काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिनुभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन् ।
सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाई छन् । शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थिइन् । त्यसपछि उनले कानुन विषयमा स्नातक पूरा गरेकी हुन् भने हाल काठमाडौं स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन् । राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् ।
कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनिसँग रहेको छ । त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसघै उठाउने अनुभव उनिमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छिन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषधा कानुनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उनले देखाएकी छिन् ।
उनले अन्तरराष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसघंसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सघंको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिएकी छिन् । सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ । युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्नुहुने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिन्छिन् । निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन् । राजनीतिमा प्रवेश गर्नुअघि उनि सञ्चार क्षेत्रमा पनि परिचित थिइन् ।
विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उनले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उनले समाजमा सकारात्मक प्रभाव पारेकी थिइन् । सन् २०२३ मा ‘वन यङ वर्ल्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन् ।
रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व र्गिर्छन् । नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ । समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उनि संसधा सक्रिय रहेएकी छिन् ।




































