काठमाडौं । नेपाल हक्की संघ को आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबार (फागुन ४)देखि सुरु हुने भएको छ। संघले काठमाडौंमा एक कार्यक्रम गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगिता फागुन ११ गतेसम्म सञ्चालन हुनेछ।
संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगिताको पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेशका साथै नेपाल पुलिस क्लब गरी ६ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीका आधारमा खेल खेलाइनेछ। समूह चरणपछि उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्।
महिलातर्फ भने गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेश गरी ५ टोली सहभागी हुनेछन्। महिलातर्फको खेल राउन्ड रोविन लिग प्रणालीमा सञ्चालन गरिनेछ, जसअन्तर्गत सबै टोलीले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि फाइनल खेलमा आमनेसामने हुनेछन्।
प्रतियोगितामा दुवै समूहका शीर्ष तीन स्थानमा रहने टोलीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए। त्यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
महासचिव श्रेष्ठले यस प्रतियोगिताबाट राष्ट्रिय हक्की टोली छनोट गरिने र आगामी प्रशिक्षणका लागि आवश्यक व्यवस्थापन गरिने बताइन्। उनका अनुसार हक्की खेलको विकासलाई ग्रासरुट तहबाटै सशक्त बनाउन संघ विद्यालयस्तरमा हक्की विस्तार अभियान सञ्चालन गर्न सक्रिय रहेको छ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा सञ्चालन हुनेछन्। हक्की संघकै आयोजनामा दशरथ रंगशालामा पहिलोपटक हक्की प्रतियोगिता हुन लागेको हो, जसलाई नेपाली हक्की इतिहासमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। प्रतियोगिताले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै राष्ट्रिय टोली निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।
































