काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएपछि उत्पन्न विवाद र असन्तुष्टिकै बीच सूचीमा परेका व्यक्तिहरूले एकपछि अर्को गर्दै उम्मेदवारी फिर्ता लिन थालेका छन्। पछिल्लो क्रममा एफसी चितवनका अध्यक्ष सचिन ढकालले पनि रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् वक्तव्य सार्वजनिक गर्दै ढकालले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणले यसपटक सूचीबाट नाम फिर्ता लिएको जानकारी दिएका हुन्। उनी नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। रास्वपाको समानुपातिक सूचीमा उनी खस आर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा रहेका थिए।
ढकालले युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने उल्लेख गर्दै आगामी दिनमा राष्ट्र र समाजको हितका लागि आवश्यक परे राजनीतिक जिम्मेवारी वहन गर्न सधैं तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
ढकालसँगै शनिबार नै फिल्म निर्माता तथा टेलिभिजन प्रस्तोता आसिफ शाहले पनि समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन्। फेसबुक स्ट्याटसमार्फत् शाहले आफू राजनीतिप्रति चासो राखे पनि सक्रिय राजनीतिमा नजाने व्यक्ति भएको उल्लेख गर्दै जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर सांसद बन्ने बाटो रोज्न नसक्ने बताएका छन्। मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा रहेका शाहले प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना पहिल्यै व्यक्त गरिसकेको पनि स्पष्ट पारेका छन्।
यसअघि गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले पनि समानुपातिक उम्मेदवारीबाट पछि हट्ने निर्णय सार्वजनिक गरेकी थिइन्। आदिवासी जनजाति महिला क्लस्टरअन्तर्गत बन्दसूचीमा परेकी गुरुङले गहन आत्ममूल्यांकनपछि आफ्नो पेशागत जिम्मेवारी र दीर्घकालीन सामाजिक योगदानलाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएको बताएकी छन्।
त्यसैगरी आदिवासी जनजातितर्फ बन्दसूचीमा रहेका टासी लाक्पा शेर्पाले पनि दलगत राजनीतिमा रुचि नराख्ने भन्दै यसअघि नै आफ्नो नाम फिर्ता लिएको घोषणा गरिसकेका छन्।
रास्वपाको समानुपातिक सूचीमा समावेश व्यक्तिहरूको विषयलाई लिएर पार्टीभित्रै विवाद र असन्तुष्टि चर्किँदै गएको छ। विशेषगरी युवा पुस्ता तथा जेन–जी अभियानीहरूले सूचीप्रति असन्तोष जनाएपछि ती व्यक्तिहरू आत्ममन्थनमा पुगेर उम्मेदवारी फिर्ता लिन बाध्य भएका देखिन्छन्।
एकपछि अर्को नाम फिर्ता हुन थालेपछि रास्वपाको समानुपातिक सूची र पार्टीको आन्तरिक निर्णय प्रक्रियामाथि थप प्रश्न उठ्न थालेका छन्।




































