संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्ने तय भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभामा पेस गर्दैछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

तर, यही २४ गते स्थगित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।