टिकटकले आफ्नो तथ्यांक संकलनको साम्राज्य विस्तार गरिरहेको छ । यो एपबाट टाढा रहँदा मात्रै पनि तपाईँ सुरक्षित हुनुहुने छैन तर केही सजिला कदमहरूले तपाईँलाई सुरक्षित राख्न सक्छन् ।
तपाईँले टिकटकको एपमा के–के गर्नुहुन्छ, त्यसको सबै रेकर्ड टिकटकले राख्छ, यसमा कुनै अचम्मको कुरा छैन । तर कम स्पष्ट कुरा के छ भने यो कम्पनीले इन्टरनेटका अन्य भागहरूमा पनि तपाईँलाई कसरी पछ्याउँछ, जसको टिकटकसँग कुनै सम्बन्ध नै छैन ।
वास्तवमा टिकटकले तपाईँको बारेमा संवेदनशील र सम्भावित रूपमा लज्जास्पद जानकारीहरू संकलन गर्दछ, भलै तपाईँले कहिल्यै यो एप प्रयोग नगरेको किन नहोस् । पछिल्लो साता मैले विभिन्न वेबसाइटहरूले क्यान्सरको पहिचान, प्रजनन् क्षमता र मानसिक स्वास्थ्य संकटका बारेमा टिकटकलाई तथ्यांक पठाइरहेको हेरिरहेको छु । यो एउटा ट्रयाकिङ साम्राज्यको हिस्सा हो, जुन यो सामाजिक सञ्जाल प्लेटफर्मभन्दा धेरै टाढासम्म फैलिएको छ । अब टिकटक आफ्नो नेटवर्क विस्तार गर्न र तपाईँको जीवनका अझ बढी विवरणहरू हेर्नका लागि तयार भएर बसेको छ ।
यो परिवर्तन टिकटकको अमेरिकी सञ्चालनलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सम्बन्ध भएका कम्पनीहरूको समूहलाई बिक्री गरेको केही हप्तापछि आएको हो । यो सम्झौताले केही मानवअधिकार विज्ञ र प्रयोगकर्ताहरूबाट गोपनीयताका बारेमा नयाँ चिन्ताहरू निम्त्याएको छ, यद्यपि टिकटक भन्छ कि तथ्यांकका लागि सरकारी अनुरोधहरूमा कसरी प्रतिक्रिया दिने भन्ने कुरामा पारदर्शी दिशानिर्देशहरू छन् ।
सौभाग्यवश, गोपनीयतामा एउटा सकारात्मक पक्ष पनि छ । करीब ५ मिनेटमा तपाईँले चाल्न सक्ने केही सजिला कदमहरूले तपाईँको जानकारी टिकटकको हातमा पुग्नबाट जोगाउन मद्दत गर्नेछ । यो समस्या टिकटकको ‘पिक्सेल’मा भएका ठूला परिवर्तनहरूको वरिपरि केन्द्रित छ, जुन एउटा यस्तो ट्रयाकिङ उपकरण हो, जसलाई कम्पनीहरूले तपाईँको अनलाइन व्यवहार निगरानी गर्न प्रयोग गर्छन् । मैले ‘डिस्कनेक्ट’ नामक साइबर सुरक्षा कम्पनीलाई यसको विश्लेषण गर्न लगाएको थिएँ । उनीहरूले फेला पारे कि अपडेट गरिएको टिकटक पिक्सेलले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा असामान्य तरिकाले जानकारी संकलन गर्दछ ।
‘यो अत्यन्तै आक्रामक छ,’ डिस्कनेक्टका मुख्य प्रविधि अधिकारी प्याट्रिक ज्याक्सन भन्छन्, ‘यो विस्तारित तथ्यांक साझेदारीलाई हेर्दा, जब तपाईँ वास्तविक पिक्सेल कोडको विश्लेषण गर्नुहुन्छ, तपाईँले त्यस्ता कुराहरू देख्नुहुन्छ, जुन साँच्चै खराब देखिन्छन् । जब मैले एउटा फारमको बटनमा क्लिक गरेँ, जहाँ भनिएको थियो कि म क्यान्सरको बिरामी हुँ वा बाँच्न सफल व्यक्ति हुँ, तब वेबसाइटले ती विवरणहरूसँगै मेरो इमेल ठेगाना पनि टिकटकलाई पठाइदियो ।’
