नेपाली राजनीतिक क्षितिजमा कम्युनिस्ट आन्दोलनको नयाँ अध्याय प्रारम्भ भएको छ । दश वामपन्थी घटकहरूको एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टीको औपचारिक गठन कात्तिक १९ गते सम्पन्न भयो ।
माओवादी केन्द्र र एकीकृत समाजवादीको विघटनसँगै अन्य आठ घटकहरूको समाहितीकरणले यो प्रक्रिया पूर्णता पाएको हो । यो एकता कम्युनिस्ट आन्दोलनको पुनर्गठन र वाम ध्रुवीकरणको प्रस्थानविन्दुका रूपमा चित्रित गरिएको छ । तर, यो प्रक्रियाले पार्टीभित्रका विग्रहलाई पूर्णतः सम्बोधन गर्न नसकेको र जेनजी आन्दोलनको नेतृत्व पुस्तान्तरणको भावनालाई बेवास्ता गरेको देखिन्छ । पुराना अनुहारहरूको बाहुल्यताले नयाँ दललाई पुरानै स्वरूपको छायाँमा सीमित तुल्याएको आलोचना उठिरहेको छ ।
एकता प्रक्रियाको जगमा माओवादी केन्द्र र एकीकृत समाजवादीको विघटन रहेको छ । यी दुवै दलमा नेतृत्व पुस्तान्तरण र पार्टी पुनर्गठनको माग उठाउँदै आएका नेताहरू भने यो प्रक्रियाबाट बाहिरिएका छन् । माओवादीबाट राम कार्की र जनार्दन शर्मा अलग भएका छन् । उनीहरूले प्रगतिशील अभियान नेपालको घोषणा गर्दै नयाँ बाटो अँगालेका छन् । त्यसैगरी, एकीकृत समाजवादीबाट घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरूले विमति जनाउँदै अलग्गिएका छन् । भुसालले मंसिरमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन् भने झाँक्रीसहितका नेता एमालेतर्फ फर्कने तयारीमा छन् । किसान श्रेष्ठले पत्रकार सम्मेलनमा भनेका छन्, “एमाले हाम्रो मूल घर हो । हामी त्यहाँ फर्किन चाहन्छौँ । अरू केही चाहिँदैन, हामीसँग हाँसेर बोलिदिए पुग्छ ।” यो अभिव्यक्तिले कम्युनिस्ट आन्दोलनभित्रको आन्तरिक कलह र व्यक्तिगत सम्बन्धको प्रभावलाई उजागर गर्छ ।
एकता पक्षधरहरूले छुटेका नेताहरूलाई समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । नेता नारायणकाजी श्रेष्ठले यो एकतालाई कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनको प्रारम्भिक बिन्दु ठानेका छन् । उनले भनेका छन्, “यो पार्टी एकता नेपाली कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ । आजको एकता घोषणा गरिरहँदा हामी पार्टीहरूभित्रकै कतिपय साथीहरू बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि यसमा ल्याउनुपर्छ ।” तर, सुरूमा विमति राखेका झलनाथ खनाल अन्तिम समयमा सामेल भएका छन् । कात्तिक १८ गते केपी शर्मा ओलीसँग भेट र १९ गते प्रचण्डसँग छलफलपछि उनी ससर्त एकतामा जोडिएका हुन् । खनालले भनेका छन्, “म विभाजनको पक्षमा थिइनँ । मेरा एजेन्डा र सर्तबारे मैले प्रचण्डसँग छलफल गरेँ । उनले त्यसमा प्रतिबद्धता जनाएपछि म आएको छु ।”
