सार्वजनिक संवादका लागि ‘नेपालवाद’ शृङ्खला घोषणा

काठमाडौं । राज्य सञ्चालनको दीर्घकालीन दिशाबारे सार्वजनिक बहस सुरु गर्ने उद्देश्यसहित ‘नेपालवाद’ शृङ्खलाको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘२४ दिन, २४ विषय’ शीर्षकमा राष्ट्रिय संवाद शृङ्खला सुरु गरिएको जानकारी दिइएको हो ।

नेपालवादका परिकल्पनाकार खेम शर्माका अनुसार ‘नेपालवाद’ कुनै राजनीतिक दलको घोषणा, आन्दोलनको आह्वान वा समर्थन–विरोधको अभियान होइन । यो नागरिक–आधारित दीर्घकालीन राष्ट्रिय दिशा तथा कार्यान्वयन फ्रेमवर्क हो, जसले राज्य सञ्चालनलाई अस्थायी निर्णय र भाषणमुखी शैलीबाट निकालेर स्पष्ट दिशा, संस्थागत क्षमता, पारदर्शिता र नतिजामुखी कार्यान्वयनतर्फ लैजान प्रस्ताव गर्छ ।

उनले राज्य सञ्चालनसम्बन्धी आधारभूत प्रश्नहरू उठाउँदै भने, दीर्घकालीन दिशा के हो ? “नागरिकले सेवा पाउँदा सम्मान किन कम अनुभूत गर्छन् ? नतिजा किन जनजीवनमा देखिँदैन ? युवाले देशभित्रै भविष्य किन स्पष्ट देखिरहेका छैनन् ? यिनै प्रश्नको उत्तर खोज्न ‘नेपालवाद’ सार्वजनिक संवादमा ल्याएका हौँ ।” आजदेखि सुरु भएको २४ दिने शृङ्खलामा नेपालवादले राष्ट्र सञ्चालनका २४ प्रमुख विषयमा दैनिक रूपमा एक–एक ‘पोलिसी ब्रिफ’ सार्वजनिक गर्नेछ । प्रत्येक सामग्री एउटै ढाँचामा प्रस्तुत हुनेछ, जसमा वर्तमान अवस्था, समाधानको संरचना, चरणबद्ध कार्यान्वयन योजना र मापन सूचक समावेश गरिनेछ ।

उनका अनुसार नेपालमा समस्या पहिचानको होइन, कार्यान्वयनको कमजोरी मुख्य चुनौती हो । त्यसैले नेपालवादले बहसलाई “के गर्ने ?” मा सीमित नराखी “कसरी गर्ने, कसले गर्ने, कहिले गर्ने र नतिजा कसरी मापन गर्ने ?” भन्ने ढाँचामा सार्वजनिक रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ । आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै यो नीति शृङ्खलाले मतदाता र उम्मेदवार दुवैका लागि साझा, तथ्य–आधारित मूल्याङ्कन मापदण्ड तयार गर्ने उद्देश्य राखेको छ । दैनिक रूपमा सार्वजनिक हुने पोलिसी ब्रिफ र त्यससँगै आउने ११ ‘नागरिक प्रश्न’ ले चुनावी बहसलाई नारा र भावनाबाट माथि उठाएर नीति, कार्यान्वयन र उत्तरदायित्वमा केन्द्रित गराउने अपेक्षा गरिएको छ ।

यो शृङ्खला आजदेखि २४ दिनसम्म सञ्चालन हुनेछ । जसमा नेपालवादले राष्ट्र सञ्चालनका २४ प्रमुख विषयमा दैनिक रूपमा एक-एक ‘पोलिसी ब्रिफ’ सार्वजनिक गर्नेछ । हरेक सामग्री एउटै ढाँचामा आउनेछन् । यसले आउँदै गरेको निर्वाचनको सन्दर्भमा यो नीति शृङ्खलाले मतदाता र उम्मेदवार दुवैका लागि साझा, तथ्यमा आधारित मूल्याङ्कन मापदण्ड बनाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

दैनिक रूपमा सार्वजनिक हुने पोलिसी ब्रिफहरुले मतदातालाई लोकप्रिय नारा वा क्षणिक भावनाभन्दा बाहिर गएर कुन प्रस्ताव कसरी लागू हुन्छ, कसको जिम्मेवारी हुन्छ, कति समय लाग्छ, बजेट सम्भाव्यता कति छ र नतिजा कसरी मापन हुन्छ भन्ने आधारमा प्रश्न गर्न र निर्णय गर्न सजिलो बनाउनले उनले बताए ।

२४ विषयको नीति शृङ्खलासँगै प्रत्येक दिन सोही विषयसँग सम्बन्धित ११ नागरिक प्रश्न पनि सार्वजनिक गरिनेछ, जसले चुनावी बहस नाराबाट माथि उठेर सभ्य, तथ्यमा आधारित र उत्तरदायित्व केन्द्रित बनोस भन्ने उद्देश्य लिइएको उनको भनाइ छ । नेपालवाद अभियानले सञ्चारमाध्यम, नीति–विशेषज्ञ, नागरिक समाज, युवा समूह तथा सरोकारवालालाई समाधान–केन्द्रित राष्ट्रिय संवादमा सहभागी हुन आग्रह गरेको छ ।