काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लाको राजनीतिक माहोल तातेको छ। विशेषगरी गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालको प्रवेशसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।
रास्वपाका उम्मेदवार ढकालले मंगलबार गुल्मी–१ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्तापछि रास्वपा गुल्मी जिल्ला कार्यसमितिको आयोजनामा झण्डा र ब्यानरसहित भव्य शक्ति प्रदर्शन तथा जुलुस निकालिएको थियो। जुलुसमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। तम्घास पुग्दा ढकाललाई समर्थकहरूले घेराबन्दी गर्दै उत्साहपूर्वक स्वागत गरेका थिए।
मनोनयनपछि प्रतिक्रिया दिँदै ढकालले मतदातासँग ९० प्रतिशत मतसहित जिताइदिन आग्रह गरे। उनले भने, “जित्नु मात्र उद्देश्य होइन, कसरी जितिन्छ र त्यो जितले दिने सन्देश र शक्ति के हुन्छ भन्ने कुरा महत्वपूर्ण हो। अब बहुमतसहितको रास्वपा सरकार आउने पक्का छ।” उनले पुराना अनुहारलाई समर्थन गर्ने कि सरकारमा गएर काम गर्न सक्ने, क्याबिनेट हाक्न सक्ने र अवस्था बदल्न सक्ने नेतृत्व रोज्ने भन्ने प्रश्नसमेत मतदातामाझ राखे।
गुल्मी–१ मा यसपटक प्रभावशाली नेताहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी उम्मेदवार छन्। २०७० र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका भण्डारी जिल्लामा अनुभवी र स्थापित नेताका रूपमा परिचित छन्।
नेकपा (एमाले) बाट पूर्वमन्त्री प्रदीप ज्ञवाली चुनावी मैदानमा उत्रिएका छन्। पाँचपटक प्रतिनिधिसभा निर्वाचन लडेका ज्ञवाली तीनपटक विजयी भएका छन् र दुईपटक मन्त्रीसमेत भइसकेका छन्। ज्ञवाली र भण्डारी पालैपालो निर्वाचित हुने नेताका रूपमा चिनिन्छन्।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराल पनि उम्मेदवार बनेका छन्।
गुल्मी–२ मा पनि पुराना र नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ उम्मेदवार छन् भने नेकपा (एमाले) बाट पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष गोकर्ण बिष्ट चुनावी मैदानमा छन्। बिष्टले यस क्षेत्रमा तीनपटक जित हासिल गरिसकेका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत उम्मेदवार बनेका छन् भने रास्वपाबाट नेपाल प्रहरीका पूर्वडीएसपी तथा अधिवक्ता गोविन्द पन्थी उम्मेदवार छन्। स्थानीय बासिन्दा तथा प्रशासनिक तथा कानुनी अनुभव भएका पन्थीको उम्मेदवारीले गुल्मी–२ को चुनावी प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।
गुल्मी–१ मा १ लाख २२ हजार १८६ र गुल्मी–२ मा १ लाख ७ हजार ३६३ मतदाता रहेका छन्। जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदानस्थल तोकिएका छन्।
समग्रमा, आगामी प्रतिनिधिसभा निर्वाचनमा गुल्मी जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अनुभवी, स्थापित र नयाँ सोच बोकेका नेताहरूबीच कडा र रोचक प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।




































