चुनाव हुने टुंगो छैन : केपी ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने–नहुने विषय नै अझै अनिश्चित रहेको टिप्पणी गरेका छन्। वर्तमान सरकार निर्वाचन गराउनेतर्फ गम्भीर नरहेको आरोप लगाउँदै उनले घोषित मितिमै चुनाव सम्पन्न हुनेमा शंका व्यक्त गरेका हुन् ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनको मिति घोषणा गरे पनि व्यवहारिक तयारी नदेखिएको बताए। उनले विशेषगरी उच्च हिमाली तथा पहाडी क्षेत्रको अवस्थालाई उदाहरण दिँदै फागुन २१ गतेको मिति ती क्षेत्रमा निर्वाचनका लागि उपयुक्त नभएको दाबी गरे।

अध्यक्ष ओलीका अनुसार शहरी क्षेत्रमा जस्तो निर्वाचनको प्रभाव हिमाली र पहाडी भेगमा नदेखिने अवस्था रहेको छ। ती क्षेत्रमा बसोबास गर्ने जनसंख्या न्यून हुँदै गएकाले राजनीतिक दल बलिया भए पनि मत खस्ने सम्भावना कमजोर रहेको उनले बताए। “अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दैछ, तर २१ गते चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा नै टुंगो छैन,” ओलीले भने, “हिमाली भेगमा मान्छे नै छैनन्।

यस्तो समयमा भोट हाल्न को जान्छ?” उनले मानिसको उपस्थिति नै नभएको स्थानमा मतदान केन्द्र राख्नुको औचित्यसमेत प्रश्न गरे। “चार हजार जनाले भोट हाल्नुपर्ने ठाउँमा चार जनाले भोट हालेर बाक्सा फिर्ता पठाएर के अर्थ हुन्छ?” भन्दै ओलीले जनसंख्या घटेका र मौसम प्रतिकूल रहेका बेला निर्वाचन गरिनु अव्यावहारिक रहेको दाबी गरे।

अध्यक्ष ओलीले राजनीतिक दलहरू बलियो रहेको क्षेत्रलाई समेत सरकारले बेवास्ता गरिरहेको आरोप लगाए। उनले सरकारको तयारी र कार्यशैलीले निष्पक्ष र प्रभावकारी निर्वाचनप्रति गम्भीरता नदेखिएको संकेत गर्ने बताए। उनका अनुसार यस्ता अवस्थाले निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठ्ने जोखिम रहेको छ।

ओलीको यो अभिव्यक्तिलाई निर्वाचनको मिति, तयारी र व्यवस्थापनलाई लिएर बढ्दो राजनीतिक असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। उनले सरकारलाई व्यवहारिकता र वास्तविक परिस्थितिलाई ध्यानमा राखेर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेका छन्।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।