नेप्से १६ अंकले बढ्दा कारोबार साढे ४ अर्ब नाघ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सेयरबजारमा उल्लेखनीय सुधार देखिएको छ ।

केही दिनयता उतारचढावको अवस्थामा रहेको बजारमा आज भने लगानीकर्ताको उत्साह देखिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक १६.३८ अंकले वृद्धि भएर २७५८.४९ विन्दुमा पुगेको हो । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार हरियाली बनेको देखिएको छ।

शुक्रबार कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ । कुल ४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । अघिल्ला केही कारोबार दिनको तुलनामा शुक्रबार कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । यसअघि दैनिक कारोबार रकम केही कम्पनीमा सीमित हुँदै १७–१८ करोड रुपैयाँ आसपासमा खुम्चिएको अवस्था थियो । तर, शुक्रबार लगानीकर्ताको सक्रिय सहभागितासँगै कारोबार रकम उच्च बनेको हो ।

नेप्सेका अनुसार शुक्रबार एक करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । बजारमा खरिदकर्ता सक्रिय हुँदा जलविद्युत् तथा लगानीकर्ताको चासो रहेका कम्पनीहरूमा विशेष आकर्षण देखिएको हो ।

शुक्रबारको कारोबारमा आँखुखोला जलविद्युत् कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । उक्त कम्पनीको मात्रै ४३ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

त्यसैगरी रिडी पावर कम्पनी को करिब २४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेशनल हाइड्रो र अपि पावर को करिब १६/१६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने बुंगल हाइड्रो को १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

विशेषगरी जलविद्युत् समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । पछिल्लो समय ऊर्जा क्षेत्रका कम्पनीहरूको वित्तीय अवस्था, लाभांश अपेक्षा तथा बजारमा देखिएको सकारात्मक मनोविज्ञानका कारण जलविद्युत् समूहमा लगानी बढ्दै गएको विश्लेषण गरिएको छ ।

शुक्रबारको कारोबारमा कुल २०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । बजारमा हरियाली फैलिँदा धेरै लगानीकर्ताले नाफा कमाएका छन् । सबैभन्दा बढी मूल्य वृद्धि हुने कम्पनीमा क्रेस्ट माइक्रोलाइफ रहेको छ । कम्पनीको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको हो ।

त्यसैगरी अन्य केही कम्पनीको सेयर मूल्य पनि अधिकतम ९.३५ प्रतिशतसम्मले बढेको नेप्सेले जनाएको छ । बजारमा सकारात्मक माहोल बनेसँगै साना तथा मध्यम लगानीकर्ताको सहभागिता पनि बढेको देखिएको छ ।

यद्यपि, सबै कम्पनीको सेयर मूल्य भने बढ्न सकेन । शुक्रबार ५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, गिरावट दर धेरै नरहेको र अधिकतम २.५९ प्रतिशतसम्म मात्रै सीमित रहेको नेप्सेले जनाएको छ । यसले बजारमा ठूलो दबाब नरहेको र समग्र लगानीकर्ताको मनोबल सकारात्मक रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

समूहगत परिसूचकतर्फ व्यापार समूहबाहेक बाँकी सबै उपसमूहमा वृद्धि देखिएको छ । विशेषगरी जलविद्युत्, बैंकिङ, विकास बैंक, वित्त, लगानी तथा उत्पादनमूलक समूहमा हरियाली छाएको छ । सेयर विश्लेषकहरूका अनुसार पछिल्लो समय बजारमा लगानीयोग्य तरलता पर्याप्त रहनु, बैंक ब्याजदर तुलनात्मक रूपमा कम हुनु तथा लगानीकर्तामा सकारात्मक मनोविज्ञान बढ्नु बजार उकालो लाग्नुका मुख्य कारण हुन् ।

त्यस्तै, केही कम्पनीको सकारात्मक वित्तीय विवरण, आगामी लाभांश अपेक्षा तथा बजारमा नयाँ लगानीकर्ता प्रवेश बढ्दै जानुले पनि बजारलाई थप ऊर्जा दिएको बताइएको छ । पछिल्ला केही सातादेखि बजारमा उतारचढाव देखिए पनि शुक्रबारको सुधारले लगानीकर्तामा नयाँ आशा थपिएको छ । आगामी दिनमा पनि कारोबार रकम र सूचकमा सुधार कायम रहने अपेक्षा गरिएको छ ।