जेलमै भेट्न आएका सुदनसँग रविका गुनासै गुनासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि थोपारिएका मुद्दाहरू यति धेरै र जटिल बनाइएका छन् कि २०० वर्षसम्म लड्दा पनि नसकिने अवस्था सिर्जना गरिएको आरोप लगाएका छन् ।

‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङसँग बिहीबार नख्खु कारागारमा भएको भेटमा उनले यसबारे गुनासो व्यक्त गरेको सुधनले जानकारी दिए । हाल लामिछाने थुप्रै मुद्दाको कारण नख्खु कारागारमा रहेका छन् । भेटपछि सुधनले बताएअनुसार रवि लामिछाने छानबिनको विरोधमा नभई पारदर्शी र निष्पक्ष अनुसन्धानको पक्षमा छन् ।

“बरु अर्को आयोग बनाएर भए पनि ममाथि अझै छानबिन गरियोस्, मलाई कुनै समस्या छैन। तर अहिले जति मुद्दा लगाइएको छ, ती सबैको छिनोफानो २०० वर्ष लागे पनि सकिँदैन भन्ने उहाँको भनाइ छ,” सुधनले भने। उनका अनुसार रविले वर्तमान कानुनी र राजनीतिक प्रक्रियालाई ‘अन्यायपूर्ण’ र ‘असामान्य’ शैलीमा अघि बढाइरहेको बताएका छन् ।

सुधनले रविमाथि भइरहेको व्यवहारले आफूलाई पनि पीडा लागेको बताए । उनका अनुसार देशका लागि केही राम्रो गर्ने उद्देश्यले अगाडि बढेका व्यक्तिमाथि चरित्रहत्या, बदनाम अभियान र दमनकारी रणनीति चलिरहेको छ । “रवि जस्ता मान्छे देशका लागि राम्रो गर्ने सोच लिएर आएका हुन् । तर केही मान्छे र संगठनहरूको पहिलेदेखिकै रणनीति अनुसार उहाँलाई कमजोर पार्ने खेल चलाइएको छ,” उनले भने। सुधनले आफू र आफूजस्तै वैकल्पिक सोचका व्यक्तिहरू पनि यस्तै दबाब र आक्रमणको सामना गरिरहेको जिकिर गरे ।

भेटका क्रममा रविले आफूविरुद्ध चलाइएका मुद्दाहरू छिटो निष्कर्षमा पुर्‍याउन छुट्टै आयोग बनाएर भए पनि छानबिन अन्त्य गर्नुपर्ने माग राखेको सुधनको भनाइ छ । लामो समयसम्म मुद्दा झुण्ड्याएर राख्ने काम राजनीतिक उद्देश्यले प्रेरित भएको उनको अभिव्यक्ति रहेको छ । सुधनले भेटमा वैकल्पिक राजनीतिक शक्ति र नागरिक आन्दोलनबीच सहकार्य गर्ने प्रस्ताव पनि राखेको बताए । यसबारे रवि सकारात्मक रहेको र वैकल्पिक शक्तिहरूको एकताको प्रयास बलियो बन्दै गएको उनले उल्लेख गरे। उनका अनुसार भ्रष्टाचार, सत्ताको दुरुपयोग र अविश्वसनीय राजनीतिक वातावरणबीच वैकल्पिक नेतृत्वप्रति जनताको भरोसा बढ्दै गएको छ, जसले नयाँ गठबन्धन र सहकार्य आवश्यक बनाएको छ ।

नख्खु कारागारमा करिब एक घण्टा चलेको भेटमा देशको समसामयिक राजनीति, वैकल्पिक शक्तिको भविष्य र छानबिन प्रक्रियाका जटिलतासहित विभिन्न विषयमा गहिरो चर्चा भएको स्रोतले बताएको छ । रवि लामिछानेविरुद्धका मुद्दाले राजनीतिक तरंग सिर्जना गरिरहेका बेला सुधन गुरुङको यो भेट विशेष रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।