बैतडी । उज्यालो भविष्य र घरपरिवारको जीवनस्तर उकास्ने सपना बोकेर दुई वर्षअघि विदेशिएका बैतडीको मेलौली नगरपालिका–७ काडाका ३२ वर्षीय मनोज सिंह भाट अब कहिल्यै घर फर्किने छैनन्। लामो समयदेखि बेपत्ता जस्तै बनेका मनोजको रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएको तथ्य डीएनए परीक्षणमार्फत पुष्टि भएको छ। यो खबरले आशमै बसेको परिवारमाथि दुःखको बज्रपात परेको छ।
२०८० असोजतिर मनोज घरबाट बिदा भएका थिए। परिवारले उनलाई उज्ज्वल भविष्यको कामना गर्दै विदाइ गरेको थियो। मेलौलीकै दुई जना साथीसँगै उनी रोजगारीको खोजीमा रुस पुगेका थिए। सुरुमा परिवारसँग उनको सम्पर्क भइरहन्थ्यो। फोन र सन्देशमार्फत उनले आफू सुरक्षित रहेको र काम गर्दै गरेको जानकारी दिइरहन्थे। तर केही समयपछि मात्रै मनोज रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा खटिएको कुरा परिवारले थाहा पायो। त्यो खबर परिवारका लागि झट्का थियो, तर त्यसबेला पनि मनोज जीवित र सम्पर्कमै रहेकाले परिवारले मन कठोर बनाएर आश बाँधिरहे।
युक्रेन युद्धमा खटिएको केही महिनापछि भने मनोजसँग परिवारको सम्पर्क एकाएक टुट्यो। फोन उठ्न छाड्यो, सन्देशको जवाफ आउन बन्द भयो। चिन्तित परिवारले मनोजसँगै गएका उनका साथीहरूसँग सोधखोज गर्न थाल्यो। उनीहरूबाट ‘युक्रेनी आक्रमणमा परेका हुन्’ भन्ने अस्पष्ट खबर मात्र आइरहन्थ्यो। न त मृत्यु पुष्टि हुन्थ्यो, न त जीवित रहेको कुनै ठोस सूचना नै मिल्थ्यो।
एक वर्षभन्दा बढी समयदेखि मनोजको अवस्था यकिन नहुँदा परिवार निरन्तर पीडामा थियो। कहिले जीवितै कतै थुनिएको त होइन भन्ने आश, कहिले घाइते भएर उपचारमा त छैन भन्ने कल्पनाले परिवार दिन काटिरहेको थियो। आधिकारिक पुष्टि हुने आशमा उनीहरू निरन्तर पर्खाइमा बसेका थिए। अन्ततः त्यो झिनो आश पनि शनिबार समाप्त भयो। डीएनए परीक्षणका आधारमा मनोज सिंह भाटको रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएको पुष्टि भएको खबर परिवारसम्म आइपुग्यो। मेलौली नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र भट्टका अनुसार लामो समयदेखि अनिश्चिततामा बसेको परिवारले अन्ततः दुःखद यथार्थ स्वीकार गर्नुपरेको छ। “एक–डेढ वर्षदेखि अवस्था थाहा नहुँदा परिवारले मनमा सानो आश बोकेको थियो,” उनले भने, “तर हिजो मृत्यु पुष्टि भएको खबर सुन्नुपर्यो।”
मनोजको निधन पुष्टि भएपछि शनिबार नै परिवारले परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरेको छ। वास्तविक शव स्वदेश ल्याउन नसकिएपछि नेपाली संस्कारअनुसार प्रतीकात्मक अन्त्येष्टि गर्नुपरेको हो। घरमा शोकको वातावरण छ, आफन्त र छिमेकीहरू परिवारलाई सम्हाल्नमै व्यस्त छन्। मनोजसँगै मेलौलीबाट रुसी सेनामा भर्ती भएका अरूको अवस्था पनि पीडादायी नै रहेको छ। मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको मृत्यु यसअघि नै गत वैशाखमा पुष्टि भइसकेको थियो।
यद्यपि मेलौली नगरपालिका–८ का अर्का एक युवा भने रुसी सेनामा भर्ती भएको केही महिनामै सकुशल घर फर्किएका थिए। मनोज भाट परिवारका जेठा छोरा थिए। उनको पारिवारिक अवस्था कमजोर छ। बुबाआमा खेतीकिसानीमै निर्भर छन्। मनोज रुस जानुअघि गाउँमै गाडी चलाएर परिवारको खर्च धान्ने प्रयास गरिरहेका थिए। तर आम्दानीले घरखर्च जोहो गर्न मुस्किल पर्न थालेपछि उनले परिवारको अवस्था सुधार्ने ठूलो सपना बोकेर विदेश जाने निर्णय गरेका थिए। सोही क्रममा उनी रुसी सेनामा भर्ती हुन पुगेका थिए।
विदेशी भूमिमा चलेको युद्धमा मनोजको ज्यान गएको खबरले परिवार मात्र होइन, पूरै गाउँ शोकमा डुबेको छ। आर्थिक अभाव र रोजगारीको अभावले युवालाई जोखिमपूर्ण बाटो रोज्न बाध्य बनाएको यो घटना फेरि एकपटक उदाहरण बनेको स्थानीयको भनाइ छ। परिवारको सहारा बन्ने सपना बोकेका मनोज विदेशी युद्धभूमिमा ढलेपछि उनका बुबाआमा, दाजुभाइ र आफन्त विक्षिप्त अवस्थामा पुगेका छन्। मनोजको मृत्युले वैदेशिक रोजगारीका नाममा युवाहरू कसरी अनिश्चित र खतरनाक परिस्थितिमा फस्न बाध्य भइरहेका छन् भन्ने यथार्थ पनि उजागर गरेको छ। उज्यालो भविष्यको आशामा घर छाडेका मनोज अब कहिल्यै फर्किने छैनन्, उनको सपना भने परिवारको मनमा अधुरै भएर बाँकी रहनेछ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।

