जेनजी आन्दोलनले पुराना दलहरूमा नेतृत्व पुस्तान्तरणको बहसलाई तीव्र बनाएको थियो । तर, नवगठित पार्टीमा यो मुद्दा ओझेलमा परेको छ । नेतृत्वपंक्तिमा पुराना अनुहारहरूको वर्चस्व कायम छ । संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजकमा माधवकुमार नेपाल, तेस्रो वरीयतामा झलनाथ खनाल, चौथोमा वामदेव गौतम र पाँचौँमा नारायणकाजी श्रेष्ठ तोकिएका छन् । महिन्द्रा राय यादवले सर्वसम्मत प्रस्ताव राख्दा हलले तालीले अनुमोदन गरेको थियो । पक्षधरहरूले यो एकतालाई ‘असाधारण कदम’ र नयाँ इतिहासको रचना भनेका छन् । नेतृ पम्फा भुसालले भनिन्, “आज हामीले नयाँ इतिहास रचेका छौँ, अघिल्लो पुस्ताले सुरू गरेको कम्युनिस्ट आन्दोलनलाई अर्को चरणमा पुर्याएका छौँ ।”
विपक्षीहरूले भने यो पुरानै अनुहारको नयाँ गठजोड मात्रै हो भन्दै आलोचना गरेका छन् । सहसंयोजक नेपालले जनताको जिज्ञासा स्वीकार गर्दै भनेका छन्, “जनताले हामीलाई नियालिरहेका छन् । पुरानै पार्टीको नयाँ रूप हो वा नयाँ चरित्रको पार्टी हो भन्ने जिज्ञासा जनतामा छ । अब हामीले कमजोरी सच्याउँदै जनतालाई विश्वास दिलाउन सक्नुपर्छ ।” जेनजी को नेतृत्व हस्तान्तरण मागलाई बेवास्ता गरेकोमा नेताहरू मौन छन् । उल्टै, आन्दोलनले एकता प्रक्रियालाई गति दिएको भन्दै धन्यवाद दिएका छन् । प्रचण्डले भनेका छन्, “आन्दोलन गर्ने युवाहरूलाई धन्यवाद । तपाईंहरूको आन्दोलनले हामीलाई राम्रैसँग घोच्यो । हाम्रा कमजोरी उजागर गरिदिनुभयो ।”
बाहिरिएका नेताहरूले प्रचण्ड–माधवले नेतृत्व छोडे एकतामा आउने शर्त राखेका छन् । उनीहरूले प्रतिस्पर्धाबाट नेतृत्व छनोटलाई निषेध गरेको आरोप लगाएका छन् । प्रचण्डले जीवनपर्यन्त नेतृत्वमा नरहने र विधि–प्रणाली निर्माण गरेर बाहिरिने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, “जिन्दगीभर नेतृत्वमा रहने मनसाय माधव जी र मेरो छैन ।” नेताहरूले सुशासन, भ्रष्टाचार अन्त्य र स्थिर सरकारको एजेन्डामा सहकार्य गर्ने वाचा गरेका छन् ।
एकता सम्मेलनमा नेतृत्वप्रति नै आशंका व्यक्त भएको छ । महिन्द्रा राय यादवले आन्तरिक लोकतन्त्र कमजोर हुँदा विभाजन बढेको तर्क गर्दै नेतृत्वलाई उदार हुन आग्रह गरे । वामदेव गौतमले समाजवाद निर्माणमा प्रतिबद्धता नभएको र आर्थिक पारदर्शिताको अभाव रहेको प्रश्न उठाए । झलनाथ खनालले नेतृत्वको गल्तीले नेकपा विघटन भएको स्मरण गर्दै आत्मसमीक्षा मागे । प्रचण्ड र नेपालले कमजोरी सच्याउने प्रतिबद्धता जनाएका छन् । प्रचण्डले गौतमलाई उत्पादनको जिम्मा दिने प्रस्ताव राखे भने नेपालले लोकतान्त्रिक चरित्र बलियो बनाउने वाचा गरे ।
पार्टीको अन्तरिम विधान मार्क्सवादी दर्शन र लेनिनवादी संगठनात्मक पद्धतिमा आधारित छ । कार्यकारी कमिटीमा २० प्रतिशत युवा, ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम प्रतिनिधित्व हुने प्रतिबद्धता छ । राजनीतिक कार्यदिशा विस्तृत छलफलपछि तय हुने समझदारी छ । यो एकता नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल जनसमाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच भएको हो ।
यो गठनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा दिन सक्छ, तर जेनजी को भावना र आन्तरिक लोकतन्त्रको सुदृढीकरणबिना यो फेरि विग्रहको शिकार हुन सक्छ ।
मिति २०८२ कार्तिक २१ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार




































