काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतिष्ठित प्रतियोगिता साफ महिला क्लब च्याम्पियनसिप मंसिर १९ गते शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने यस प्रतियोगितामा साफसँग आबद्ध पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, र पाकिस्तानको कराची सिटी एफसी सहभागी हुनेछन्। सबै टोलीले पहिलो संस्करणमै उपाधि जितेर इतिहास रच्ने लक्ष्यसहित तयारी पूरा गरेको जनाएका छन्।
प्रतियोगिता सुरु हुनुअघि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित प्रि–म्याच कन्फ्रेन्समा एपीएफ महिला टोलीकी कप्तान अनिता बस्नेतले नेपालमा पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुन लागेकोमा खुसी व्यक्त गरिन्। उनले टोलीले जितको लक्ष्यसहित आत्मविश्वासका साथ तयारी पूरा गरेको बताइन्।
त्यस्तै एपीएफका प्रशिक्षक जिवेश पाण्डेले आन्तरिक प्रशिक्षणको समय धेरै नपाए पनि खेलाडीहरूले पछिल्ला महिनामा पर्याप्त प्रतिस्पर्धात्मक खेल खेलेकाले तयारी राम्रो रहेको बताए। अन्य सहभागी क्लबका प्रशिक्षक र कप्तानहरूले पनि आफ्नो टोलीले सक्दो राम्रो तयारी गरेको र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताको पहिलो दिन पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच उद्घाटन खेल हुनेछ। दोस्रो खेलमा घरेलु टोली एपीएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार प्रतियोगितामा सहभागी पाँच टोलीबीच सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने र चरण पूरा भएपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।
विजेता क्लबले १० हजार अमेरिकी डलर, उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले २–२ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन विदेशी क्लबहरू डिसेम्बर ३ का दिन नेपाल आउने कार्यक्रम रहेको एन्फाले जनाएको छ। एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार रुपैयाँ रहेको छ। नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको यस प्रतियोगिताले प्रदेशीय महिला फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




































