गण्डकी । निर्वाचन आउन पाँच दिन बाँकी रहँदा गण्डकी प्रदेशअन्तर्गत हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा चिसोका कारण निर्वाचन प्रभावित बन्न सक्ने आशङ्का रहे पनि ती क्षेत्रमा निर्वाचन सहज रूपमा हुने देखिएको छ।
हिमपातका कारण केही स्थानमा मतदान केन्द्र सानुपर्ने भए पनि पछिल्ला समयमा मौसम न्यानो हुँदै गएकाले सम्बन्धित मतदान केन्द्रमा मतदान गर्नेगरी सहमति भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए।
‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको चार हजार ४०० मिटर उचाइ पार गरेर जानुपर्ने शाङ्ता गाउँ र चार हजार २०० मिटर उचाइमा रहेको मनाङको नार्पा भूमि गाउँपालिकाका नार र फू गाउँमा हिमपातका कारण मतदान केन्द्र सानुपर्ने देखिएको थियो’, उनले भने, ‘हाल मौसम न्यानो हुँदै गएकाले बाटो खुलाएर सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने सहमति भएको छ ।’
उनका अनुसार गण्डकी प्रदेशमा तीन हजार मिटरभन्दा बढी उचाइ माथिका मतदान केन्द्र ५४ वटा छन् । तीमध्ये मुस्ताङमा २४, गोरखामा १५, मनाङमा १४ र म्याग्दीमा एउटा मतदान केन्द्र रहेका ढकालले जानकारी दिए। तीन हजार मिटरभन्दा माथि उचाइका मतदान केन्द्रमा खटिने कर्मचारीका लागि लागि आवश्यक पर्न सक्ने औषधीहरूको समेत तयारी गरिएको ढकालले बताए। गण्डकी प्रदेश हिमाल र पहाड तराई तीनै किसिमका भूभाग समेटिएको क्षेत्र हो । यहाँ हिमाल पारिका जिल्ला मनाङ, मुस्ताङसहित पहाडी जिल्ला कास्की, स्याङ्जा हुँदै तराईको जिल्ला नवलपुर समेटिएको छ।
१८ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा ३० जना स्वतन्त्र उम्मेदवारसहित २३४ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये २०५ पुरुष र २९ जना महिला उम्मेदवार छन् । प्रदेशमा सबैभन्दा बढी १८ दलले कास्कीमा उम्मेदवारी दर्ता गरेका छन् भने मनाङमा तीन दलले मात्र उम्मेदवारी दर्ता गरेको उनले बताए ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेकामा पुरुषको सङ्ख्या नौ लाख १४ हजार ८००, महिलाको सङ्ख्या नौ लाख ५५ हजार २५१ र अन्य १४ जना रहेका छन्। प्रदेशमा निर्वाचनका लागि एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा १४ हजार ३५० जना कर्मचारी र सात हजार ६५ जना स्वयंसेवक खटिने ढकालले जानकारी दिए। निर्वाचनका लागि प्रदेशका सबै जिल्लामा तयारी तीव्र रूपमा अघि बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशको राजधानी रहेको कास्की जिल्लामा निर्वाचनका सबै किसिमका तयारीलाई तीव्ररूपमा अघि बढाइएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिए।
जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमध्ये ४४ पुरुष र पाँच महिला उम्मेदवार रहनुभएको छ । जिल्लामा तीन लाख आठ हजार ५७२ मतदाता छन्। जिल्लामा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ ।



































