काठमाडौं । नेपाली चलचित्र र टेलिभिजनको पर्दामा केही अनुहारहरू यस्ता छन्, जसले संवाद , भाव अनि अभिनयको चमत्कारमार्फत नेपाली सिनेमा उद्योगमा आफ्नो मौलिक पहिचान बनाएका छन् ।
उत्तम केसी नेपाल त्यही श्रेणीका कलाकार हुन् । जो हास्य व्यङ्ग्यकारका रूपमा चिनिए पनि अनेकौं जीवन्त चरीत्रले केसीलाई सुयोग्य कलाकार बनाएको छ । उनको चार दशक लामो अभिनय यात्राभित्र केवल एउटा व्यक्तिको सफलताको कथा मात्र जोडिदैन । बरू यो समाजका देखापरेका कयौं मानवीय चरित्रलाई अभिनयकर्ममा जोडनुसँग जोडिन्छ । केसीले आफ्नो अभिनय कौशलमार्फत चरीत्र र पात्रलाई न्याय गर्ने कोशिश गरिरहे यो चालीस बर्ष । यही कोशिसले उनलाई आजको दिनसम्म स्थापित गरिरहेको छ । उनी अनेकौं मञ्चमा मन्चित नाटकदेखी र मुलधारका चर्चित फिल्महरूमा निरन्तर सक्रिय छन् ।
केसीको कला–यात्रा प्रारम्भ नै नाटकबाट भएको हो । गाउँघरमा हुने धार्मिक उत्सवदेखि , पुराना राजाहरूका जन्मोत्सवमा हुने साँस्कृतिक कार्यक्रमहरूमा नाटक गर्दै हुर्किएका उनी क्रमशः राष्ट्रिय नाचघर हुँदै विभिन्न प्रतिष्ठित रंगमञ्चसम्म पुगे । रंगमञ्चले उनलाई गहिरो अभिनय गर्ने कलाकारका रूपमा परिचय दियो ,समाज बुझ्ने संवेदनशील दृष्टि पनि दियो ।
उनले आफ्नो अभिनय जीवनको प्रारम्भमा जोइटिङ्गे , मुटुमा रोपिएको काँडा , क्या फसाद जस्ता नाटकमा अभिनय गरेर गरेका थिए । यहीक्रममा रंगकर्म सक्रिय बढयो उनको । जसकारण अभिनयलाई खार्न सके । युगिन बनाउन सके ।
उनी एक जमानामा अनेकौं नाटकहरूमा देखा परे । कर्मको रेखा, पचास रुपैयाँको तमसुक, धुँवा, रंगिएका बादल, अन्धवेग, जननी अलाप्छिन, अर्को एउटा संग्राम, मातृभूमि, नेपाली खोइ, भुमरी, समाचार, आँसु, सहिद , बलिदान लगायतका नाटकहरूमा अभिनय गर्दै उनले रंगमञ्चमा आफ्नो सशक्त उपस्थिति दर्ज गराए ।
रंग यात्राको यो लामो यात्रामा उनले करिब पाँच दर्जन नाटकमा अभिनय गरिसकेका छन् । एक वाक्यमा भन्दा केसीले नेपाली रंगमञ्चलाई जीवन्त बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् । उनी नेपाल रंगमञ्च तथा सिनेमा उद्योगका बिशिस्ट कलाकार हुन । उनले कुनै समय रेडियो नेपालमार्फत बज्ने नाटकहरूमा समेत अभिनय गरेका थिए । ती नाटकले पनि उनलाई फरक अनुभूति दिलाएका थिए ।
नाटकहरूमा देखिरहेका कलाकार उत्तम केसी चालीसको दशकको मध्यतिर नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका थिए । त्यो समयमा सिनेमा बनाउनु साहस थियो, कलाकार हुनु कठिन कर्म थियो र पर्दामा टिकिरहनुलाई धैर्यको परीक्षा मानिन्थ्यो ।