टिकटक भन्छ कि उसका प्रयोगकर्ताहरूलाई केही मामिलाहरूमा गोपनीयता नीति र सूचनाहरूमार्फत यसको तथ्यांक अभ्यासहरूको बारेमा जानकारी दिइन्छ । कम्पनीले यो पनि भन्छ कि यसले मानिसहरूलाई नियन्त्रण लिनका लागि गोपनीयता सेटिङहरू दिन्छ ।
‘टिकटकले प्रयोगकर्ताहरूलाई यसको गोपनीयता अभ्यासहरूको बारेमा पारदर्शी जानकारीका साथ सशक्त बनाउँछ र उनीहरूलाई आफ्नो अनुभव अनुकूलित गर्न धेरै उपकरणहरू दिन्छ,’ टिकटकका प्रवक्ता भन्छन्, ‘विज्ञापन पिक्सेलहरू उद्योगको मापदण्ड हुन् र बीबीसी लगायत सामाजिक र सञ्चारमाध्यमका प्लेटफर्महरूमा व्यापक रूपमा प्रयोग गरिन्छन् ।’
तर धेरै मानिसहरूलाई महसूस नहुन सक्छ कि टिकटकले उनीहरूको बारेमा तथ्यांक राख्छ, भलै उनीहरूले कहिल्यै सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग नगरेका किन नहोऊन् ।
एउटा अदृश्य ट्रयाकर
ट्रयाकिङ पिक्सेलहरू कुनै नयाँ कुरा होइनन् । वर्षौँदेखि विज्ञापन नेटवर्कहरू चलाउने कम्पनीहरू गुगल, मेटा र सयौँ अन्य लगायतले मानिसहरूले वेबमा के गर्छन् भन्ने कुरा सुन्नका लागि यसको प्रयोग गर्दै आएका छन् । तिनीहरू तपाईँको स्क्रिनको एक पिक्सेल साइजको एउटा अदृश्य छवि हुन्, जुन वेबसाइटको ब्याकग्राउन्डमा लोड हुन्छन् र तथ्यांक संकलन गर्ने प्रविधिले भरिएका हुन्छन् । तिनीहरू जताततै छन् र तपाईँलाई निरन्तर हेरिरहेका छन् ।
यसले यसरी काम गर्छ ? टिकटकले उदाहरणका लागि कम्पनीहरूलाई वेबसाइटमा पिक्सेल राख्न प्रोत्साहित गर्छ, ताकि सामाजिक सञ्जालको विशाल कम्पनीलाई अझ बढी तथ्यांक संकलन गर्न मद्दत मिलोस् । मानौँ मेरो जुत्ताको अनलाइन पसल छ । यदि मैले पिक्सेल प्रयोग गरेँ भने यसले टिकटकलाई मेरा ग्राहकहरूको बारेमा धेरै तथ्यांक संकलन गर्न दिन्छ, ताकि उनीहरूलाई लक्षित विज्ञापनहरू देखाउन सकियोस् । साथै यसले टिकटकलाई पत्ता लगाउन मद्दत गर्छ कि ती जुत्ताका विज्ञापनहरू देख्ने मानिसहरूले अन्ततः खरिद गरे कि गरेनन् ? त्यसरी मलाई थाहा हुन्छ कि मैले पैसा तिरेका विज्ञापनहरूले काम गरिरहेका छन् र सायद म अझ बढी पैसा तिर्नेछु । (धेरैजसो समाचार संस्थाहरू जस्तैः बीबीसीले पनि एनालिटिक्स उपकरणहरू प्रयोग गर्दछ र हाम्रो गोपनीयता नीति अनुसार विज्ञापन साझेदारहरूसँग तथ्यांक साझा गर्दछ । बीबीसीले आफ्नो वेबसाइटमा टिकटक ट्रयाकिङ पिक्सेलहरू प्रयोग गर्दैन वा तेस्रो–पक्षीय साइटहरूमा विज्ञापन पिक्सेलहरू राख्दैन।)
जब यो जुत्ता पसलको तथ्यांक हुन्छ, जानकारी हानिकारक नहुन सक्छ । तर मैले वर्षौँदेखि टिकटकको तथ्यांक संकलनका बारेमा रिपोर्टिङ गरिरहेको छु र पिक्सेलले अत्यन्तै व्यक्तिगत जानकारी संकलन गर्न सक्छ ।
