संयुक्त राज्य अमेरिका फेरि एकपटक मध्यपूर्वको विनाशकारी युद्धमा तानिएको छ । अमेरिकी सेनाले अहिले इरानमाथि आक्रमण गरिरहेको छ, जुन हाम्रो राष्ट्रमाथि आइपरेको कुनै आसन्न खतराका कारण नभई इजरायली सरकारले लामो समयदेखि खोजिरहेको तेहरानसँगको टकराव र वासिङ्टनमा त्यसका लागि तयार भएको एक साझेदारका कारण सम्भव भएको हो ।
इरान युद्ध अनावश्यक, न्यायोचित नभएको, असंवैधानिक, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्ने र पूर्णतया अमेरिकी जनताको इच्छा विपरीत छ । संविधानअनुसार युद्धको घोषणा गर्ने अधिकार कंग्रेससँग छ, राष्ट्रपतिसँग होइन । त्यसैले, कंग्रेसको अनुमति बिना नै अर्को देशमा हवाई आक्रमण गर्ने र सत्ता परिवर्तनको प्रयास गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय अवैध छ । यसले ११ सेप्टेम्बरपछिको अमेरिकी विदेश नीतिको त्यो अध्यारो अध्यायको सम्झना गराउँछ, जहाँ डर र धोकाको सहारा लिएर हाम्रो राष्ट्रलाई विनाशकारी युद्धहरूमा धकेलिएको थियो, जसको मूल्य हामी आजसम्म तिरिरहेका छौँ ।
विश्वव्यापी स्तरमा हेर्दा कुनै आसन्न खतरा बिना नै एउटा सार्वभौम राष्ट्रमाथि आक्रमण गर्नु (जसलाई युद्ध अपराधी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘प्रतिबन्धात्मक प्रहार’को संज्ञा दिएका छन्) संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरूको उल्लंघन हो । इस्लामिक पवित्र महिना रमजान, जुन आध्यात्मिक र आत्मचिन्तनको समय हो, सोही समयमा भइरहेको बमबारीले हाम्रो राष्ट्रिय विवेकमा दाग लगाइसकेको छ । युद्धको पहिलो दिनमा अमेरिकी हवाई हमलाले मिनाब शहरमा करीब १६५ स्कूले बालिकाहरूको ज्यान लियो । अमेरिकी हतियारहरूले विदेशमा बालबालिकाको हत्यामा हामीलाई फेरि एकपटक साझेदार बनाएका छन् ।
आखिर केका लागि ?
हामीलाई भनिएको छ कि युद्ध ‘सुरक्षा’का लागि हो । इरानको आणविक महत्वाकांक्षा रोक्नका लागि हो भनिएको छ । तर हामीले यो पहिले पनि सुनिसकेका छौँ । ३० वर्षभन्दा बढी समयदेखि नेतन्याहुले इरान आणविक बम बनाउनबाट केही हप्ता मात्र टाढा रहेको दाबी गर्दै आएका छन् । ती हप्ताहरू दशकौँमा परिणत भए । डरलाई नै नीतिको रूपमा बारम्बार प्रयोग गरिएको छ ।
हामी अर्को कुरामा पनि इमान्दार बनौँः इरान, उसका आपत्तिजनक र क्षेत्रीय महत्वाकांक्षाहरूका बाबजुद संयुक्त राज्य अमेरिकाका लागि कुनै आसन्न सैन्य खतरा होइन, अमेरिकी जनताले बुझेका छन् । विभिन्न सर्वेक्षणहरूले देखाउँछन् कि अमेरिकीहरू मध्यपूर्वका अनन्त युद्धहरूबाट थकित भइसकेका छन् । हाम्रा समुदायहरू स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार र रोजगारी सिर्जनामा लगानी चाहन्छन्, अर्को खर्बौँ डलरको द्वन्द्व होइन, जसले हाम्रा सैनिकहरूलाई जोखिममा पार्छ र अर्को क्षेत्रलाई अस्थिर बनाउँछ ।
त्यसो भए ‘अमेरिका फस्ट’ (अमेरिका पहिलो) को नारा लिएर चुनाव लडेका अमेरिकी राष्ट्रपति किन ‘इजरायल फस्ट’ (इजरायल पहिलो) झैँ शासन गरिरहेका छन् ? विदेशी सरकारको लामो समयदेखिको महत्वाकांक्षा पूरा गर्न अमेरिकी सेना, अमेरिकी करदाताको पैसा र अमेरिकी विश्वसनीयतालाई किन जोखिममा पारिएको छ ?
