काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पटक–पटक आग्रह गर्दा पनि तालाबन्दी नखुलेपछि सोमबार प्रहरी प्रशासनको सहयोगमा आफैं ताला खोलेको छ।
तर, ताला खुले पनि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारसहितका पदाधिकारीहरू अझै कार्यकक्षमा प्रवेश गर्न नसकेको अवस्था छ । त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले माघ ११ गते प्रेस विज्ञप्ति जारी गर्दै १२ गते बिहान ८ बजेसम्म तालाबन्दी खोल्न आग्रह गरेको थियो ।
अखिल (क्रान्तिकारी) र केही विद्यार्थी संगठनले उक्त आग्रह अटेर गरेपछि विश्वविद्यालयले प्रहरी प्रशासनको सहयोगमा ताला खोलेको हो । ताला खोलिएको साँझ त्यसको विरोधमा अखिल (क्रान्तिकारी) ले मसाल जुलुस निकालेको थियो। हाल उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्ष अगाडि रिले अनशनसमेत सुरु गरिएको छ। यसका कारण त्रिविका पदाधिकारीहरू कार्यकक्षमा नआएको त्रिवि जनाएको छ ।
त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने, “ताला खोलिएको छ, तर पदाधिकारीज्यूहरू कार्यालयमा आउनु भएको देखिएको छैन।” त्रिवि पदाधिकारीहरूले अखिल (क्रान्तिकारी) का त्रिवि अध्यक्ष दिनेश ऐरबाट भौतिक आक्रमणको धम्की आएको गुनासो गरेका छन्। प्रहरीको सहयोगमा ताला खोलिएको विषयमा आपत्ति जनाउँदै अध्यक्ष ऐरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, “विद्यार्थी संगठन र आन्दोलनलाई जिस्काएर निहुँ खोजिएको हो? हेरौं, तिमीहरू विश्वविद्यालयमा कसरी छिर्छौ ।” अखिल (क्रान्तिकारी) र केही विद्यार्थीहरूले गत पुस १८ गतेदेखि चार केन्द्रीय विभागको शुल्क घटाउनुपर्ने तथा यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित तालाबन्दी गर्दै आएका छन्।
उनीहरूले त्रिविले चर्को शुल्क असुलेको आरोप लगाएका छन् । मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययनका चार केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउनुपर्ने उनीहरूको मुख्य माग छ। शुल्क नघटाइएपछि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालय रहेको त्रिवि केन्द्रीय कार्यालयमै तालाबन्दी गरिएको थियो ।
विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पहिले सहमति भइसकेका विषय कार्यान्वयन नगर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ। सहमतिअनुसार यसै शैक्षिक सत्रमा प्रथम सेमेस्टरको भर्नासँगै पठनपाठन नयाँ भवनमा सञ्चालन हुने गरी पुनः भर्नाको सूचना नखुलाएसम्म तालाबन्दी जारी रहनेछ ।”
आफ्ना माग पूरा नगरी त्रिविले एकलौटी रूपमा प्रहरी प्रशासन प्रयोग गरी ताला खोलेपछि रिले अनशन सुरु गरिएको अखिल (क्रान्तिकारी) का त्रिवि जिल्ला समितिका अध्यक्ष ऐरले बताए। माग पूरा नहुँदासम्म अनशन जारी रहने उनको भनाइ छ ।यसैबीच, सर्वोच्च अदालतले विश्वविद्यालयमा तालाबन्दी तथा अवरोध नगर्न यसअघि नै अन्तरिम आदेश जारी गरिसकेको छ। गत असारमा एक महिनाभन्दा बढी समयसम्म तालाबन्दी भइरहेपछि अधिवक्ता महेश भट्टराईद्वारा दायर रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरका नाममा तालाबन्दी नगर्न तथा ताला लगाइएको भए खोल्न–खोलाउन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशपछि तालाबन्दी गरिएको ताला खोलिएको भए पनि अदालतको आदेशविपरीत पुनः तालाबन्दीका गतिविधि जारी रहेको त्रिविको भनाइ छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।































