पानीमा जलवायु परिवर्तनको प्रभावले चौतर्फी असर

सन् २०३० सम्म सबैलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य हासिल गर्ने दिशामा विश्व सही मार्गमा छैन

विश्वको करीब ७३%–७५% (सन् २०२२) जनसंख्यामा (झण्डै ६ अर्ब मानिस)ले ‘सुरक्षित रूपमा व्यवस्थित’ खानेपानी प्रयोग गरिरहेका थिए, जसको अर्थ घरमै उपलब्ध, आवश्यक परेको बेला पाइने र प्रदूषणमुक्त पानी हो । यस प्रगतिका बाबजुद पनि अझै ४ जनामध्ये १ जना (करीब २.२ अर्ब मानिस) सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित छन्, विशेषगरी ग्रामीण तथा कमजोर अवस्थाका क्षेत्रहरूमा ठूलो असमानता देखिन्छ ।

दिगो विकास लक्ष्य सन् २०३० सम्म सबैलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य हासिल गर्ने दिशामा विश्व अहिले सही मार्गमा छैन । उक्त लक्ष्य पूरा गर्न खानेपानी क्षेत्रमा लगानी ६ गुणाले वृद्धि गर्न आवश्यक छ । सन् २०१५ देखि २०२४ बिच सुरक्षित रूपमा व्यवस्थित खानेपानीको पहुँच ६८% बाट बढेर ७४% पुगेको छ ।

सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न जलवायु सहनशील खानेपानी तथा जल पूर्वाधार अत्यावश्यक छ । वार्षिक रूपमा सयौँ अर्ब डलर बराबरको आर्थिक क्षति रोक्न पानी क्षेत्रमा अनुकूलनका लागि विश्वव्यापी लगानी उल्लेखनीय रूपमा बढाउन आवश्यक छ । जलवायु परिवर्तनको प्रभाव मानिसहरूमा मुख्य रूपमा पानीमार्फत पर्छ – खडेरी, बाढी, हिमनदी पग्लिनु र पानी दूषित हुनुजस्ता माध्यमबाट । जीवन र अर्थतन्त्र जोगाउन जल व्यवस्थापन प्रणाली सुदृढ बनाउने, जलाधार क्षेत्र संरक्षण गर्ने र जलवायु सहनशील पूर्वाधारमा लगानी गर्ने अत्यन्त आवश्यक छ ।

जलवायु परिवर्तनले जलचक्रलाई तीव्र बनाउँदै खडेरी र बाढी दुवैको जोखिम बढाइरहेको छ । तापक्रम १ डिग्रीले बढ्दा वायुमण्डलले करीब ७ प्रतिशत बढी आद्र्रता लिन्छ । परिणामस्वरूप धेरै क्षेत्रमा अत्यधिक वर्षाका घटनाहरूको आवृत्ति र तीव्रता बढेको छ । हाल विश्वको करीब ४ अर्ब मानिसले वर्षमा कम्तीमा १ महिना गम्भीर पानी अभावको सामना गर्छन् । सन् २०५० सम्म करीब ५.७ अर्ब मानिस पानी अभाव भएका क्षेत्रमा बस्न बाध्य हुन सक्छन् । जलवायु परिवर्तनका कारण धेरै सुक्खा क्षेत्रहरूमा नवीकरणीय ऊर्जामा १०–३०% सम्म घट्ने अनुमान गरिएको छ । सन् २००० पछि बाढीसँग सम्बन्धित विपद् घटनाहरू अघिल्लो २ दशकको तुलनामा धेरै बढेका छन् । झण्डै १.८ अर्ब मानिस उल्लेखनीय बाढी जोखिम भएका क्षेत्रमा बसोबास गर्छन् । समुद्री सतह बढ्दै जाँदा साना द्वीप र तटीय क्षेत्रका सुरक्षित पानीका स्रोतहरू जोखिममा परिरहेका छन् । तापक्रम वृद्धिका कारण विश्वभरका हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन् ।

