काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो निवासमा ठूलो रकम फेला परेको भन्दै सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू एआई प्रयोग गरेर बनाइएको हुनसक्ने बताएका छन्।
सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष बयान दिँदै देउवाले उक्त विषयलाई आफूविरुद्धको नियोजित षड्यन्त्र भएको जिकिर गरेका छन् । जेनजी आन्दोलनका क्रममा भएको दमन तथा हिंसात्मक घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगलाई दिएको बयानमा देउवाले सामाजिक सञ्जालमा प्रचारित सामग्रीप्रति आपत्ति जनाउँदै ती सामग्रीको सत्यता शंकास्पद रहेको बताएका हुन्। आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अझै सार्वजनिक नभए पनि त्यसको फोटोकपी जनआस्थाको सौजन्यमा अनलाइनखबरले प्राप्त गरेको जनाएको छ।
आयोगलाई दिएको बयानमा देउवाले २०८२ साल भदौ २३ गते आफू बूढानीलकण्ठस्थित निजी निवासमा रहेको र सोही दिन बेलुका बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उल्लेख गरेका छन्। उनले तत्कालीन प्रधानमन्त्रीले आफ्नो आग्रहपछि उक्त प्रतिबन्ध हटाएको दाबी गरेका छन्। तर, आफू कुनै औपचारिक बैठकमा सहभागी नभएको पनि उनले स्पष्ट पारेका छन्। भदौ २४ गतेको घटनाबारे देउवाले आयोगलाई दिएको बयानमा प्रदर्शनकारीहरू आफ्नो निजी निवासमा भेला भई नाराबाजी गरेको र सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको बताएका छन्। सो क्रममा आफूहरू माथि हातपातसमेत भएको र केही जेनजी युवाहरूले आफूहरूलाई जोगाएको उनको भनाइ छ। उनले राति करिब १० बजेतिर आफूहरू सुरक्षित स्थानमा पुग्न सफल भएको बताएका छन्।
देउवाले आफ्नो निवासमा भेटिएको भनिएको रकमबारे पनि स्पष्टीकरण दिएका छन्। नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा तयार पारेको मुचुल्कामा केही रकम भेटिएको उल्लेख भए पनि त्यो ठूलो परिमाणको नभएको उनले बताएका छन्। सामाजिक सञ्जालमा फैलिएको विवरण भने ‘एआईबाट बनेको हुनसक्ने’ भन्दै उनले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। सो विषयमा आफूले कुनै प्रहरी कार्यालयमा उजुरीसमेत नगरेको उनले बताएका छन्। आफ्नो निवासमा भएको तोडफोड, आगजनी र लुटपाटसम्बन्धी विवरण नेपाल प्रहरीले संकलन गरेको उल्लेख गर्दै देउवाले त्यसपछि के कस्तो कारबाही भयो भन्नेबारे आफू अनभिज्ञ रहेको बताएका छन्। उनले २३ र २४ गतेका घटनामा आफूले कुनै राजनीतिक हस्तक्षेप वा पक्षपात नगरेको जिकिर गरेका छन्। प्रहरीले परिस्थितिको सही आँकलन गर्न नसकेको भन्ने विषयमा राजनीतिक हस्तक्षेप भएको दाबीप्रति आफू सहमत नरहेको पनि उनले बताएका छन्।
देउवाले आफ्नो बयानमा लोकतान्त्रिक व्यवस्थामा ट्रेड युनियन अधिकारको महत्वसमेत औंल्याएका छन्। श्रमिक तथा पेशागत हकहितका लागि ट्रेड युनियन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उनले विद्यार्थी संगठनहरू पनि बृहत्तर सामाजिक हितका लागि काम गर्नुपर्ने बताएका छन्। साथै, गैर–राजनीतिक संस्था तथा संयन्त्रमा अनावश्यक राजनीतिक हस्तक्षेप हुनु नहुनेमा उनले जोड दिएका छन्। घटनाका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनको भनाइ छ। देशमा देखिएको युवाहरूको असन्तुष्टि सम्बोधन गर्न नीतिगत, कानूनी तथा संस्थागत सुधार आवश्यक रहेको पनि देउवाले आयोगसमक्ष बताएका छन्। जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेका बेला देउवाको यो बयान सार्वजनिक भएसँगै घटनाबारे नयाँ राजनीतिक तथा सार्वजनिक बहस सुरु हुने संकेत देखिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































