिरहेको छ ?
सन् २०२२ मा, रूस–युक्रेन युद्धले देखायो कि विश्वव्यापी ऊर्जा प्रणालीसँग मार्ग परिवर्तन, प्रतिस्थापन र नीतिगत हस्तक्षेपमार्फत मूल्यवृद्धिको धक्का सोस्ने क्षमता थियो । सन् २०२६ मा इरानमाथिको अमेरिका–इजरायल युद्धले एउटा आधारभूत कमजोरीलाई उजागर गरिदिएको छ, संवेदनशील क्षेत्रहरूमा हाइड्रोकार्बन प्रवाहको भौतिक एकाग्रता, जुन क्षेत्र बन्द हुँदा क्षतिपूर्ति गर्न असम्भव हुन्छ ।
प्रतिबन्धका कारण हुने अवरोधहरू जस्तो नभई हर्मोज जलसन्धिको निरन्तर अवरोधले व्यापार मार्ग मात्र रोक्दैन, बरु उत्पादकहरूको निर्यात गर्ने क्षमतालाई नै रोकिदिन्छ । यसले बजारलाई ‘समायोजन संयन्त्र’भन्दा बाहिर धकेलेर जबरजस्ती माग घटाउन र संरचनात्मक पुनर्गठनतर्फ लैजान्छ ।
अर्को शब्दमा भन्नुपर्दा युद्ध जति लामो समयसम्म जारी रहन्छ र जलसन्धिबाट हुने स्वतन्त्र पारवहन जति लामो समयसम्म अवरुद्ध रहन्छ, तेल र ग्यासको मूल्य त्यति नै लामो समयसम्म उच्च रहनेछ । सन् २०२२ मा प्रयोग गरिएका उपकरणहरू जस्तैः विविधीकरण र मार्ग परिवर्तनले बजारलाई शान्त पार्न काम गर्ने छैनन् ।
लगातारको उच्च मूल्यले उपभोक्ता र उद्योगहरूलाई आफ्नो खपत घटाउन बाध्य पार्नेछ । पेट्रोकेमिकल्स, मल, आल्मुनियम, स्टिल र सिमेन्ट जस्ता ऊर्जा प्रधान उद्योगहरूले सबैभन्दा बढी दबाब खेप्नुपर्नेछ, किनभने कच्चा पदार्थ र इन्धनको लागत ह्वात्तै बढ्नेछ ।
यातायात क्षेत्र पनि प्रभावित हुनेछ, यद्यपि यहाँको प्रभाव फरक किसिमको हुनेछ । तेलको उच्च मूल्य उड्डयन, ढुवानी र सडक यातायातको इन्धन खर्च वृद्धिका रूपमा परिणत हुनेछ, जसले भाडा र टिकटको मूल्य बढाउनेछ ।
अल्पकालीन रूपमा यी क्षेत्रहरूमा माग खासै नघटे पनि, लामो समयसम्म उच्च मूल्य रहिरहँदा अन्ततः गतिशीलता घट्नेछ, उपभोगको ढाँचा परिवर्तन हुनेछ र दक्षताका उपायहरू तीव्र हुनेछन् । घरायसी स्तरमा उच्च ऊर्जा लागतले खर्च गर्न योग्य आम्दानी घटाउनेछ, जसले समग्र अर्थतन्त्रमा उपभोग संकुचन निम्त्याउनेछ ।
खाडी सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रहरूका लागि यो केवल बजारको धक्का मात्र नभएर भरपर्दो आपूर्तिकर्ताका रूपमा उनीहरूको भूमिकामाथिको अस्तित्वगत चुनौती हुनेछ । निर्यात अवरोध, पूर्वाधारको संवेदनशीलता र बढ्दो सुरक्षा लागतले उनीहरूको व्यापार परिमाण र विश्वसनीयता दुवैलाई कमजोर बनाउनेछ ।
बाँकी विश्वका लागि यसको अर्थ सुस्त आर्थिक वृद्धि हुनेछ । गम्भीर आर्थिक परिणामहरूबाट बच्ने एक मात्र उपाय भनेको युद्धलाई जतिसक्दो चाँडो अन्त्य गर्नु हो । (लेखक निकोलाय कतार विश्वविद्यालयको गल्फ स्टडिज सेन्टरमा रिसर्च एसोसिएट प्रोफेसर छन् ।) अलजजिराबाट भावानुवाद
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































