मध्यपूर्वको तनावपछि ५ हजार नेपाली चाहन्छन् घर फर्किन

काठमाडौं । मध्यपूर्वमा फैलिएको इजरायल–इरान द्वन्द्वको असर नेपाली नागरिकमा समेत देखिन थालेको छ । इरान, इजरायल र अमेरिका बीच बढ्दो सैन्य तनावका क्रममा भएका आक्रमण–प्रतिआक्रमणमा परेर हालसम्म १४ जना नेपाली घाइते भएका छन् । घाइते सबै उपचारपछि पुनः आफ्नो कम्पनीमा फर्किसकेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो । सोही आक्रमणका क्रममा विभिन्न स्थानमा कार्यरत नेपालीहरू प्रभावित भएका हुन् । प्रवक्ता क्षेत्रीले हालसम्म एक नेपालीको मृत्यु भएको र १४ जना घाइते भएको पुष्टि गरे । उनका अनुसार घाइते सबैको उपचार सम्पन्न भइसकेको छ र उनीहरू पुनः काममा फर्किएका छन् । “मध्यपूर्वमा भएको आक्रमणका कारण एक नेपाली नागरिकको ज्यान गएको छ भने १४ जना घाइते भएका थिए । घाइते सबै उपचारपछि सुरक्षित रूपमा कम्पनीमा फर्किसकेको जानकारी प्राप्त भएको छ,” उनले भने ।

केही दिनअघि संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको आक्रमणका क्रममा गोरखा घर भएका एक नेपालीको मृत्यु भएको थियो । त्यही घटनामा १४ जना नेपाली घाइते भएका थिए । सबै घाइते पनि यूएईमै कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत फागुन १६ गते अमेरिका र इजरायलले अचानक इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनालाई लक्षित गर्दै आक्रमण सुरु गरेका थिए । त्यसपछि इरानले प्रतिआक्रमण गर्दै इजरायल मात्र होइन मध्यपूर्व र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाउँदै आएको छ । इरानले साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन र जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गर्दै निरन्तर आक्रमण गरिरहेको बताइएको छ । यही तनावपूर्ण अवस्थाले मध्यपूर्व र खाडी क्षेत्रमा बसोबास तथा रोजगारीमा रहेका लाखौँ नेपालीलाई त्रासमा पारेको छ । परराष्ट्र मन्त्रालयका अनुसार ती क्षेत्रमा करिब १७ लाख २९ हजारभन्दा बढी नेपाली विभिन्न पेशा र रोजगारीमा संलग्न छन् ।

तथ्यांकअनुसार साउदी अरेबियामा तीन लाख ८४ हजारभन्दा बढी नेपाली कार्यरत छन् भने संयुक्त अरब इमिरेट्समा करिब सात लाख नेपाली रहेका छन् । त्यसैगरी कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, बहराइनमा २८ हजार र ओमानमा करिब २५ हजार नेपाली रहेका छन् । त्यसैगरी इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा करिब ५००, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार, साइप्रसमा १७ हजार तथा इरानमा ६ जना नेपाली रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मध्यपूर्वमा युद्धको जोखिम बढेपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले केही दिनअघि अनलाइन दर्ता प्रणाली सञ्चालनमा ल्याएको थियो । यसको उद्देश्य ती क्षेत्रमा रहेका नेपालीहरूको विवरण संकलन गरी आवश्यक परेमा उद्धार तथा सहयोगको व्यवस्था मिलाउनु हो ।

मंगलबार साँझसम्म उक्त अनलाइन दर्ता प्रणालीमा मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका ६० हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । दर्ता गराउनेमध्ये करिब पाँच हजारले आफूहरू असुरक्षित अवस्थामा रहेको जानकारी दिएका थिए । तर प्रवक्ता क्षेत्रीका अनुसार कतिपयले सुरुवाती समयमा असुरक्षित भएको बताए पनि अहिले अवस्था केही परिवर्तन भएको जानकारी गराएका छन् । “त्यतिबेला असुरक्षित महसुस गरेका केही नेपालीले अहिले अवस्था सामान्य भएको भन्दै आफूहरू सुरक्षित रहेको बताएका छन्,” उनले भने । ती क्षेत्रमा रहेका नेपालीले असुरक्षा महसुस गरेको विवरण आएपछि मंगलबार परराष्ट्र मन्त्रालयमा आपतकालीन बैठक समेत बसेको थियो ।

परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठन गरिएको आपतकालीन प्रतिक्रिया टोलीले बैठक गर्दै नेपाली नागरिकको सुरक्षा र सम्भावित उद्धारबारे छलफल गरेको हो । बैठकले असुरक्षित भनिएका नेपालीको वास्तविक अवस्था बुझ्न सम्बन्धित देशमा रहेका नेपाली दूतावासलाई निर्देशन दिने निर्णय गरेको छ । दूतावासहरूले उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने विवरण संकलन गरी मन्त्रालयलाई जानकारी गराउनेछन् । यसका साथै समस्या परेका नेपालीको उद्धारका लागि आवश्यक परे उडान सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गर्ने निर्णय पनि भएको छ । त्यस्तै ती क्षेत्रमा रहेका नेपाली समुदायसँग सहकार्य र समन्वय बढाउने निर्णय समेत गरिएको छ ।

बैठकमा मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणका लागि नेपाल सरकारले हालसम्म गरेका प्रयास र प्रगतिबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ । यसैबीच युद्धका कारण केही देशको हवाई मार्ग प्रभावित भएको थियो । प्रवक्ता क्षेत्रीका अनुसार साउदी अरेबिया र ओमानको आकाश अहिले खुला भइसकेको छ । कतार र संयुक्त अरब इमिरेट्सबाट भने आंशिक रूपमा उडान भइरहेको छ । हाल कुवेतको हवाई मार्ग भने पूर्ण रूपमा बन्द रहेको उनले बताए । त्यसैले कुवेतमा पारवहन अवस्थामा रहेका ४८ जना नेपालीलाई सडक मार्गमार्फत नजिकको उडान सञ्चालन भएका देशमा पुर्‍याएर गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी युद्धसँग सम्बन्धित गतिविधिको फोटो वा भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका अनुसार आक्रमण वा सैन्य गतिविधिको दृश्य खिच्ने क्रममा केही विदेशी नागरिकको ज्यान गएको घटनासमेत सार्वजनिक भएका छन् । त्यसैले यस्ता गतिविधि नगर्न र स्थानीय नियम–कानुनको पूर्ण पालना गर्न मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई बारम्बार आग्रह गर्दै आएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।