पूजा महतो पुनः जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) टिम जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि पनि ‘फेस अफ द बोल्ट्स’को रूपमा निरन्तरता दिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा जनकपुर बोल्ट्सले पूजालाई पुनः ‘फेस अफ द बोल्ट्स’का रूपमा घोषणा गरेको हो। कार्यक्रममा टोलीको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो ।

घोषणा कार्यक्रममा बोल्दै पूजा महतोले भनिन् फेस अफ द बोल्ट्स बन्न पाउँदा खुशी छु “जनकपुर बोल्ट्सको सम्पूर्ण टिमलाई धन्यवाद – मलाई फेरि फेस अफ द बोल्ट्सको रूपमा विश्वास गर्नुभयो । यो सहकार्यमा म निकै उत्साहित छु। गत संस्करणमा टिमले उपाधि जितेको थियो, यो पटक पनि त्यस सफलतालाई दोहोर्‍याउने विश्वास लिएकी छु।”

कार्यक्रममा जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा, पूजा महतो र नेपाल लुब ओयल लिमिटेडका एमडी करण चौधरीले संयुक्त रूपमा टोलीको जर्सी सार्वजनिक गरे।

जनकपुर बोल्ट्सले यसअघि विदेशी खेलाडी लाहिरु मिलान्थालाई दोस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको छ भने दक्षिण अफ्रिकाका अनुभवी खेलाडीहरू वायन पार्नेल र इमरान ताहिरलाई पनि टोलीमा समावेश गरिसकेको छ ।

टोलिको प्रशिक्षकमा वेस्ट इन्डिजका पूर्व स्टार क्रिकेटर शिवनराइन चन्द्रपल रहेका छन् ।