लन्डन । मध्यपूर्वमा युद्ध सुरु भएदेखि इरानमा डिजिटल मुद्राको ठूलो प्रवाह देखिएको छ, जसलाई विज्ञहरूले इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स माथि लगाइएका प्रतिबन्धहरू छल्न तथा तीव्र महँगीबाट प्रभावित सर्वसाधारणका लागि सुरक्षित आर्थिक आश्रयका रूपमा प्रयोग गरिएको बताएका छन् ।
तथ्याङ्क विश्लेषण कम्पनी चेनालाइसिसका अनुसार फेब्रुअरी २८ (इजरायल–अमेरिका हवाई आक्रमण सुरु भएको पहिलो दिन) देखि मार्च २ सम्म इरानी विनिमय मञ्चहरूबाट एक करोड अमेरिकी डलरभन्दा बढी बराबरको डिजिटल मुद्रा बाहिरिएको थियो, जसको करिब एक तिहाइ रकम मार्च ५ सम्म विदेशी मञ्चहरूमा सारिएको थियो ।
चेनालाइसिसकी क्याटलिन मार्टिनका अनुसार केही रकम सर्वसाधारणले बचत जोगाउन निकालेको भए पनि यति ठूलो रकमले सरकारी पक्षको संलग्नता संकेत गर्छ, जुन थप प्रतिबन्ध वा साइबर आक्रमणको डरका कारण हुन सक्ने बताइएको छ । सन् २०२५ को जुनमा अघिल्लो इजरायल–इरान द्वन्द्व उत्कर्षमा पुग्दा नोबिटेक्स नामक प्रमुख डिजिटल मुद्रा मञ्चबाट इजरायलसँग सम्बन्धित ह्याकरहरूले नौ करोड अमेरिकी डलर चोरी गरेको ब्लकचेन कम्पनी टीआरएम ल्याब्सले जनाएको थियो ।
चेनालाइसिसका अनुसार यस अवधिमा प्रयोग भएका केही डिजिटल वालेटहरू सिधै इस्लामिक रिभोलुसनरी गाड्र्ससँग जोडिएका छन् । डिजिटल मुद्रा विश्लेषक एलिप्टिकका अनुसार इन्टरनेट अवरोध हुँदा पनि केही रकम बाहिरिएको देखिनुले मञ्चको वेबसाइट बन्द हुँदा पनि केही व्यक्तिहरूलाई सम्पत्तिमा पहुँच रहेको संकेत गर्छ । गत वर्ष मात्र गाड्र्ससँग सम्बन्धित वालेटहरूमा ३ अर्ब अमेरिकी डलरभन्दा बढी डिजिटल मुद्रा जम्मा भएको थियो, जुन देशको कुल डिजिटल मुद्रा प्रवाहको आधाभन्दा बढी हो र यो हिस्सा अझ बढ्दो रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण परम्परागत वित्तीय प्रणालीबाट अलगिएको इरानका लागि डिजिटल मुद्रा वैकल्पिक माध्यम बनेको छ, जसले प्रतिबन्धित तेल बिक्री गर्न तथा यमनका हुथी विद्रोहीजस्ता सहयोगी समूहलाई गोप्य रूपमा आर्थिक सहयोग गर्न सहयोग पुर्याउने अमेरिकी अधिकारीहरूको भनाइ छ । यसै वर्ष एक अन्तर्राष्ट्रिय पत्रिकाले इरानले क्षेप्यास्त्र, ड्रोन र उन्नत हतियार प्रणाली डिजिटल मुद्रामार्फत बिक्रीका लागि प्रस्ताव गरेको उल्लेख गरेको थियो । विज्ञहरूका अनुसार यस्तो प्रणालीले छायाँ बैंकिङको रूप लिएको छ, किनकि यसमार्फत रकम छिटो पठाउन सकिने, कम खर्च लाग्ने र विश्वव्यापी नियमको कमजोरीका कारण पहिचान गर्न कठिन हुने गर्छ ।
इरानी रिभोलुसनरी गाड्र्स र केन्द्रीय बैंकले मूल्य स्थिर राख्न डलरसँग जोडिएका स्थिर डिजिटल मुद्रा प्रयोग गर्ने गरेका छन् भने सर्वसाधारण ठूलो संख्यामा बिटक्वाइन तर्फ आकर्षित भएका छन्, जसलाई व्यक्तिगत वालेटमा राखेर सरकारी नियन्त्रणभन्दा बाहिर सुरक्षित गर्न सकिन्छ । हाल बिटक्वाइनको मूल्य ६८ हजार अमेरिकी डलरभन्दा माथि रहेको छ। चेनालाइसिसका अनुसार युद्धअघि इरानमा दमन गरिएका आन्दोलनका बेला पनि यस्तो प्रवृत्ति देखिएको थियो। युद्ध सुरु हुनुअघि नै करिब ५० प्रतिशत पुगेको महँगीका बीच डिजिटल मुद्राले राष्ट्रिय मुद्राको अवमूल्यनबाट जोगिन सर्वसाधारणका लागि जीवनरेखाको काम गरिरहेको विश्लेषकहरूले बताएका छन् ।




































