काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा प्रारम्भिक ५५ खेलाडीबाट अन्तिम टोली घोषणा गर्दै चर्चित फरवार्ड नेमारलाई समेटेका छन्।
३४ वर्षीय नेमारले चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट टाढा रहे पनि हाल सान्तोस क्लबबाट पुनः लयमा फर्किँदै आएका छन्। पछिल्लो समय उनको फिटनेस र फर्मलाई लिएर ब्राजिलमा ठूलो बहस चलेको थियो। तर अन्ततः एन्सेलोट्टीले अनुभवी खेलाडीलाई विश्वास गर्दै टोलीमा समावेश गरेका हुन्। योसँगै नेमारले आफ्नो चौथो विश्वकप खेल्ने अवसर पाएका छन्।
टोली घोषणा कार्यक्रममा एन्सेलोट्टीले नेमारको अनुभव र फिटनेस सुधारलाई निर्णयको प्रमुख आधार बताएका छन्। उनले भने, “नेमारको अनुभव र टोलीभित्रको उनको प्रभाव हामीलाई आवश्यक छ। उनी खेल्ने वा नखेल्ने निर्णय परिस्थितिअनुसार हुनेछ।”
ब्राजिलको अग्रपंक्तीमा नेमारसँगै भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, माटेउस कुन्हा, गाब्रिएल मार्टिनेली र रायन जस्ता खेलाडीहरू समावेश छन्। यद्यपि मिडफिल्डमा पाँच खेलाडी मात्र राखिएको छ, जसले टोली संरचनामा सन्तुलनको प्रश्न उठाएको छ।
टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण देखिएको छ। तर चोटका कारण रियल मड्रिडका रोड्रिगो, डिफेन्डर इडर मिलिटाओ र चेल्सीका इस्टाभियो भने टोलीमा अटाउन सकेनन्। त्यसैगरी केही अन्य खेलाडीहरू अन्तिम सूचीमा परेनन्।
ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ता नेमारले अहिलेसम्म १२८ खेलमा ७९ गोल गरेका छन्। उनले सन् २०१४, २०१८ र २०२२ विश्वकप खेलिसकेका छन्, र यो उनको चौथो तथा सम्भवतः अन्तिम विश्वकप हुनेछ।
नेमारको समावेशीकरणलाई लिएर ब्राजिलमा लामो समयदेखि विवाद र बहस चल्दै आएको थियो। कतिपयले उनलाई टोलीको नेतृत्वकर्ता मान्दै समर्थन गरेका छन् भने कतिपयले चोट र अस्थिर फर्मका कारण जोखिमपूर्ण निर्णय भनेका छन्।
यसबीच एन्सेलोट्टीले खेलाडी समूहको समर्थन र टोलीको वातावरणलाई पनि ध्यानमा राखिएको बताएका छन्। कप्तान मार्किन्होस, कासेमिरो र राफिन्हा जस्ता खेलाडीहरूले पनि नेमारको पक्षमा समर्थन जनाएका छन्।
ब्राजिलले विश्वकप २०२६ मा समूह सी मा मोरक्को, हाइटी र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। टोलीले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेल्नेछ।
नेमारको पुनरागमनसँगै ब्राजिलले छैटौँ विश्वकप उपाधि जित्ने आशा राखेको छ। तर उनको फिटनेस, भूमिका र दबाब व्यवस्थापन नै टोलीको सफलताको मुख्य निर्णायक तत्व हुने विश्लेषण गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
































