काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा हेरिएको छ । प्रधानमन्त्री शाह आइतबार मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तय भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई भारतले पनि उच्च प्राथमिकताका साथ लिएको संकेतका रूपमा स्वागतको जिम्मेवारी राज्यमन्त्रीलाई दिइएको विषयलाई हेरिएको छ ।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाहले झन्डै आठ महिनापछि पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री बनेपछि उनको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुन लागेको हो । यसले नेपालको परराष्ट्र सम्बन्धमा भारतको महत्त्वपूर्ण स्थानलाई पनि प्रतिबिम्बित गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नयाँ दिल्ली पुगेपछि उनको पहिलो औपचारिक भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुनेछ । त्यसपछि मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । उक्त वार्तामा दुई देशबीचको समग्र सम्बन्ध, आर्थिक सहकार्य र आपसी हितका विषयमा छलफल हुनेछ । विशेषगरी व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलाई वार्ताको प्रमुख एजेन्डा बनाइएको छ । नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने, लगानीका नयाँ अवसर पहिचान गर्ने र विकास साझेदारीलाई प्रभावकारी बनाउने विषयमा दुवै देशका प्रधानमन्त्रीबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा आर्थिक सहकार्यका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखिने जानकारी दिएका छन् । उनका अनुसार नेपाल र भारतबीच व्यापार तथा पारवहनका क्षेत्रमा देखिएका सम्भावना विस्तार गर्ने, ऊर्जा व्यापारलाई थप व्यवस्थित बनाउने र सीमापार सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासका परियोजनालाई गति दिने विषयमा छलफल हुनेछ ।
नेपालका लागि भारत ठूलो र महत्त्वपूर्ण विकास साझेदार रहेकाले विकास साझेदारीलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने विषय पनि उच्चस्तरीय वार्ताको महत्त्वपूर्ण एजेन्डा हुनेछ । भारतको सहयोगमा नेपालमा सञ्चालन भइरहेका विकास परियोजनाको कार्यान्वयन, नयाँ परियोजनाको सम्भावना र दुई देशबीचको सहकार्यलाई परिणाममुखी बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने गरी समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र सचिव राईले बताएका छन् । उनका अनुसार यी समझदारीले दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहयोगलाई थप विस्तार गर्नेछन् । विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्य, कृषि क्षेत्रमा प्रविधि तथा अनुभव आदानप्रदान, खेलकुदको विकास र विपद् व्यवस्थापनमा संयुक्त प्रयासलाई प्रभावकारी बनाउने विषयमा भ्रमणले आधार तयार गर्ने विश्वास गरिएको छ ।
नेपाल र भारतबीच भौगोलिक निकटतासँगै ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ । खुला सीमा, जनस्तरको सम्बन्ध, पारिवारिक तथा सांस्कृतिक आवतजावत र आर्थिक अन्तरनिर्भरताले दुई देशको सम्बन्धलाई विशिष्ट बनाएको छ । त्यसैले दुवै देशका सरकार प्रमुखबीच हुने उच्चस्तरीय भेटवार्तालाई द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
परराष्ट्र सचिव राईले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार नेपाल र भारतबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहिआएको छ । यस्ता सम्बन्धलाई राजनीतिक तहको निरन्तर संवाद र सहकार्यले थप उचाइ दिन सक्ने उनको भनाइ छ । ‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्,’ सचिव राईले भनेका छन्, ‘हाम्रा दुई देशबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको छ । आसन्न भ्रमणले नेपाल र भारतबीचको मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्नसमेत महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।’
नेपाल र भारतबीचको सम्बन्धमा पछिल्लो समय आर्थिक सहकार्य, ऊर्जा व्यापार, पूर्वाधार निर्माण र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका विषयले विशेष महत्त्व पाउँदै आएका छन् । नेपालले जलविद्युत् उत्पादनको सम्भावनालाई उपयोग गर्दै भारतसँगको ऊर्जा व्यापार विस्तार गर्न खोजिरहेको छ । अर्कोतर्फ भारतले पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी र विद्युत् आयातलाई महत्त्व दिँदै आएको छ । यस पृष्ठभूमिमा प्रधानमन्त्री शाहको भ्रमणमा ऊर्जा क्षेत्रको सहकार्यले विशेष स्थान पाउने अपेक्षा गरिएको छ । त्यसैगरी व्यापार तथा पारवहनका विषय पनि नेपालका लागि उत्तिकै महत्त्वपूर्ण छन् । भूपरिवेष्टित मुलुक नेपालका लागि भारत प्रमुख व्यापारिक साझेदार र समुद्री बन्दरगाहसम्म पहुँचको महत्त्वपूर्ण माध्यम हो । त्यसैले पारवहन सुविधालाई सहज बनाउने, व्यापारमा देखिने अवरोध कम गर्ने र सीमापार पूर्वाधार विस्तार गर्ने विषय नेपालका प्राथमिकतामा रहनेछन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोली ३४ सदस्यीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको नेतृत्वमा जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित विभिन्न मन्त्रालय तथा निकायका उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । भ्रमण टोलीमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही अधिकारी पनि थपिनेछन् । उनीहरूले भारतमा रहँदा हुने औपचारिक कार्यक्रम तथा द्विपक्षीय भेटवार्तामा आवश्यक समन्वय गर्नेछन् । प्रधानमन्त्री शाहको भ्रमणलाई उनको सरकारको विदेश नीतिको प्रारम्भिक दिशा बुझ्ने अवसरका रूपमा समेत हेरिएको छ । सरकार प्रमुख बनेपछि पहिलो विदेश भ्रमणका लागि भारत रोज्नुले नेपालको छिमेक सम्बन्धलाई दिएको प्राथमिकता देखाउँछ ।
यद्यपि भ्रमणको वास्तविक उपलब्धि भने वार्तामा उठाइएका विषय कति कार्यान्वयन हुन्छन् र दुई देशबीच भएका सहमति व्यवहारमा कति प्रभावकारी रूपमा अघि बढ्छन् भन्नेमा निर्भर रहनेछ । दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँग राजनीतिक तथा आर्थिक सम्बन्धका विषयमा छलफल गर्नुका साथै विभिन्न समझदारीपत्र आदानप्रदान गर्नेछन् । नेपालले आफ्नो राष्ट्रिय हित, आर्थिक विकास र पूर्वाधार विस्तारका प्राथमिकतालाई भारतीय पक्षसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा पनि यस भ्रमणलाई लिइएको छ । लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको नेपाल–भारत सम्बन्धलाई बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार थप सन्तुलित, व्यावहारिक र परिणाममुखी बनाउने चुनौती दुवै देशसामु छ । प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणले त्यस दिशामा कस्तो सन्देश दिन्छ र दुई देशबीचको सहकार्यलाई कति नयाँ गति प्रदान गर्छ भन्ने चासोका साथ भ्रमणलाई हेरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































