एमालेले घोषणा पत्रमा केके समेट्दैछ ?

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

एमालेका उम्मेदवारहरूसँग आयोजित संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले घोषणा पत्र चाँडै सार्वजनिक गरिने जानकारी दिएका हुन्। कार्यक्रममा बोल्दै पोखरेलले आगामी निर्वाचनलाई लक्षित गरी तयार पारिँदै गरेको घोषणा पत्रमा राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको विषयलाई प्राथमिकतामा राखिने बताए।

“हामी अहिले घोषणा पत्रको तयारीमा छौं। चाँडै नै यसलाई सार्वजनिक गर्नेछौं,” उनले भने, “नेकपा एमालेले राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको सवाललाई विशेष महत्व दिनेछ। घोषणा पत्र केन्द्रमा पुग्दा यी विषयहरू मुख्य रूपमा समेटिएका हुनेछन्।” उनका अनुसार एमालेले सामाजिक सद्भाव कायम गर्ने विषयलाई पनि विशेष जोड दिनेछ। समाजमा एकता, सहकार्य र आपसी विश्वास बढाउने नीति पार्टीको प्रमुख प्राथमिकतामा रहने उनले बताए। साथै, विकास निर्माणसँग सम्बन्धित ठूला तथा साना आयोजना अघि बढाउने विषयमा पनि पार्टी केन्द्रित रहने उनको भनाइ थियो।

पोखरेलले सुशासनलाई पार्टीको मुख्य एजेन्डाका रूपमा अघि सारिने जानकारी दिँदै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता क्षेत्रलाई घोषणा पत्रमा समेटिने बताए। “सुशासनसँग जोडिएका विषयहरू, भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत क्षेत्रलाई हामीले घोषणापत्रमा प्राथमिकताका साथ समेट्नेछौं,” उनले स्पष्ट पारे। उनले संविधान संशोधनका विषय पनि घोषणापत्रमा समावेश गरिने उल्लेख गरे। बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सुधारका विषयमा पार्टीले स्पष्ट धारणा प्रस्तुत गर्ने उनको भनाइ थियो। “संविधान संशोधनका विषयमा पनि हामी बोल्छौं। यसपटकको घोषणा पत्रमा हामीलाई पृथक ढंगले प्रस्तुत भएको पाउनुहुनेछ,” उनले भने।

पोखरेलले यसपटकको घोषणा पत्र अघिल्ला घोषणाभन्दा फरक, व्यावहारिक र कार्यान्वयनमुखी हुने दाबी गरे। कुन काम कहिले, कसरी र कुन निकायमार्फत गरिने हो भन्ने विषयलाई स्पष्ट रूपमा उल्लेख गरिने उनले बताए। “कुन काम, कति बेला, कसरी गर्छौं भन्ने कुरा खुलाएर घोषणा पत्र लिएर आउनेछौं,” उनको भनाइ थियो। कार्यक्रममा सहभागी उम्मेदवारहरूलाई लक्षित गर्दै उनले घोषणापत्रलाई जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन आग्रह गरे।

जनताको आवश्यकता, अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार पार्टीले आगामी निर्वाचनमार्फत स्थिर सरकार, समृद्ध अर्थतन्त्र र सशक्त राष्ट्रिय पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि घोषणापत्रलाई मार्गदर्शनका रूपमा प्रयोग गरिने र कार्यान्वयनमा विशेष ध्यान दिइने उनले बताए। एमाले नेतृत्वको पछिल्लो भनाइपछि पार्टीको चुनावी तयारी तीव्र गतिमा अघि बढिरहेको संकेत मिलेको छ। अब केही दिनमै सार्वजनिक हुने घोषणा पत्रले पार्टीको आगामी नीति, कार्यक्रम र दृष्टिकोण स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।