हेम लामाको निर्देशनमा बनेको चलचित्र आदर्श नारीमार्फत उनले औपचारिक रूपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन । आदर्श नारीमा उनको संवाद बोल्ने रोल थिएन । त्यसपछि मोहन निरौलाद्वारा निर्देशित चलचित्र पुकारमा अभिनय गरे । चलचित्र पुकारले उनलाई दर्शक माझ परिचित बनायो । पुकारमा केसी चियाबारीको चौकिदार बनेर देखापरेका थिए ।
चलचित्र पुकारको त्यो चौकिदार कुनै साधारण पात्र मात्र थिएन ऊ त श्रमको प्रतीक थियो, निरीह वर्गको आवाज थियो । चौकिदार रोलमार्फत पर्दामा देखिएका उत्तम केसीले अहिलेसम्म सयौं चरीत्रमा अभिनय गरिसकेका छन् । उनाई धेरै थेगो बनाउन सक्ने कलाकार भनेर पनि चिनिन्छ । उनका दर्जनौं थेगो चर्चित छन् । पूर्वी नेपालको हरियो चिया कमानमा छायांकन गरिएको चलचित्र पुकारमा केसीले खुलेर अभिनयमा प्रस्तुत भएका छन् । चियाबारीको चौकीदारको मौन पीडालाई समेटेर बनेको उत्तमको चरीत्र हजारौं दर्शकसम्म पुग्यो , त्यो समय खुब मन पराईयो ।
पहिलो अभिनयले नै उनका निम्ति एउटा बेग्लै परिचय दियो । किनकि नाटकमा पनि उनी अब्बल अभिनय गर्थे यता चलचित्र वृत्तमा स्तरीय काम गरे उनले ।
त्यही चौकिदारको रोल गर्दै सुरु भएको केसीको चलचित्र यात्रा ज्ञानेन्द्र देउजाद्वारा निर्देषित चलचित्र झिंगेदाउ २मा वृद्ध पात्रसम्म आइपुगेको छ । झिङ्गेदाउमा उत्तम केसीको शरीर बुढो छ, तर अनुभव जवान छ । जस्तो चालिस बर्ष अभिनय गरेपनि केसी हरेक चलचित्रमा नयाँपन दिन खोज्छ्न ।
उत्तम केसीले निर्वाह गरेको भुमिका मार्फत बनेका पात्रहरू हँसाउने मात्र छैन समाजका यावत बिषय बुझाउने खालका पनि छन् । चुईचुई पारेर , च्याट पारेर, टुङटुङ ढिस्स , कपाल कोरेर, बलेबले गनायो , काँं असत्ती , न्यामन्याम ट्याप , जस्ता थेगो मार्फत उत्तम केसीलाई चिन्ने लाखौं दर्शक छन् । यी चरित्रको नाम सुन्ने बित्तिकै दर्शक मुस्कुराउँछन, । एउटा युगको सिनेमा उद्योगभित्रको हास्यकारिताको प्रतिनिधित्व गर्छन यी चरीत्र अनि थेगोहरूले ।
उत्तम केसीमार्फत अभिव्यक्त पात्रहरू स्क्रिप्टको लेखिएका चरीत्र मात्र होइनन् ती त चौतारो, चिया पसल, गाउँघर र बसपार्क छेउछाउबाट टिपिएका जीवन पनि हुन् । यही वास्तविकताका कारण उत्तम केसीले प्रवाह गर्ने हास्य रस कहिल्यै कृत्रिम लाग्दैन ,यो जीवनजस्तै साँचो लाग्छ।
चलचित्रलाई उनलाई विशेष परिचय दियो भने टेलिभिजनको युगसँगै विकसित टेलिचलचित्रले नेपाली समाजको घर–घरमा चिनायो । शहरमा भन्दा धेरै गाउँमा केसीलाई चिन्नेहरू छन् । कुनै गाउमा उनलाई चुईचुई पारेर भनी बोलाइन्छ भने अर्को गाउँमा टुङ्टुङ डिस्स । यो अर्थमा उत्तम केसी बहुआयमिक कलाकार हुन ।