उदाहरणका लागि गत हप्ता मैले एउटा क्यान्सर सपोर्ट ग्रूपको वेबसाइट हेरेँ । डिस्कनेक्टका अनुसार जब मैले एउटा फारमको बटनमा क्लिक गरेँ, जहाँ भनिएको थियो कि म क्यान्सरको बिरामी हुँ वा बाँच्न सफल व्यक्ति हुँ, तब वेबसाइटले ती विवरणहरूसँगै मेरो इमेल ठेगाना पनि टिकटकलाई पठाइदियो । मैले प्रजनन् परीक्षणहरू हेर्दा एउटा महिला स्वास्थ्य कम्पनीले टिकटकलाई तथ्यांक पठायो । मैले एउटा क्राइसिस काउन्सिलर (संकट परामर्शदाता) खोजिरहेको छु भन्ने संकेत दिँदा एउटा मानसिक स्वास्थ्य संस्थाले टिकटकलाई ‘पिङ’ गर्यो । पिक्सेल प्रयोग गर्ने वेबसाइटहरूले हरेक आगन्तुकको बारेमा तथ्यांक पठाउँछन्, त्यसैले तपाईँको टिकटक खाता छैन भने पनि यसले फरक पार्दैन ।
टिकटकका प्रवक्ता भन्छन् कि अनिवार्य रूपमा यो टिकटकको जिम्मेवारी होइन । उनीहरू भन्छन् कि वेबसाइटहरूले गोपनीयता कानुनको पालना गर्नुपर्छ र उनीहरूको तथ्यांक अभ्यासहरूको बारेमा तपाईँलाई बताउनुपर्छ । टिकटक भन्छ कि वेबसाइटहरूलाई स्वास्थ्य डेटा जस्ता निश्चित प्रकारका संवेदनशील जानकारी साझा गर्न निषेध गरिएको छ र कम्पनी भन्छ कि यसले अनुपयुक्त कुरा साझा गर्ने वेबसाइटहरूलाई सचेत गराउन सक्रिय कदमहरू चाल्छ ।
यदि तपाईँ यी व्यक्तिगत वेबसाइटहरूको बारेमा चिन्तित हुनुहुन्छ भने तपाईँले मुख्य बुँदा छुटाइरहनुभएको छ । आलोचकहरू भन्छन् कि मुख्य समस्या यो हो कि टिकटक जस्ता ठूला प्रविधि कम्पनीहरूले तपाईँले अनलाइनमा गर्ने हरेक कुरालाई बढ्दो रूपमा पछ्याइरहेका छन् । प्राइभेसी कम्पनी ‘डकडकगो’का अनुसार टिकटकका ट्रयाकरहरू विश्वका शीर्ष वेबसाइटहरूमध्ये ५ प्रतिशतमा छन् । यो संख्या लगातार बढिरहेको छ, यद्यपि यो गूगल (जसका ट्रयाकरहरू लगभग ७२ प्रतिशत शीर्ष वेबसाइटहरूमा छन्) र मेटा (करीब २१ प्रतिशत) को तुलनामा केही पनि होइन ।
‘यो ठ्याक्कै त्यही खेल हो जुन गूगल र मेटाले वर्षौँदेखि प्रयोग गर्दै आएका छन्,’ डकडकगोका उत्पादन कार्यकारी निर्देशक पिटर डोलान्स्की भन्छन् । उनीहरूले थोरै मात्रामा तथ्यांक संकलन गर्न सुरु गरे र त्यसलाई एउटा साम्राज्यमा परिणत गरे, जसको तपाईँको दैनिक जीवनमा व्यापक पहुँच छ,’ उनी भन्छन्, ‘यी सबै तथ्यांकको अर्थ हुन सक्छ कि तपाईँले आफ्ना लागि अझ बढी अनुकूलित विज्ञापनहरू देख्नुहुन्छ, जुन तपाईँलाई मन पर्न सक्छ । तर यदि प्रविधि कम्पनीहरूले तपाईँको निगरानी नगरेका भए तपाईँको व्यक्तिगत जीवनका यी विस्तृत रेकर्डहरू अस्तित्वमा हुने थिएनन् र यसले तपाईँलाई सबै प्रकारका जोखिमहरूमा पुर्याउँछ । एल्गोरिदमहरूले यो तथ्यांकलाई तपाईँको शोषण गर्न प्रयोग गर्न सक्छन् । यसले तपाईँलाई केही किन्न बाध्य पार्न सक्छ, यो राजनीतिक अभियान हुन सक्छ वा यो मूल्यमा भेदभाव हुन सक्छ ।’
विज्ञापन तथ्यांकलाई नागरिक अधिकार उल्लंघनदेखि लिएर यौन भेदभावको आरोपसम्मका सबै प्रकारका हानिकारक उद्देश्यका लागि प्रयोग गरिएको छ ।
