काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।
आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ । उम्मेदवारी दर्ता अनलाइनमार्फत् भइरहेको अखिल क्रान्तिकारीका फ्र्याक्सन इञ्चार्ज हिमाल शर्माले जानकारी दिए । नयाँ कार्यसमिति चुन्न उम्मेदवारहरुबीच माघ १२ गते निर्वाचन गर्ने तालिका छ ।
गत असोज १० देखि १४ गतेसम्ममा काठमाडौंको कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो । ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा भोटिङ हुँदा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो । सोही नतिजा अनुसार ३२ वर्षसम्मकाले अहिले उम्मेदवारी दर्ता गराइरहेका छन् ।
सहमतिको प्रयास पनि जारी
निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहे पनि सहमतिको प्रयास पनि जारी रहेको नेताहरुले बताएका छन् । फ्र्याक्सन इञ्चार्ज शर्माले निर्वाचन प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि भइरहेको जानकारी दिए ।
सहमतिको प्रयासमा उपमहासचिव शक्ति बस्नेत, फ्र्याक्सन इञ्चार्ज शर्मा, निवर्तमान अध्यक्ष पञ्चा सिंहसहित अध्यक्षका दाबेदार नेताहरुबीच छलफल हुँदै आएको छ । सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । तर सहमति जुटेको छैन ।




