टेलिफिल्म तथा हास्य सिरियलहरू आजित भएर , झ्याउकिरी , प्रतिद्वन्दी , मन , भावना , भद्रगोल ,भागदौड ,चेतना, नयाँ बिहानी, थोरै भए पुगि सरी, मेरो बास्सै, तितोसत्य, जिरे खुर्सानी, जुठे, हल्का रमाइलो, जे होला होलाले उनलाई घर घरमा चिनाएकोमा खुशी देखिन्छन् केसी । यी सिरियलहरूमा उत्तम केसी केवल हास्य कलाकार होइन, समाजको ऐना पनि बनेर प्रस्तुत भएका छन् ।
उत्तम केसीको परिचयको आयाम नेपाली गीत–साहित्यमा समेत जोडिएको छ । केसी गीतकार, समाजसेवी, चलचित्र निर्माता, निर्देशक र कथाकारका रूपमा समेत परिचित छ्न । साहित्य सिर्जना ,अभिनय र समाजसेवाको माध्यमबाट समाज र सिनेमा दुबैलाई समृद्ध बनाउँन उनको योगदान रहेको छ ।
पर्दाभित्र र पर्दाबाहिर निरन्तर देखिएको उनको योगदान व्यक्तिगत सफलतामा सीमित छैन । नेपाली चलचित्र उद्योगको यात्रालाई मजबुत बनाउने काममा उनको चरीत्र , थेगो र अभिनयले इट्टा थपेको छ । यही समर्पण, अनुभव र प्रभावलाई कदर गर्दै नेपाल सरकारले २०७२ सालमा उनलाई नेपाल चलचित्र विकास बोर्डको सदस्यका रूपमा नियुक्त गर्यो, जुन उनको सिर्जनात्मक यात्राको कदरमा राज्यस्तरबाट भएको सम्मान थियो । २०७६ सालमा केसी सम्मानित राष्ट्रपतिबाट प्रबल जनसेवाश्री चतुर्थ पदकबाट बिभुषित भएका थिए ।
उनले दसकौँ नेपाली जनमनलाई हँसाए तर त्यो हाँसोभित्र बेरोजगारी, पीडितका व्यथा , राजनीतिक व्यंग्य र पारिवारिक तनावका भावहरू मिसिएर आए । यही कारण दर्शकले उत्तम केसीले निभाएको चरीत्रमा अपनत्व महशुस गरे । चलचित्रहरूसँग जोडिएका अनेकौं स्मृतिको लस्कर छ उनीसँग ।
उत्तम केसीले नेपालटारको कोलनी क्याफेमा बसेर स्मरण गरे चलचित्रहरू पुकार, चण्डाल, चमत्कार, राम बलराम, आफन्त, आफ्नोपन, धर्म, आन्दोलन, मोहनी, जन्मभूमि, ज्वाला , आमाको आशिर्वाद , बादलपारी , सिमाना , दुःख , होस्टेल , डाँडाको वरपिपल , नौ डाँडा पारी , दानवीर , दाईको ससुराली , धुम २ , तोरीलाहुरे, एकनजर , हाँसिदेउ एकफेर , अङ्गालो अङ्गालोमा , जूनतारा ,चोर , ठमेल डटकम चाहन्छु म तिम्लाइ आफ्नो बिरानो, भाग्य विधाता, कृष्ण अर्जुन, मैदान , रगत र नाइ नभन्नु ल का (छ सिरिज ) , छक्का पन्जा लगायत दुई सय भन्दा धेरै सिनेमामा जीवन्त अभिनय गर्दाका क्षणहरू । यी क्षण सम्झिदा उनलाई अतीत र वर्तमानको मेल भएझैं लाग्छ । जीवनको उल्लास यही सम्झनाहरूमा भेटछ्न उनी भन्छन्—“मेरो लागि ठूलो सानो भूमिका भन्ने नै हुँदैन। दर्शकले सम्झिने भूमिका नै मेरो ठूलो हो । युगभर टिक्ने भूमिका र चरीत्रमा अभिनय गर्ने हुटहुटी एउटा कलाकारमा सधैं हुन्छ ।”
