काठमाडौँ । नेपालमा निजी क्षेत्रको सहभागितासँगै जलविद्युत् क्षेत्रमा धेरै उद्यमी जन्मिए तर कम समयमै धेरै आयोजना अगाडि बढाएर निर्माण, उत्पादन र लगानीकर्तालाई प्रतिफल दिन सफल व्यक्तिहरूमध्ये मोहनविक्रम कार्कीको नाम उल्लेखनीय रूपमा अगाडि आउँछ ।
सिन्धुपाल्चोकमा जन्मिएका कार्कीले १५ वर्षअघि साना जलविद्युत् आयोजनाबाट सुरु गरेको जलविद्युत् उद्यम यात्रा आज दर्जनौँ परियोजनाको नेतृत्वसम्म पुगेको छ । ऊर्जा क्षेत्रमा निजी लगानीको विस्तारसँगै उनले केवल आयोजना निर्माण मात्र गरेनन्, सफल व्यवस्थापन र लगानीकर्तामैत्री अभ्यासमार्फत आफूलाई सफल जलविद्युत् व्यवसायीका रूपमा स्थापित गरेका छन् ।
कार्कीको जलविद्युत् यात्रा सुस्पा बुखरी साना जलविद्युत् आयोजनाबाट सुरु भएको हो । त्यसपछि उनले क्रमशः विभिन्न जिल्लामा आयोजना विस्तार गर्दै गएका छन् । उनको नेतृत्वमा सुरुमा सुस्पा बुखरी साना जलविद्युत् आयोजना बनेको हो । त्यसपछि द्वारीखोला साना जलविद्युत् आयोजना सम्पन्न भयो । पूर्वमा सुपरमाई जलविद्युत् आयोजना, सुपरमाई क्यास्केड जलविद्युत् आयोजना, सुपरमाई ए आयोजना सम्पन्न भएका छन् । माईवेनी, चेपे खोला, सुपर काबेली खोला, काबेली क्यास्केड, अपर मेवा खोला आयोजनामा पनि उनको नेतृत्व छ । निर्माण भइरहेको भोटेकोशी–१ (४४ मेगावाट), भोटेकोशी–५ (४६ मेघावाट), लाप्चे खोला, म्याग्दी खोला जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । यी आयोजना दोलखा, सिन्धुपाल्चोक, ताप्लेजुङ, म्याग्दी लगायतका जिल्लामा फैलिएका छन् ।
हाल कार्कीको नेतृत्वमा करिब १५ वटा जलविद्युत् परियोजना छन् । तीमध्ये आधा दर्जनभन्दा बढी आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन् ।
नेपालको जलविद्युत् क्षेत्रमा आयोजना निर्माण सम्पन्न गर्नु मात्र ठूलो उपलब्धि मानिँदैन । समयमै उत्पादन गर्नु, बैंक तथा लगानीकर्तालाई प्रतिफल दिनु र शेयर बजारमा विश्वास कायम गर्नु अझ चुनौतीपूर्ण हुन्छ तर कार्की नेतृत्वका परियोजनाहरूले लगानीलाई सफल सावित गरेका छन् । उनका केही परियोजनाले लगानीकर्तालाई उल्लेखनीय नाफा दिएका छन् भने शेयर मूल्य पनि १ हजार रुपैयाँसम्म पुगेको उदाहरण छ । उनको अगुवाइमा निर्माण भएको कुथेली बुखरीको प्रतिशेयर ३ हजार रुपैयाँसम्म पुगेको थियो । सुपरमाईको १ हजार रुपैयाँ, सगरमाथा ‘ए’को ९०० रुपैयाँ, माई खोला जलविद्युत् आयोजनाको प्रतिशेयर ८०० रुपैयाँ मूल्य पुगेको थियो ।
जलविद्युत् क्षेत्रमा धेरै कम्पनीहरू निर्माण ढिलाइ, लागत वृद्धि र व्यवस्थापन समस्याले आलोचित भइरहेका बेला कार्की नेतृत्वका परियोजनाहरू भने उत्पादन र प्रतिफलका हिसाबले नमूना बन्न सफल भएका छन् । नाफा र कर योगदानका आधारमा राज्यबाट समेत सम्मानित हुने तहसम्म उनी नेतृत्वका परियोजनाहरू पुगेका छन् । यसले उनको व्यवस्थापकीय क्षमता र परियोजना सञ्चालन शैलीले अलग पहिचान बनाएको छ ।
नेपाल सरकारले २०४९ सालपछि विद्युत् क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराउने नीति अवलम्बन गरेपछि जलविद्युत् क्षेत्रमा नयाँ सम्भावना खुलेको थियो । हालको कानुनी व्यवस्थाअनुसार कुनै पनि प्रवद्र्धकले सम्भावित खोला पहिचान गरी ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागमा सर्वेक्षण अनुमति माग्नुपर्छ । विभागले अध्ययन गरी उपयुक्त ठानेमा सर्वेक्षण अनुमति दिन्छ ।
