समाजलाई अगाडि बढाउन संस्कृतिकाे महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह

धादिङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिकाे महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लाेकसांस्कृतिक महाेत्सवमा सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्राे समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ,´ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले साँस्कृतिक महाेत्सवहरू मनाइरहनुपर्छ ।´

उनले भाषा, सँस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नाे संस्कृति, भेषभूषा, कलासँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जाेड दिए । लाेकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नाे कला, धर्म, सँस्कृति जगेर्ना गर्न राम्राे वातावरण बनेकाे पनि बताए । लाेक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरेकाेमा उनले प्रशंसा पनि गरे ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाकाे पूर्वाधार विकासमा संङ्घ, प्रदेश र स्थानीय तीनै तहकाे सरकारले मिलेर काम गर्ने बताए । `आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछाैं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछाैं,´ उनले भने ।