काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था भएमा सहकारी पीडितको रकम फिर्ता गर्न पहल गर्ने बतएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाई कुरा राख्ने समय दिएपछि अदालतको इजालासमा उनले उक्त कुरा बताएका हुन् ।
‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, विगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्तिको दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ लामिछानेले भने ।
लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको थियो ।
उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिएपछि सबै ७ आरोपीलाई जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी कयान हिजो साँझ सकिएको थियो । बिहीबार सबै आरोपीलाई कुरा राख्न समय दिइएको थियो ।
रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेकोलगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् । आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।




