हिन्दूकुशजस्ता पर्वतीय क्षेत्रहरू जसले १.६ अर्बभन्दा बढी मानिसलाई पानी उपलब्ध गराइरहेको छ, हिउँ र बरफको मात्रा घटिरहेको छ । यदि विश्वव्यापी तापक्रम २ डिग्री सेन्टिग्रेडसम्म पुग्यो भने हिमालय क्षेत्रका करीब एकतिहाइ हिमनदीहरू हराउन सक्छन् । पानीसँग सम्बन्धित विपद् घटनाहरूले विश्वका ७०% भन्दा बढी प्राकृतिक विपद् ओगटेका छन् । खडेरीले कृषि क्षेत्रलाई प्रभावित गर्दै खाद्य सुरक्षामा खतरा बढाउँछ र कुपोषण वृद्धि गर्छ ।

नेपालमा ९०% भन्दा बढी जनसंख्यामा आधारभूत खानेपानीमा पहुँच भए पनि करीब १९% मानिसले मात्र प्रदूषणमुक्त र सुरक्षित रूपमा व्यवस्थित खानेपानी प्रयोग गरिरहेका छन् । उच्च ई–कोलाई प्रदूषणले पानीका स्रोतहरू प्रभावित भएका छन्, विशेषगरी गरिब समुदायमा, जहाँका प्रायः घरधुरीको पानी असुरक्षित हुनसक्छ ।

विश्वमा करीब २.२ अर्ब मानिस अझै पनि सुरक्षित रूपमा व्यवस्थित खानेपानीबाट वञ्चित छन् । विश्वभर झण्डै ४ जनामध्ये १ जनाको घरमै सुरक्षित पानीको पहुँच छैन । ग्रामीण, कमजोर र न्यून आय भएका समुदायहरूमा असमानता सबैभन्दा बढी देखिन्छ । जब प्रत्येक घरमा पानी बग्छ, अवसर पनि सँगै बग्छ । नेपालमा करीब १० प्रतिशत जनसंख्या खानेपानीबाट वञ्चित छन् भने करीब २० प्रतिशत जनसंख्याको मात्र सुरक्षित खानेपानीमा पहुँच छ । विश्वभर महिला र बालिकाहरूले दैनिक करीब २० करोड घण्टा पानी संकलनमा खर्च गर्छन् । घरमै पानीको सुविधा नभएका १० मध्ये ८ घरधुरीमा पानी ल्याउने मुख्य जिम्मेवारी महिला र बालिकाहरूको भएको परिपे्रक्ष्यमा विद्यालयमा पानी र सरसफाइको अभावले बालिकाहरूको शिक्षामा असर पार्छ । जब पानी नजिकै हुन्छ, बालिकाहरू विद्यालयमा रहन्छन् । जब बालिकाहरू विद्यालयमा रहन्छन्, समानता बढ्छ ।

नेपालमा पानी (खानेपानी र सरसफाइ) र लैङ्गिक समानता आपसमा गहिरो रूपमा जोडिएका विषय हुन् । विशेषगरी ग्रामीण क्षेत्रमा पानीको पहुँच, व्यवस्थापन र निर्णय प्रक्रियामा महिलाको भूमिका महत्वपूर्ण भए पनि चुनौतीहरू अझै छन् । पानी संकलनमा महिलाको भूमिका धेरै ग्रामीण परिवारमा पानी ल्याउने जिम्मेवारी मुख्यतः महिला र किशोरीहरूमा हुन्छ, टाढाबाट पानी बोक्नुपर्ने अवस्थाले समय, स्वास्थ्य र सुरक्षामा असर गर्छ, यसले विद्यालय जाने किशोरीहरूको पढाइमा पनि बाधा पुर्याउँछ । सुरक्षित खानेपानी र सरसफाइको अभावले महिलामा बढी स्वास्थ्य जोखिम (जस्तैः पानीजन्य रोग) बढाउँछ । महिनावारी सरसफाइका लागि विद्यालय र सार्वजनिक स्थानमा पर्याप्त पानी र शौचालयको अभावले किशोरीहरूको विद्यालय उपस्थितिमा असर गर्छ ।

