मेसीको फुटबल करियरमा अर्को ऐतिहासिक उपलब्धि : ४०० असिस्ट पूरा

काठमाडौं । विश्व फुटबलका दिग्गज अर्जेन्टिनी खेलाडी लियोनेल मेसी ले आफ्नो करियरको अर्को ऐतिहासिक माइलस्टोन हासिल गरेका छन् ।

अमेरिकी मेजर लिग साकर (एमएलएस) कप प्लेअफ्स अन्तर्गत आइतबार भएको खेलमा मेसीले आफ्नो करियरको ४००औं असिस्ट पूरा गर्दै इन्टर मियामीलाई न्यासभिल एससीमाथि ४–० को शानदार जित दिलाए ।

फ्लोरिडाको फोर्ट लडरडेलस्थित चेज स्टेडियममा भएको निर्णायक प्लेअफ खेलमा ३८ वर्षका मेसीले पहिलो हाफमै दुई गोल गर्दै ‘र्ब्रेस’ पूरा गरे। त्यसपछि उनले टाडेओ एलेंदेलाई असिस्ट दिँदै चौथो गोल गराए । यो जितसँगै इन्टर मियामी पूर्वी कन्फरेन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो असिस्टसँगै मेसी विश्वका सक्रिय खेलाडीमध्ये ४०० असिस्ट पूरा गर्ने एकमात्र खेलाडी बनेका छन् । अब उनी हंगेरीका महान् फुटबलर फेरेन्स पुस्कासको सर्वकालीन रेकर्ड बराबरी गर्नका लागि केवल चार असिस्ट टाढा रहेका छन् ।

मेसीले यस सिजनका तीन प्लेअफ खेलमै पाँच गोल र दुई असिस्ट गर्दै उत्कृष्ट फर्म कायम राखेका छन्। यसअघि नियमित सिजनमा उनले २९ गोल र १९ असिस्ट गरेका थिए, जसले गर्दा उनको कुल योगदान ५० गोल इन्भल्भमेन्टभन्दा धेरै पुगेको छ ।

इटालियन पत्रकार फाब्रिजियो रोम्यानोका अनुसार, मेसीले आइतबारको खेलमा असिस्ट टाडेओ एलेंदेलाई दिएका थिए । करिब दुई दशक लामो व्यावसायिक फुटबल करियरमा मेसीले एफसी बार्सिलोना, प्यारिस सेन्ट–जर्मेन (पीएसजी) र अहिलेको क्लब इन्टर मियामीबाट खेल्दै आफ्नो असाधारण खेलकौशल प्रदर्शन गरेका छन् । ८०० भन्दा बढी गोल गर्ने मेसीले गोल स्कोरिङ मात्र होइन, खेल निर्माण (प्ले–मेकिङ) मा पनि अद्वितीय उदाहरण प्रस्तुत गरेका छन् ।

उनी आफ्नो सटीक पासिङ, खेलको पढाइ, र टोलीका सहखेलाडीहरूलाई उत्कृष्ट अवस्थामा पुर्‍याउने क्षमताका कारण विश्व फुटबलका सबैभन्दा पूर्ण खेलाडीमध्ये एक मानिन्छन् । ८ पटकको ब्यालोन डि’ओर र ६ पटकका युरोपीएन गोल्डेन बुट विजेता मेसीले चार पटक यूएफा च्याम्पियन्स लिग, १० पटक ला लिगा उपाधि, र सन् २०२२ को फिफा विश्वकप जित्दै फुटबलमा नयाँ अध्याय लेखेका छन् ।

फुटबलप्रेमी र विज्ञहरूले सामाजिक सञ्जालमा उनको यो ४०० औं असिस्टको खुसी सँगसँगै मनाएका छन्। धेरैले लेखेका छन् — “गोलको राजा मात्र होइन, असिस्टको बादशाह पनि मेसी नै हुन्।”

मेसीको यो उपलब्धिले पुनः प्रमाणित गरेको छ कि उनको खेलकौशल र योगदान उमेरसँगै घटेको छैन। ३८ वर्षको उमेरमा पनि उनले आफ्नो फिटनेस, खेल बुझ्ने क्षमता र नेतृत्वद्वारा टोलीलाई निरन्तर जितको मार्गमा अघि बढाइरहेका छन्।

इन्टर मियामीले अब एफसी सिनसिनाटीसँग पूर्वी कन्फरेन्सको सेमिफाइनल श्रृंखला खेल्नेछ, जसको पहिलो खेल नोभेम्बर २२ मा हुने तय भएको छ । ४०० असिस्ट पूरा गर्दै मेसीले फुटबल इतिहासमा पुनः आफ्नो नाम स्वर्ण अक्षरमा लेखाएका छन् – एउटा यस्तो उपलब्धि जुन अहिले कुनै अन्य सक्रिय खेलाडीले हासिल गर्न सकेको छैन ।