काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबारे चलिरहेको विवाद शनिबारको लामो छलफलबाट पनि समाधान नहुँदा पार्टीभित्रको आन्तरिक असमझदारी झनै तीव्र बनेको छ ।
सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित भाडाको निवासमा करिब चार घण्टासम्म चलेको बैठकले नेताहरूबीचको मतभेद अरू झनै प्रस्ट पारेको हो । छलफलमा सहभागी नेता विमलेन्द्र निधिका अनुसार शनिबारको बैठक मूलतः विशेष महाधिवेशन रोक्ने कि निर्वाचनपछि मात्र गर्ने भन्ने दुई विकल्पमा केन्द्रित थियो ।
निधिका अनुसार सभापति देउवाले पार्टीलाई विवादमुक्त बनाउन सबै पक्षबीच सहमति खोज्दै मंसिर, पुस वा माघमध्ये कुनै पनि महिनामा नियमित महाधिवेशनको तालिका बनाइ अघि बढ्नुपर्ने धारणा राखेका थिए । देउवाले विशेष महाधिवेशनको माग निरन्तर उठाउँदै आएका समूहलाई उक्त माग फिर्ता लिन आग्रह गर्दै “मध्यमार्ग अपनाएर” पार्टीलाई चुनावी मोडतिर केन्द्रित गराउन चाहेको स्रोतले बताउँछ ।
देउवाले छलफलमा महामन्त्री गगनकुमार थापा र विशेष महाधिवेशन पक्षधर समूहलाई विशेष प्रस्ताव फिर्ता लिएर पार्टी एकतालाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका थिए । तर देउवाको आग्रह बुझिदैँ महामन्त्री थापाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन आफू सक्षम नहुने स्पष्ट बताएका थिए । थापाको यो अडानले देउवा पक्ष खोजिरहेको सहमतिको ढोका तत्कालका लागि बन्द भएको बैठकमा सहभागीहरू बताउँछन् ।
छलफलमा नेता डा. शेखर कोइराला र रमेश लेखकले पुसमै विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सार्दै यसलाई विवाद समाधानको व्यावहारिक उपायका रूपमा पेश गरेका थिए । उनीहरूले पुस महिनामा विशेष महाधिवेशन गर्न सकिए पार्टीभित्र उत्पन्न हुँदै गएको अविश्वास र असन्तुष्टि कम हुने तर्क राखेका थिए । तर निधि र नेता कृष्ण सिटौलाले सो प्रस्तावलाई तत्काल स्वीकार गर्न नसक्ने स्पष्ट पारे । उनीहरूको तर्क थियो—पुस वा माघमा विशेष महाधिवेशन गर्दा आगामी फागुन २१ गते हुने निर्वाचन, समानुपातिक सूची पेस गर्ने समयसीमा, राष्ट्रिय सभा निर्वाचन तथा प्रचारप्रसारको तयारी सबै प्रभावित हुनेछन् ।
निधिले बैठकमा आफ्ना र सिटौलाका धारणा सार्वजनिक गर्दै सबै पक्षलाई ध्यानमा राखेर निर्णय गर्न आग्रह गरे । उनका अनुसार—चुनाव नजिकिँदै जाँदा पार्टीलाई थप विवादमा धकेलिने काम हुनु हुँदैन, विशेष महाधिवेशन गर्ने कि नगर्ने विषयमा सहमति नजुटे केन्द्रीय समितिमा आवश्यक परे बहुमतका आधारमा निर्णय लिनुपर्छ भन्ने सुझाव पनि आफूहरूले राखेका थिए ।
बैठकमा सभापति देउवाले समेत पार्टीमा फैलिएको विवाद अन्त्य गर्न आवश्यक सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए । देउवालाई उद्धृत गर्दै निधिले भने—“पार्टीमा विवाद रोक्न सकिन्छ भने जे बेला उपयुक्त हुन्छ, मंसिर, पुस वा माघमध्ये जसलाई उपयुक्त ठानिन्छ त्यही बेला नियमित महाधिवेशन गरौँ, विवाद सकियोस् भने जसो गरेर पनि अघि बढौँ ।” चार घण्टा पुगेको छलफलबाट कुनै निष्कर्ष ननिस्केपछि भोलिका लागि तय गरिएको केन्द्रीय समितिको बैठक पनि तत्कालका लागि स्थगित गरिएको छ । नेताहरूबीचको सहमति टुंगो नलागेपछि बैठक पुनः सोमबार दिउँसोका लागि सारिएको पार्टी स्रोतले जनाएको छ ।




