अमेरिका–इजरायल स्वस्थ गठबन्धन होइन । यो एउटा विषाक्त सम्बन्ध हो, जसमा संयुक्त राज्य अमेरिकाले पैसा, हतियार, कूटनीतिक संरक्षण र बिना शर्त राजनीतिक समर्थन प्रदान गर्छ, जबकि बदलामा हामीलाई नै असुरक्षित बनाउने युद्धहरूमा तानिन्छ ।
हामीलाई भनिएको छ कि यो युद्ध मानव अधिकार र महिला अधिकारका लागि हो । तर बमले मानिसहरूलाई स्वतन्त्र बनाउँदैन । हवाई हमलाले लोकतन्त्रलाई अगाडि बढाउँदैन । स्कूले बालिकाहरूको हत्या गर्नु ‘नारीवादी’ विदेश नीति होइन ।
यदि मानव अधिकार साँच्चै नै चिन्ताको विषय हुन्थ्यो भने हाम्रो सरकारले भू–राजनीतिक सुविधाका आधारमा त्यसलाई छनोटपूर्ण रूपमा लागू गर्ने थिएन । हाम्रै सहयोगी राष्ट्र इजरायलले गरेको नरसंहारमा २ लाखभन्दा बढी प्यालेस्टिनीहरू मारिएका वा घाइते भएका छन्, जसमा अधिकांश सर्वसाधारण छन् ।
बालबालिकाको सामूहिक हत्याका लागि कोष उपलब्ध नगराउनु नै हाम्रो मानवीय चिन्ताको वास्तविक सुरुवात हुने थियो र अमेरिकीहरूले यस्ता प्रश्न सोध्नु सही छ । यस्तो समयमा जब स्वदेशमा पारदर्शिता र जवाफदेहिताको माग भइरहेको छ, विशेषगरी जेफ्री एपस्टाइनका फाइलहरू सार्वजनिक गर्ने विषयमा, हामीलाई किन अर्को विदेशी युद्धमा धकेलिएको छ ? अमेरिकी जनता इमानदारी चाहन्छन्, ध्यान मोड्ने काम होइन ।
इरान युद्धले स्थिरता ल्याउने छैन । यसले क्षेत्रलाई उत्तेजित पार्नेछ, सर्वसाधारणलाई हानी पुर्याउनेछ, अमेरिकी सैनिकहरूलाई जोखिममा पार्नेछ र सम्भावित रूपमा विश्वव्यापी परिणामहरू निम्त्याउने ठूलो द्वन्द्व सुरु गर्नेछ । यसले अमेरिकी जनताको हित नगर्ने उद्देश्यका लागि अमेरिकी जीवन र सुरक्षालाई जोखिममा पारेको छ ।
कंग्रेससँग आफ्नो संवैधानिक जिम्मेवारी निभाउने र बिना अनुमति भइरहेको सैन्य तनावलाई रोक्ने अवसर थियो, तर प्रतिनिधि थोमस मासी र रो खन्नाद्वारा प्रायोजित युद्ध शक्ति प्रस्ताव पारित गर्न कंग्रेस असफल भयो । यो मतदानले इजरायली लबी समूह एआईपीएसी र यसको पैसाको बलियो प्रभावका साथै शक्तिशाली लबी समूह र अनियन्त्रित कार्यकारी शक्तिविरुद्ध खडा हुन केही विधायकहरूको चिन्ताजनक अनिच्छालाई झल्काउँछ ।
कंग्रेस, विशेषगरी अनन्त युद्धको विरोध गर्ने दाबी गर्ने सदस्यहरूले आफ्नो अधिकार पुनः स्थापित गर्न र थप तनाव रोक्न हरेक उपलब्ध बाटो अपनाउन जारी राख्नुपर्छ; निर्वाचित प्रतिनिधिहरू मौन रहनका लागि यो निकै ठूलो जोखिमको विषय हो । अमेरिकी जनता अमेरिका–इरान युद्ध चाहँदैनन् । हाम्रो सरकारले जनताको सेवा गर्ने समय आएको छ, न कि सत्तामा टाँसिरहन र जवाफदेहिताबाट उम्किन हतास भएका कुनै विदेशी नेताको एजेन्डाको ।
(लेखक हुसाम अमेरिकाको सबैभन्दा ठूलो मुस्लिम नागरिक अधिकार र वकालत संस्था केयरको क्यालिफोर्निया शाखाका सीईओ हुन् ।) अलजजिराबाट भावानुवाद
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



































