Test Ad

‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् !’

काठमाडौं । २०८२ साल भदौ २४—यो मितिलाई भाटभटेनी सुपरमार्केटका लागि मात्र होइन, हजारौँ नेपाली उद्यमीका लागि पनि सबैभन्दा अन्धकारमय दिनका रूपमा सम्झिन्छन् ।

नेपालले धेरै राजनीतिक आन्दोलन, युद्ध, भूकम्प, महामारी र नाकाबन्दी झेलेको छ, तर राज्य, निजी क्षेत्र र व्यक्तिको सम्पत्तिमाथि एउटै दिन भएको यस्तो व्यापक र योजनाबद्ध आक्रमण कहिल्यै भएको थिएन । त्यही दिन सबैभन्दा ठूलो मार भाटभटेनीले खेप्यो ।

चार दशकभन्दा बढीको मिहिनेतमा उभ्याइएको संस्था क्षणभरमै ध्वस्त पारियो । काठमाडौं उपत्यकादेखि पोखरा, चितवन, हेटौंडा, धरान, विराटनगरदेखि बिर्तामोडसम्मका २७ शाखामध्ये १२ वटा पूर्णरूपमा जलेर खरानी बने। स्केलेटर, लिफ्ट, फ्रिजदेखि लिएर करोडौँका सामग्री राखिएका विशाल भवनहरू सेकन्डमै ढल्यो, भत्किए । भित्रबाट एक सानो सामान निकाल्ने अवसरसमेत कसैलाई मिलेन ।

नौ वटा शाखामा भीडले तोडफोड, लुटपाट र अराजकता मच्चायो। सबै जोड्दा भाटभटेनीलाई एकैदिनमा परेको आर्थिक नोक्सानी १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढी पुग्यो । ती दिनहरू भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङका लागि अझै झन् पीडादायी छन् । तर आँसु र आक्रोशलाई शक्ति बनाउँदै उनले विनाशको बाँकी खरानीबाटै नयाँ सुरुवात गर्ने निर्णय गरे । “समाजले दिएको हो, समाजलाई नै फर्काउँछु,” भन्ने आफ्नो पहिलेदेखिकै धारणा दोहोर्‍याउँदै उनी भन्छन्‌–“राज्यलाई आवश्यक परे, बाँकी सम्पत्ति पनि दिन तयार छु ।”

आगो लागेको केही दिनमै गुरुङ काममा फर्किए। सबैभन्दा पहिले बालुवाटारस्थित मुख्य ‘वेयरहाउस’ पुनर्निर्माणमा लागे । तीन महिनामै जलेको संरचना भव्यरूपमै उठायो । “सबैभन्दा पहिले मुटुलाई जोगाउनु रहेछ,” उनी भन्छन् । कामदारहरू त्यतिबेला शारीरिक मात्र होइन, मनोवैज्ञानिक पीडा पनि भोगिरहेका थिए। गुरुङले उनीहरूलाई बोनस, प्रोत्साहन, सम्मान सबै प्रदान गरे। १२ शाखा ध्वस्त, ९ शाखा क्षतिग्रस्त—तर भाटभटेनीले एकजना कर्मचारीलाई पनि बिदा दिएन। “म उनीहरूलाई जागिरे नभई परिवार सम्झेर हेर्छु । बिसौँ वर्षदेखि सँगै छन्। कसरी ‘सकिन निस्कनुस्‌’ भन्न सक्छु ?” उनी भन्छन्। तलब, बोनस, दसैं भत्ता एक रुपैयाँ पनि काटिएन ।

गुरुङका अनुसार विनाशलाई जित्ने उपाय एउटै छ—छिटो उठ्ने। “काममा लागे पीडा कम हुन्छ,” उनी भन्छन्। त्यसैले भाटभटेनीका सबै शाखा पुरानै गतिमा फर्काउन उनलाई र उनकी टिमलाई दिनरात छुटेको छैन । फागुन २४ मा कोटेश्वर शाखा पुनः सञ्चालनमा आउनेछ । फागुन २८ मा महाराजगन्ज शाखा पनि खुल्ने तयारीमा छ । अन्य शाखाहरू पनि क्रमशः सेवा पुनः सुरु गर्दै जाने योजना छ । गुरुङका नजरमा भाटभटेनीमाथि भएको आक्रमण केवल एक उद्यमीमाथिको प्रहार थिएन । यो देशको अर्थतन्त्र, उद्योग, रोजगार र निजी क्षेत्रमाथिकै आक्रमण थियो । “भाटभटेनी देशकै पार्टनर हो । यसमाथि भएको विनाश राष्ट्रकै क्षतिभन्दा कम होइन,” उनी भन्छन् ।

त्यस घटनापछि सामाजिक सञ्जाल र केही मिडियामा फैलाइएका अफवाह—भाटभटेनी माओवादीको पैसा हो, पोखरा शाखा बन्द गराउने षडयन्त्र हो, यहाँसम्म कि ‘मीनबहादुर गुरुङ आत्महत्या’ जस्ता हल्लाले उनलाई झनै दुःखी बनायो । “तथ्य नबुझी आरोप लगाइने—यही सबैभन्दा पीडादायी हो,” उनी भन्छन् । बुधबार गुरुङले नयाँ भवनमा राखेका केही तस्बिरहरू भदौ २४ का जलेका सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र आफ्नै सुपरमार्केट—हेरिरहन्छन्। यी तस्बिरहरू विनाशका सम्झना मात्र होइन, चेतावनी पनि हुन् ।

त्यही तस्बिर हेर्दै उनी बोल्छन्, “हे भगवान, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्।” विनाशले दायाँ–बायाँ सबै थिचे पनि गुरुङ र उनकी टिम फेरि उठ्ने बाटोमै छन्—खरानीबाट नयाँ सपना निर्माण गर्दै ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।