टिकटकको तथ्यांक साम्राज्य
टिकटकको पिक्सेल वर्षौँ पुरानो हो तर यो भर्खरै केही ठूला तरिकाहरूमा परिवर्तन भएको छ । २२ जनवरी २०२६ मा जब टिकटकको अमेरिकी सञ्चालन आधिकारिक रूपमा हस्तान्तरण भयो, प्रयोगकर्ताहरूले तथ्यांक संकलन अभ्यासहरूको नयाँ सेटमा सहमत हुनुपर्यो । यसमा नयाँ विज्ञापन नेटवर्क समावेश छ, जसलाई टिकटकले अन्य मानिसहरूको वेबसाइटमा लक्षित विज्ञापनहरू देखाउन प्रयोग गर्नेछ । त्यो नयाँ विज्ञापन प्रणालीलाई सहज बनाउन टिकटकले आफ्नो पिक्सेल अपडेट गर्यो ।
विगतमा टिकटकको पिक्सेलले मुख्यतया कम्पनीहरूलाई उनीहरूको विज्ञापनले एपभित्रै बिक्री गरिरहेको छ कि छैन भनेर मात्र बताउँथ्यो । अब पिक्सेलले कम्पनीहरूलाई ती प्रयोगकर्ताहरूलाई पछ्याउन मद्दत गर्नेछ, जसले टिकटक छोडेपछि विज्ञापन देख्छन् र अन्यत्र खरिद गर्छन् ।
डिजिटल विज्ञापन निगरानी समूह ‘चेक माई एडस्’की प्रमुख परिचालन अधिकारी एरियल गार्सियाका अनुसार यसको अर्थ सम्भवतः अझ बढी कम्पनीहरूले टिकटकका विज्ञापनहरू किन्नेछन् र पिक्सेल अझ बढी ठाउँहरूमा देखापर्नेछ । अर्को शब्दमा टिकटकको ट्रयाकिङ साम्राज्य विस्तार हुन लागेको छ । ‘यी उपकरणहरूले स्वाभाविक रूपमा प्लेटफर्मलाई विज्ञापनदाताहरूका लागि अझ बढी आकर्षक बनाउँछन्, जुन अन्ततः विज्ञापन प्लेटफर्महरू कसरी बढ्छन् भन्ने कुरा हो,’ गार्सिया भन्छिन् ।
‘डिस्कनेक्ट’ले फेला पारेअनुसार टिकटकको पिक्सेलले अब पहिलेभन्दा धेरै जानकारी संकलन गर्दछ, जसले वेबसाइटहरूले गूगललाई पठाइरहेको तथ्यांकलाई स्वचालित रूपमा बिचैमा तान्दछ । विज्ञहरूले बीबीसीलाई बताएका छन् कि यो असामान्य रूपमा आक्रामक छ । ‘उनीहरूले साइट मालिकले स्पष्ट रूपमा टिकटकसँग त्यो जानकारी साझा नगरिकनै चुपचाप त्यो तथ्यांक कब्जा गरिरहेका छन्,’ ज्याक्सन भन्छन् । यसको अर्थ वेबसाइटहरूले अन्जानमै टिकटकलाई उनीहरूले चाहेकोभन्दा अझ बढी तथ्यांक पठाइरहेका हुन सक्छन् ।
टिकटक असहमत छ । एक प्रवक्ता भन्छन् कि पिक्सेलले कुन तथ्यांक संकलन गर्छ भन्ने कुरामा टिकटक स्पष्ट छ र यदि कम्पनीहरूले टिकटकले गूगललाई पठाएको कुरा हेरोस् भन्ने चाहँदैनन् भने उनीहरूले आफ्ना वेबसाइटहरू फरक तरिकाले सेटअप गर्न सक्छन् ।
टिकटकसँग केही गोपनीयता नियन्त्रणहरू पनि छन्, जुन तपाईँले प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्ताहरूले एपको सेटिङ प्रयोग गरेर टिकटकले पिक्सेलमार्फत संकलन गरेको तथ्यांक ‘क्लीयर’ (मेट्न) गर्न सक्छन् । खाता नभएका मानिसहरूले टिकटकलाई आफ्नो बारेमा भएको कुनै पनि तथ्यांक हटाउन भन्न सक्छन् ।
तर यदि तपाईँ तथ्यांक संकलन हुनुभन्दा पहिले नै त्यसलाई रोक्न चाहनुहुन्छ भने तपाईँलाई थप कदमहरू आवश्यक पर्दछ ।
आफ्नो रक्षा कसरी गर्ने ?