निर्देशहरू सिनेमाका मुख्य सर्जक हुन । नेपाली सिनेमाका दिग्गज निर्देशकहरू शिव रेग्मी, विकास आचार्य, राजेन्द्र उप्रेती, चिरञ्जीवी बस्नेत, शोभित बस्नेतसँगको सहकार्यले आफूलाई अझै अभिनयमा परिपक्व बनाएको दाबी गर्छन् , उत्तम विशेषगरी शिव रेग्मीका आफन्त र हामी तीन भाइ ,विकास आचार्यका नसिब आफ्नो र नाइ नभन्नु ल का छ्वटै सिरिज ,राजेन्द्र उप्रेतीका भरोसा र मनमनै मन पराएँ जस्ता चलचित्रले उनलाई बेग्लै छाप छोडे । उनलाई पनि यी चलचित्र विशेष लाग्छन् ।
नेपाली सिनेमाको एक समय निर्माण एकदम कम मात्र बनेको थिए । त्यो २०५२ पछिका बर्षहरू हुन । माओवादी जनयुद्धकालको कठिन समयमा पनि चलचित्र निर्माण गरेर उद्योगको साख जोगाएकोमा निर्माता–निर्देशक चिरञ्जीवी बस्नेतप्रति गहिरो सम्मान छ उत्तम केसीको । “त्यो समय सिनेमा बनाउनु पनि ठूलै आर्थिक जोखिम मोल्नु थियो,” उनी भन्छन्, “तर त्यो जोखिमले नै नेपाली उद्योगलाई बचायो ।उदाहरण बनिरहे चिरञ्जीवी बस्नेत जस्ता निर्माता अनि निर्देशकहरू ।”
चलचित्र केवल कलाकार जम्मा भएर मात्र बन्दैन । यो समुह कार्य हो । नेपाली चलचित्रसँग जोडिएका गीतकार किरण खरेल, कृष्णहरि बराल, बसन्त बित्यासी थापा;संगीतकार नातिकाजी, शम्भुजीत बास्कोटा, बसन्त सापकोटा;गायक–गायिका तारादेवी, नारायण गोपाल, अरुणा लामा, रामकृष्ण ढकाल, देविका बन्दना, अन्जु पन्त—यी सबैको योगदानको उच्च कदर गर्दै उत्तम केसी भन्छन्,“यी सर्जकहरूले नेपाली चलचित्रलाई आत्मा दिएका छन्। यस्को मतलब यो होइन कि म अरुको नाम लिन्न । म सबैलाई बराबर र उल्लेख्य ठान्छु ।
सिनेमा उद्योगलाई विश्व बजारसम्म लैजान योगदान गर्ने सबै आदरणीय छन । त्योभर्खरै चलचित्रमा लाइट देखाउन आइपुगेको श्रमजीवी भाइ किन नहोस ।” आजको सिनेमा भोलिको समाजको सपनासँग जोडिन्छ । किनकि सिनेमाले समाजको चेतना पनि बनाइरहेको हुन्छ । विचार पनि निर्माण गरिरहेका छन् । आजको नेपाली चलचित्र प्रविधिमा मजबुत हुँदै गएको छ, कथामा सचेत छ र दर्शकप्रति जिम्मेवार हुँदै गएको छ । यो समयको माग पनि हो । नयाँ समय पनि बुझ्ने एक ईमानदार कलाकार हुन उत्तम केसी ।
चलचित्र क्षेत्रमा आएको हालको परिवर्तन देख्दा उत्तम केसीलाई गर्व र खुशी दुवै लाग्छ । चियाबारीको चौकिदारदेखि ‘झिंगेदाउ२’सम्म आइपुग्दा उनको कला यात्रासँग नेपाली समाजको हाँसो, आँसु र स्मृतिको साझा कथा जोडिएका छन् । सुनौलो सिनेमा उद्योगले गर्वसाथ लिन मिल्ने नाम हो उत्तम केसी नेपाल । जो झण्डै चार दशकदेखि सिनेमाको पर्दा देखिरहेको छ ।


































