काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७२ वर्षको उमेर पुगे पनि आफू अझै केही वर्ष सक्रिय राजनीति गर्ने स्पष्ट पारेका छन्।
उमेरले भन्दा पनि इच्छाशक्ति र जिम्मेवारीले राजनीति अगाडि बढ्ने उल्लेख गर्दै उनले आफूमा अझै योगदान गर्ने जोश र ऊर्जा रहेको बताएका छन्।
काठमाडौंको सुकेधारामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले राजनीतिबाट निष्क्रिय हुने कुनै सोच नरहेको बताएका हुन्। उनले भने, “म ७२ वर्ष चलिराखेको छु, तर पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु। देश, परिवर्तन र जनताका लागि गर्नुपर्ने काम अझै बाँकी छन्।” कार्यक्रममा उपस्थित युवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले युवाहरूका लागि राजनीति र नेतृत्वका क्षेत्रमा प्रशस्त समय र अवसर रहेको उल्लेख गरे। “तपाईंहरू ४० वर्ष वरिपरिका युवाहरूका लागि त अझ धेरै समय छ। धैर्य गर्नुस्, अवसर अवश्य आउँछ,” उनले भने।
आगामी प्रतिनिधिसभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा नेकपाबाट असीम राई प्रत्यक्षतर्फका उम्मेदवार रहेका छन्। सो अवसरमा उम्मेदवार राईका लागि मत माग्दै प्रचण्डले सोलुखुम्बुलाई विगतमा पनि विशेष प्राथमिकतामा राखेको र आगामी दिनमा समेत निरन्तर ध्यान दिने प्रतिबद्धता जनाए। उनले सोलुखुम्बु भौगोलिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै विकास, पूर्वाधार र जनजीवन सुधारका सवालमा आफूले सधैं चासो राख्दै आएको दाबी गरे।
“विगतमा पनि सोलुखुम्बुलाई विशेष रुपमा हेरेका छौँ, भविष्यमा पनि हेर्छौँ,” उनले भने। प्रचण्डको अभिव्यक्तिलाई चुनावी माहोलमा अनुभव र निरन्तरताको सन्देशका रूपमा हेरिएको छ। पार्टी नेतृत्वमा उमेरभन्दा पनि राजनीतिक प्रतिबद्धता, अनुभव र जिम्मेवारी महत्वपूर्ण हुने उनको भनाइले कार्यकर्तामा उत्साह थपिएको देखिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।



