स्थानीय खानेपानी उपभोक्ता समितिहरूमा महिलाको सहभागिता बढ्दै गएको छ । नेपालको संविधान र स्थानीय तहका नीतिहरूले महिला प्रतिनिधित्वलाई प्रोत्साहन गर्छन् । तर व्यवहारमा नेतृत्व तहमा अझै पुरुषको वर्चस्व देखिन्छ । नीतिगत प्रयासहरूः नेपालले पानी र सरसफाइ क्षेत्रमा लैङ्गिक समानता प्रवद्र्धन गर्न विभिन्न नीति र कार्यक्रम सञ्चालन गरेको छ, ग्रामीण क्षेत्रमा सुरक्षित पानी र महिलाको सशक्तीकरणमा काम गरिरहेको छ । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ नीति र कार्यनीति कार्यान्वयन साथै यूएन युमन लगायतले लैङ्गिक समानता र महिला अधिकारका क्षेत्रमा सहयोग गरिरहेका छन् ।

असुरक्षित पानी, सरसफाइ र स्वच्छता अभावका कारण हरेक वर्ष सयौँ हजारको मृत्यु हुन्छ । पानीजन्य रोगहरूले विशेषगरी ५ वर्षमुनिका बालबालिका र गरीब समुदायहरूलाई असमान रूपमा प्रभावित गर्छन् । अर्कोतर्फ जलवायु परिवर्तनका कारण खडेरी र बाढी बढ्दै जाँदा पानी दूषित हुने समस्या झन् गम्भीर बन्दै गएको छ । नेपालमा करीब ९०% भन्दा बढी जनसंख्या आधारभूत खानेपानी सेवामा पहुँच राख्छन्, तर सुरक्षित पानी सबै ठाउँमा उपलब्ध छैन । करीब ७५–८०% घरधुरीमा आधारभूत सरसफाइ सुविधा पुगेको छ, तर ग्रामीण–शहरी असमानता अझै छ । पानीजन्य रोग (जस्तै झाडापखाला) बालबालिकामा प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो । ग्रामीण क्षेत्रमा महिलाले दैनिक १–३ घण्टा पानी संकलनमा खर्च गर्न सक्छन् । विद्यालयमा सुरक्षित पानी र शौचालयको अभावले विशेषगरी किशोरीहरूको उपस्थितिमा असर पार्छ । जस्तै, असमानताः दुर्गम क्षेत्रमा सुरक्षित खानेपानीको कमी, गरिब र विपन्न समुदाय पाइप प्रणालीभन्दा टाढा बसोबास, लैङ्गिक पक्षः पानी सङ्कलन र सरसफाइको जिम्मेवारी बढी महिलामा, तसर्थ सुरक्षित खानेपानी केवल पूर्वाधार होइन, यो जीवनरक्षक सुरक्षा हो ।

विश्वव्यापी रूपमा कुल सुरक्षित पानीको करीब ७०% कृषि क्षेत्रमा प्रयोग हुन्छ । पानी अभावले केही क्षेत्रमा आर्थिक वृद्धिदरलाई कुल गार्हस्थ उत्पादनको ६ प्रतिशतसम्म घटाउन सक्छ । पानी र सरसफाइमा लगानी गरिएको प्रत्येक १ डलरले बहुगुणा आर्थिक प्रतिफल दिनसक्छ । नेपालको करीब ६५% जनसंख्या कृषि क्षेत्रमा निर्भर छ, सिँचाइ पहुँचले उत्पादन र आम्दानी सिधै बढाउँछ । कुल खेतीयोग्य जमिनमध्ये करीब ५०% जति जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । सुरक्षित खानेपानी पहुँच करीब ९०% भन्दा बढी भए पनि सुरक्षित गरी व्यवस्थित सेवा सबैमा उपलब्ध छैन । पानीको अभावका कारण ग्रामीण महिलाले दैनिक १–३ घण्टा समय पानी संकलनमा खर्च गर्न सक्छन् । यो समय आयआर्जनमा प्रयोग हुन सक्थ्यो । सिँचाइ पहुँच भएका किसानको उत्पादन बर्सेनि वर्षामा मात्र निर्भर किसानभन्दा बढी हुन्छ । जलविद्युत्, खानेपानी आयोजना र सिँचाइ परियोजनाले स्थानीय रोजगारी बढाउँछ । नजिकै सुरक्षित पानी उपलब्ध हुँदा महिलाको समय बचतबाट साना व्यवसाय, कृषि वा सीपमूलक काममा संलग्न हुन सक्छन् । पानीजन्य रोग कम हुँदा उपचार खर्च घट्छ र काम गर्ने दिन बढ्छ । तसर्थ पानीले कृषि, व्यवसाय, ऊर्जा उत्पादन र जीविकोपार्जनलाई सशक्त बनाउँछ ।