त्यस्तो अनुमति बढीमा ५ वर्षका लागि मान्य हुन्छ । सो अवधिभित्र परियोजना निर्माणतर्फ अघि नबढे अनुमति स्वतः खारेज हुन सक्छ । त्यसपछि निर्माण अनुमति लिएर आयोजना अगाडि बढाउनुपर्छ ।
यही प्रतिस्पर्धात्मक र जटिल प्रक्रियाबिच मोहनविक्रम कार्कीले एकपछि अर्को आयोजना अघि बढाएका छन् । यसले उनी केवल लगानीकर्ता मात्र नभई अवसर पहिचान गर्ने र परियोजना कार्यान्वयन गर्न सक्ने उद्यमी भएको पुष्टि भएको छ ।
हाल भोटेकोशी–१ आयोजना करिब सम्पन्न हुने चरणमा रहेको छ । ४६ मेगावाट क्षमताको भोटेकोशी–१ आयोजना उत्पादनमा आएपछि राष्ट्रिय प्रसारण लाइनमा थप ऊर्जा जोडिनेछ । त्यसैगरी अपर मेवा खोला, भोटेकोशी–५, लाप्चे खोला र म्याग्दी खोलाका आयोजनाहरूको निर्माण कार्य पनि उल्लेखनीय रूपमा अगाडि बढेको छ । केही आयोजनाको काम २० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।
यी परियोजनाहरू सम्पन्न हुँदा नेपालको ऊर्जा उत्पादन वृद्धि हुनुका साथै स्थानीय रोजगारी, पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
सिन्धुपाल्चोकबाट उदाएका कार्की आज नेपालको निजी जलविद्युत् क्षेत्रमा चिनिने नाम बनेका छन् । उनले छोटो समयमा धेरै आयोजना अगाडि बढाएर आफूलाई सक्रिय र परिणाममुखी उद्यमीका रूपमा स्थापित गरेका छन् ।
जलविद्युत् आयोजनाको ‘प्रमोटर शेयर’ प्रभावितलाई
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत् आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर शेयरमा समेट्ने भएको छ । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी शेयर संरचना तय भइरहेको जानकारी दिए ।
आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई शेयर बापतको रकम संकलन गर्न लगाउने भएका कारण पनि प्रभावितहरूलाई फाइदा पुग्ने जनाइएको छ । बाह्रबिसे नगरपालिकाको वडा नम्बर ३, ४, ५, ८ र ९ र त्रिपुरासुन्दरी गाउँपालिकाको ३ नम्बर वडा प्रत्यक्ष प्रभावितमा पर्दछ । यहाँका स्थानीय ७० प्रतिशत काम सम्पन्न भएपछि प्रमोटर शेयर बापतको रकम जम्मा गर्न पाउने छन् । प्रायः जलविद्युत् आयोजनाले यसरी स्थानीयलाई प्रमोटर शेयर दिने गरेका छैनन् तर कार्कीले स्थानीयको आय वृद्धिमा सहयोग गर्न शेयर दिने निर्णय लिएका छन् ।
आयोजना सञ्चालनमा आएपछि स्थानीय जनता लाभांशकर्ता (डिभिडेन्ड) को रूपमा पनि लाभान्वित हुनेछन् । तर स्थानीयभन्दा अन्यत्रका व्यक्तिहरूले आयोजनाका बारेमा नकारात्मक कुरा बाहिर ल्याएको भन्दै आयोजनाले दुःख व्यक्त गरेको छ । जसका कारण स्थानीय प्रत्यक्ष प्रभावितलाई मर्का पर्न सक्नेमा उनको चिन्ता छ ।
केही बाहिरी तत्वले स्थानीय जनतालाई उचाल्ने र आन्दोलनमा उतार्ने काम गरेको आयोजनाको गुनासो छ, जसले दीर्घकालमा स्थानीयले नै पाउने शेयर र रोजगारी दुवैमा अन्योल उत्पन्न हुने खतरा देखिएको जनाइएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।


































