काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरुको शपथ भएको हो । २०६५ सालमा बसेको संविधानसभाको पहिलो बैठक भने बानेश्वरमा बसेको थियो । त्यसबेला सांसदको संख्या ६०१ थिए । सिंहदरबारमा रहेको हल सानो हुने भएपछि संसद् बैठक बानेश्वरमा सारिएको थियो । तर भदौ २४ मा उक्त भवनमा आगजनी भएको थियो । आगजनीले ध्वस्त भवन सञ्चालनमा आउन सक्ने अवस्थामा छैन ।
त्यसैले नवनिर्मित भवनको एउटा हलमा सांसदहरुको शपथ भएको हो । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ खुवाएका हुन् । जेष्ठ सदस्यले सांसदलाई शपथ खुवाउने व्यवस्था छ । सोही अनुसार ७८ वर्षीय केसीले शपथ गराए । उनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका थिए । विगतका संसद्मा कसले शपथ खुवाएका थिए ? बहुदलीय व्यवस्था पुनर्स्थापनापछिको पहिलो निर्वाचित प्रतिनिधिसभाका सदस्यलाई ०४८ आसार ६ गते शपथ गराइएको थियो । संसद् सचिवालय (सम्मेलन कक्ष) मा ज्येष्ठ सदस्य खलील मियाँले शपथ गराएका थिए । पहिले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई शपथ खुवाए । त्यसपछि मन्त्रीहरु र विपक्षी दलका नेता मनमोहन अधिकारीले सदस्य पदको शपथ लिएका थिए । प्रतिनिधिसभाका सदस्यहरुलाई १२ समूहमा समूहीकृत गरी सदस्य पदको शपथ ग्रहण गराइएको थियो ।
शपथ खुवाएपछिको पहिलो बैठकमा मियाले हिन्दीमा ‘ठहरो’ शब्द प्रयोग गरे । त्यसले सदनमा आपत्ति–नियमापत्ति चलेको थियो । ०५१ मंसिर २८ गते दोस्रो प्रतिनिधिसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य बलबहादुर राइले शपथ खुवाए । उनी ७२ वर्षका थिए । ०५६ असार ६ गते तेस्रो प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद गिरिजाप्रसाद कोइारालाले समूहगत रुपमा संसद् भवन, सिंहदरबारमा शपथ गराए । त्यतिबेला उनी ७५ वर्षका थिए । दोस्रो जनआन्दोलन २०६२/०६३ पछि शपथको परिदृश्य फेरियो । ०६३ साल वैशाख १५ गते ५ः०० बजे पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक बस्यो । प्रतिनिधि सभाको सभामुख पदमा सुवासचन्द्र नेम्वाङ्ग निर्वाचित भए । सोही दिन प्रतिनिधिसभासमक्ष सभामुख पदको शपथ ग्रहण गरेका थिए । त्यही प्रतिनिधिसभाले ०६३ जेठ ४ मा ऐतिहासिक घोषणा गर्यो ।
र, प्रतिनिधि सभाको घोषणा ०६३ को दफा ९ (ख) बमोजिम सार्वजनिक पद धारण गर्ने पदाधिकारीहरुले प्रतिनिधिसभाबाट तोकिएको ढाँचामा तोकिएको शपथ लिनुपर्ने प्रावधान राखियो । त्यही प्रावधानअनुरुप प्रतिनिधि सभा/राष्ट्रिय सभाका सदस्यहरु ०६३ असार १४ र प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु र मन्त्रीहरुले असार २० गते शपथ प्रतिनिधिसभा सामु शपथ लिएका थिए । लोकतन्त्र बहालीपछि व्यक्तिसँग भन्दा प्रतिनिधिसभासामु शपथ खाने चलन भित्रिएको थियो । ०६३ माघ १ गते नेपालको अन्तरिम संविधान जारी भयो । ०६३ माघ १ र माघ ३ गतेको दुईवटा बैठक ज्येष्ठ सदस्य बलबहादुर राईको अध्यक्षतामा बसेको थियो । राईको अध्यक्षतामा बसेको दोस्रो बैठकबाट सुवासचन्द्र नेम्वाङ्ग सभामुख पदमा निर्विरोध निर्वाचित भए । त्यही दिन ज्येष्ठ सदस्यले नवनिर्वाचित सभामुखलाई आसन छाडेका थिए ।
०६५ पछि भने सदन अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बस्न थाल्यो । ०६५ जेठ १४ गते संविधानसभाका ज्येष्ठ सदस्य कुलबहादर गुरुङ्गले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरस्थित संविधान सभाको सभाकक्षमा आयोजना गरेको विशेष कार्यक्रममा उपस्थित सदस्यहरूबीच पहिले आफूले शपथ लिए । त्यसपछि उनले संविधान सभाका उपस्थित सदस्यहरूलाई सामूहिक रूपमा शपथ ग्रहण गराएका थिए । संसद् सचिवालयका अनुसार, सदस्यहरूले आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्थाअनुसार सभाका ३१ भाषामा शपथ लिएका थिए ।
०७० माघ ७ गते ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले दोस्रो संविधान सभाका सदस्यलाई शपथ गराएका थिए । जुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरस्थित संविधान सभा (व्यवस्थापिका–संसद्) को सभाकक्षमा आयोजित विशेष कार्यक्रममा गराइएको थियो ।०७४ फागुन २० गते जेष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपतिबाट शपथ लिएपछि प्रतिनिधिसभाका १७० सदस्यहरुलाई अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाकक्षमा सपथ गराएका थिए ।०७९ मा जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका थिए । भदौमा भएको जेनजी आन्दोलनपछि फागुन २१ मा भएको निर्वाचनबाट निर्वाचित सदस्यले सिंहदरबारमा शपथ लिएका हुन् । संसद् भवन निर्माण ६ वर्षयता चल्दै आए पनि अझै पूर्ण बन्न सकेको छैन । १७ वर्षपछि संसद् फेरि सिंहदरबारमा नै फर्किएको छ तर पूर्ण हल भने निर्माणाधीन छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































