बेल्जियमको इयु टी–२० लिगमा नेपालका ८ खेलाडी अनुबन्ध

काठमाडौं । बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको इयु टी–२० लिगमा नेपाली क्रिकेटका ८ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्। आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुने यस प्रतियोगिताले नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाएको छ, जहाँ एउटै विदेशी लिगमा यति धेरै नेपाली खेलाडी एकसाथ सहभागी हुनेछन्।

बेल्जियम क्रिकेट संघको आयोजनामा हुने लिगमा सुरुवाती रूपमा ६ टोलीको चर्चा भए पनि अन्ततः ५ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीहरूमा जेबी ब्रुज, एन्टवर्प एंकर्स, गेन्ट ग्लाडियटर्स, एक्सेल युनाइटेड र लिज रेड लायन्स रहेका छन्।

यस लिगमा सबैभन्दा बढी नेपाली खेलाडी जेबी ब्रुजमा छन्। उक्त टोलीले दीपेन्द्र सिंह ऐरी, अनिलकुमार साह, गुलशन झा, ललित राजवंशी र इशान पाण्डेलाई अनुबन्ध गरेको छ। दीपेन्द्रलाई टोलीले ड्राफ्टअघि नै प्रि–साइन गरेको थियो भने अन्य चार खेलाडी ड्राफ्ट तथा अप्सनल राउन्डबाट टोलीमा आबद्ध भएका हुन्।

त्यस्तै, नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल गेन्ट ग्लाडियटर्समा अनुबन्ध भएका छन्। विकेटकिपर ब्याटर आसिफ शेख एन्टवर्प एंकर्समा आबद्ध हुँदा लेग स्पिनर सन्दीप लामिछाने लिज रेड लायन्समा प्रि–साइन भएका छन्।

मंगलबार बेल्जियमको राजधानी ब्रसेल्समा सम्पन्न ड्राफ्टमार्फत थप खेलाडीहरू छनोट गरिएका हुन्। यसअघि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई टोलीहरूले ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका थिए। लिगका लागि कुल २२ नेपाली खेलाडीले नाम दर्ता गराएका थिए। जसमा कुशल भुर्तेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विनोद भण्डारी, शरद भेषावकरलगायतका खेलाडी रहेका थिए। तर अन्ततः ८ जना खेलाडी मात्र विभिन्न टोलीमा अनुबन्ध हुन सफल भएका छन्।

ललित राजवंशी, आसिफ शेख र इशान पाण्डेका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लिग अनुभव हुनेछ। भने कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले यसअघि पनि विदेशी लिग खेलिसकेका छन्।
लिगमा प्रत्येक टोलीमा १८ खेलाडी रहनेछन्। जसमा बेल्जियमका कम्तीमा ४ खेलाडी अनिवार्य रहने प्रावधान छ भने अन्य खेलाडीहरू एसोसिएट राष्ट्र, पूर्ण सदस्य राष्ट्रका सक्रिय खेलाडी तथा अनुभवी ‘भेट्रान’ खेलाडीबाट छनोट गरिएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्ससँग आबद्ध ड्रीम स्पोट्र्स कम्पनीको स्वामित्वमा रहेको जेबी ब्रुजले अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू समेत अनुबन्ध गरिसकेको छ। टोलीमा न्यूजिल्यान्डका कोलिन मनरो, दक्षिण अफ्रिकाका रासी भान डर डुसेन र वेन पार्नेल जस्ता खेलाडी पनि छन्।

यस लिगका ग्लोबल ब्रान्ड एम्बेसडर इंग्ल्यान्डका पूर्व कप्तान ईएन मोर्गन रहेका छन्। उनी ड्राफ्ट कार्यक्रममा पनि सहभागी भएका थिए। नेपाली खेलाडीहरूको यस्तो उल्लेखनीय उपस्थिति केवल अवसर मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मंचका रूपमा हेरिएको छ। एउटै प्रतियोगितामा यति ठूलो संख्यामा नेपाली खेलाडीको सहभागिता नेपाली क्रिकेटका लागि ऐतिहासिक र प्रेरणादायी उपलब्धि मानिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।