पानी, जलवायु र जोखिम

जलवायु परिवर्तनको प्रभाव मानिसहरूमा मुख्य रूपमा पानीमार्फत देखिन्छः बाढी, खडेरी र हिमनदी पग्लिने प्रक्रियामार्फत हिन्दूकुश हिमालयजस्ता पर्वतीय प्रणालीहरूले १.६ अर्बभन्दा बढी मानिसलाई पानी उपलब्ध गराउँछन्, तर त्यहाँका हिमनदीहरू तीव्र रूपमा घटिरहेका छन् । सबैभन्दा गरीब समुदायहरू पानी सम्बन्धी विपद् घटनाबाट सबैभन्दा पहिले र सबैभन्दा बढी प्रभावित हुन्छन् । नेपाल विश्वकै उच्च जलवायु जोखिम भएका देशमध्ये पर्छ, औसत तापक्रम वृद्धिः करीब ०.०५–०.०६ डिग्री सेन्टिग्रेड प्रतिवर्ष (पहाडी क्षेत्रमा दर अझ बढी), करीब ८०% वार्षिक वर्षा मनसुन (जुन–सेप्टेम्बर) मा केन्द्रित– बाढी र पहिरो जोखिम उच्च, देशभर ६ हजारभन्दा बढी नदी प्रणाली छन्‌; तर अत्यधिक वर्षाले तराईमा वार्षिक बाढी जोखिम २ हजारभन्दा बढी हिमतालमध्ये करीब २० बढी हिमताल उच्च जोखिम (हिमताल विस्फोटको जोखिम)मा मानिन्छन्, प्रत्येक वर्ष मनसुनका कारण बाढी/पहिरोबाट सयौँको प्रभावित र ठूलो आर्थिक क्षति भइरहेको छ । मुख्य जोखिमहरूः बाढी– तराई र नदी तटीय क्षेत्र बढी प्रभावित, पहिरो– पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षापछि हिमताल फुट्ने जोखिम– हिमनदी पग्लिँदै जाँदा जोखिम बढ्दो, खडेरी– वर्षा अनियमित हुँदा कृषि उत्पादन घट्ने । प्रभावः कृषि उत्पादनमा अस्थिरता– खाद्य सुरक्षा जोखिम, खानेपानी स्रोत सुक्ने वा प्रदूषित हुने, पूर्वाधार (सडक, पुल, जलविद्युत्‌)मा क्षति, गरीब र ग्रामीण समुदाय सबैभन्दा बढी प्रभावित, जलवायु न्याय भनेको पानी न्याय पनि हो ।

तसर्थ सन् २०३० सम्म सबैलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य हासिल गर्ने दिशामा विश्व सही मार्गमा छैन । दिगो विकास लक्ष्यहरू पूरा गर्न खानेपानी क्षेत्रमा लगानी ६ गुणाले बढाउन आवश्यक छ । यस परिप्रेक्ष्यमा समुदाय–आधारित खानेपानी व्यवस्थापनले असमानता घटाउन उल्लेखनीय परिणाम देखाएको छ ।

(लेखक खानेपानी सरसफाइ र जलवायु परिवर्तन विज्ञ तथा बागमती प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।