काठमाडौं । लियो क्लब अफ काठमाडौं मेट्रो सिटी र लियो क्लब अफ काठमाडौं स्वयम्भू टाउन ओमेगा र अल्फाको संयुक्त आयोजनामा आज स्वयम्भू भवन पौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको सो कार्यक्रममा ३० भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू, सामाजिक अभियन्ता तथा क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सक्रिय सहभागिताका कारण कार्यक्रम उत्साहजनक र प्रभावकारी बनेको आयोजकहरूले बताए । सङ्कलित रक्त नजिकैको कान्तिपुर अस्पताल तथा अन्य उपचार केन्द्रहरूमा प्रदान गरिने जानकारी दिइयो।
आयोजक प्रतिनिधिहरूले युवाहरूले देखाएको उत्साह, जिम्मेवारीबोध र सेवा–भावनाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । सहभागीहरूले रक्तदानलाई नियमित सामाजिक उत्तरदायित्वका रूपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

लियो क्लबको स्थापना सन् १९५७ मा अमेरिकाको पेन्सिलभेनियाको एबिङ्टनमा भएको हो। युवा नेतृत्व विकास, सामाजिक सेवा तथा समुदाय उत्थानका उद्देश्यसहित स्थापना भएको यो संस्था नेपालमा पनि अत्यन्त सक्रिय छ । यसअन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ अभियान, चेतना अभिवृद्धि कार्यक्रम तथा नेतृत्व विकास तालिम जस्ता गतिविधिहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
रक्तदान कार्यक्रम सफल भएपछि आयोजकहरूले आगामी दिनमा रक्तचाप जाँच, दन्त तथा आँखा स्वास्थ्य परीक्षण शिविर, युवा नेतृत्व विकास तालिम तथा समुदाय सेवासम्बन्धी अभियानलाई निरन्तरता दिने योजना सार्वजनिक गरेका छन् ।

आजको संयुक्त रक्तदान कार्यक्रममा लियो क्लब अफ काठमाडौं मेट्रो सिटी र लियो क्लब अफ काठमाडौं स्वयम्भू टाउन ओमेगा र अल्फाको सम्मिलित थिए।
कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै लियो क्लब अफ काठमाडौं स्वयम्भू टाउन ओमेगा, डिष्ट्रिक्ट ३२५ के नेपालकी संयुक्त कोषाध्यक्ष अश्रीमा पन्थी ले कार्यक्रम सफल बनाउन सबैजनाले सक्रिय योगदान पुर्याएको उल्लेख गरेकि छिन् । उनले रक्तदानजस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउन क्लब प्रतिबद्ध रहेको पनि बताइन्।
समापनमा आयोजकहरूले दाताहरू, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा सबै सहयोगीप्रति आभार व्यक्त गर्दै “रक्तदान – जीवनदान” को अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।





