यहाँ राम्रो समाचार र नराम्रो समाचार दुवै छन् । उत्साहजनक कुराबाट सुरु गरौँ । सबैभन्दा राम्रो विकल्प ? अझ बढी निजी वेब ब्राउजर प्रयोग गर्नुहोस् । मलाई थाहा छ ब्राउजर बदल्नु झन्झट जस्तो लाग्न सक्छ तर तपाईँका बूकमार्कहरू आयात गर्न सजिलो छ, प्रयास गर्नुहोस् । लगभग ७१ प्रतिशत मानिसहरू गूगल क्रोम प्रयोग गर्छन्, जुन प्रारम्भिक शैक्षिक अनुसन्धानमा धेरै प्रतिस्पर्धीहरूभन्दा बढी जानकारी चुहावट गर्ने फेला परेको छ । गोपनीयता विज्ञहरू प्रायः ‘डकडकगो ब्राउजर’ र ‘ब्रेभ’ सिफारिस गर्छन्, जुन विशेषगरी तथ्यांक सुरक्षित राख्नका लागि बनाइएका हुन् । फायरफक्स र सफारीलाई क्रोमभन्दा राम्रो विकल्प मानिन्छ, यद्यपि तिनीहरू पूर्वनिर्धारित रूपमा गोपनीयताको बारेमा कम कडा हुन्छन् ।
यदि ब्राउजर बदल्न धेरै गाह्रो लाग्छ भने यी ट्रयाकरहरूलाई ब्लक गर्ने ब्राउजर एक्स्टेन्सन इन्स्टल गर्नुहोस् । मैले डिस्कनेक्ट र डकडकगोलाई यस लेखमा मद्दत गर्न भनेको थिएँ, किनकि उनीहरू दुवैले ट्रयाकर ब्लकरहरू बनाउँछन्, तर अन्य विकल्पहरू पनि छन्, जसमा ‘प्राइभेसी ब्याजर’ र ‘घोस्टरी’ सामेल छन् । केही विज्ञापन ब्लकरहरूले पनि केही तथ्यांक संकलन रोक्छन्, जसमा ‘एडब्लक प्लस’ र ‘युब्लक ओरिजिन’ सामेल छन् । डकडकगोसँग कुन विज्ञापन ब्लकरले सबैभन्दा राम्रो काम गर्छ भन्ने तुलनात्मक चार्ट छ । केवल प्रतिष्ठित स्रोतहरूले सिफारिस नगरेका ब्राउजर एक्स्टेन्सनहरू इन्स्टल नगर्नुहोस्, यो ठ्याक्कै एप इन्स्टल गरे जस्तै हो । केही शंकास्पद हुन सक्छन् ।
अब नराम्रो समाचार । यी २ कदमहरू पछ्याउनाले टिकटक पिक्सेल र अन्य धेरै गोपनीयता आक्रमणहरूलाई रोक्नेछ । तर म तपाईँका तथ्यांक समस्याहरू समाधान भए भनेर बहाना गर्ने छैन ।
कम्पनीहरूले टिकटक, गूगल, मेटा र अन्य विज्ञापन कम्पनीहरूसँग तथ्यांक साझा गर्ने धेरै अन्य तरिकाहरू छन् । कम्पनीहरूले तपाईँको बारेमा तथ्यांक संकलन गर्छन् र यसलाई उनीहरूको आफ्नै सर्भरबाट सिधै प्रविधि दिग्गजहरूलाई पठाउँछन् । ‘यो एउटा ब्ल्याक बक्स हो, म तपाईँलाई भन्न सक्दिनँ कि यो कतिपटक प्रयोग गरिन्छ किनकि यो सबै पर्दा पछाडि हुन्छ,’ डोलान्स्की भन्छन्, ‘त्यसबाट आफूलाई जोगाउन धेरै गाह्रो छ । तपाईँको वास्तविक सुरक्षा भनेको विभिन्न सेवाहरूमा एउटै व्यक्तिगत जानकारी प्रयोग नगर्नु हो, ताकि तपाईँले इन्टरनेटका विभिन्न भागहरूमा के गर्नुहुन्छ भन्ने कुरा मिलाउन गाह्रो होस् ।’
वास्तविक समाधान अझ राम्रो गोपनीयता कानुन हो, ‘चेक माई एडस्’की गार्सिया भन्छिन्, ‘यो समस्या एउटा प्लेटफर्ममा मात्र सीमित छैन । यो एक व्यापक विज्ञापन प्रविधि इकोसिस्टमको समस्या हो, जसलाई अन्ततः कडा नियमनमार्फत सम्बोधन गर्न आवश्यक छ । यसलाई साँच्चै परिवर्तन गर्ने एउटै कुरा भनेको तब हो जब मानिसहरूले कानुन निर्माताहरूसँग आफ्नो आवाज बुलन्द गर्छन् र यो स्पष्ट पार्छन् कि गोपनीयता वास्तवमा उनीहरूले चासो राख्ने कुरा हो ।’
(बीबीसीबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































