कता जाँदैछ अमेरिका, इजरायल र इरान युद्ध ?

अमेरिका, इजरायल र इरानबिच सुरु भएको नयाँ युद्धलाई हप्तादिन पुगेको छ । इरानले अमेरिकाका निकट सहयोगी रहेका खाडी पारीका आफ्ना छिमेकी अरब देशहरूमाथि आक्रमण गर्ने निर्णय गरेसँगै युद्ध पूरै क्षेत्रमा फैलिसकेको छ ।

बेलायतले आफ्नो अडान परिवर्तन गर्दै अमेरिकालाई आफ्ना सैन्य अखडाहरू प्रयोग गर्ने अनुमति दिएको छ । युद्ध लगातार भड्किरहेको छ र एकपछि अर्को ‘न्यूज अलर्ट’ आइरहेका छन् । अमेरिकाले हिन्द महासागरमा इरानको एउटा युद्धपोत डुबाइदिएको छ, जसमा सयभन्दा बढी मानिसको ज्यान गएको छ । सायद जबसम्म मैले लेख लेखेर पूरा गर्नेछु, तबसम्म थप मिसाइलहरू प्रहार भइसकेका हुनेछन् र सम्भव छ कि केही मानिसहरू, जो यो समयमा जीवित छन्, त्यतिबेलासम्म मारिइसकेका हुनेछन् ।

युद्ध कहिले र कसरी समाप्त हुन्छ ? यसको अहिल्यै अनुमान लगाउनु हतारो हुनेछ । युद्ध एकपटक सुरु भएपछि त्यसलाई नियन्त्रणमा राख्न कठिन हुन्छ । तैपनि युद्धरत देशहरू यो युद्ध कसरी अन्त्य भएको हेर्न चाहन्छन्, त्यसका केही तरिकाहरू यी हुन सक्छन्‌ः

ट्रम्पको नजरमा जीत

राष्ट्रपति ट्रम्पले जब फ्लोरिडास्थित आफ्नो ‘मार–ए–लागो’ निवासबाट जारी एक भिडियो सन्देशमा युद्ध सुरु भएको घोषणा गरे, तब उनी अमेरिकी शक्तिमाथि पूर्ण भरोसा देखाउँदै गरेको अवस्थामा देखिए । अरु कुनै राष्ट्रपति हुन्थे भने सायद वासिङ्टनमा ओभल अफिसको ‘रिजोल्युट डेस्क’ पछाडिबाट गम्भीर शैलीमा राष्ट्रलाई सम्बोधन गर्थे । तर ट्रम्पले खुला घाँटी भएको सर्ट लगाएका थिए र सेतो बेसबाल क्याप आँखासम्म झुकेको थियो ।

उनले इरानविरुद्ध एक लामो आरोप–पत्र पढे र तर्क गरे कि सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै इरान अमेरिकाका लागि एक ‘सिधा खतरा’ बनेको छ । ट्रम्पले जुनसुकै बेला आफ्नो निर्णय बदल्न सक्छन् तर त्यो भाषणमा उनले आफ्नो नजरमा जीतको परिभाषा प्रष्ट पारे । यो एक प्रकारको चेकलिस्ट जस्तै थियोः ‘हामी उनीहरूका मिसाइलहरूलाई ध्वस्त पारिदिनेछौँ र उनीहरूको मिसाइल उद्योगलाई पूर्ण रूपमा नष्ट गरिदिनेछौँ । यो फेरि पूर्ण रूपमा मेटाइनेछ । हामी उनीहरूको नौसेनालाई पनि समाप्त गरिदिनेछौँ । हामी यो सुनिश्चित गर्नेछौँ कि इलाकामा रहेका उनीहरूका आतंकी एजेन्टहरूले अब क्षेत्र वा संसारलाई थप अस्थिर बनाउन नसकून्, हाम्रा सैनिकहरूमाथि आक्रमण गर्न नसकून् र आफ्ना आईईडी वा जसलाई कहिलेकाहीँ सडक किनारका बम भनिन्छ, ती प्रयोग गरेर हजारौँ मानिसहरू, जसमा धेरै अमेरिकीहरू पनि छन्, उनीहरूलाई गम्भीर घाइते बनाउन वा मार्न नसकून् ।’

ट्रम्पले दाबी गरे कि इरानले यस्ता मिसाइलहरू बनाउँदैछ, जुन अमेरिकासम्म पुग्न सक्छन्, जबकि अमेरिकी गुप्तचर एजेन्सीहरूको आकलन अनुसार त्यस्तो छैन । उनले यो पनि दाबी गरे कि इरान परमाणु हतियार बनाउने निकै नजिक छ, जुन उनको आफ्नै गत ग्रीष्मकालको बयानको विपरीत हो, जसमा उनले भनेका थिए कि अमेरिकाले इरानका परमाणु केन्द्रहरूलाई मेटाइदिएको छ ।

ट्रम्पको विश्वास छ कि अमेरिकाले इजरायलसँग मिलेर तेहरानको सरकारलाई कमजोर बनाउन सक्छ । यदि इरानी शासन हतियार बिसाउन तयार भएन उसलाई यसरी तोड्न सकिन्छ कि इरानी जनतासँग दशकौँमा पहिलोपटक सडकमा उत्रिएर सत्ता सम्हाल्ने मौका हुनेछ ।

केवल हवाई शक्तिको भरमा कुनै शासन बदलिदिने वा कुनै बलियो र हतियारधारी शत्रुलाई हराइदिने कुनै उदाहरण भेटिँदैन । सन् २००३ मा अमेरिका र उसका सहयोगीहरूले सद्दाम हुसेनलाई हटाउन इराकमा ठूलो स्थल सेना पठाएका थिए । जसमा बेलायत पनि सामेल थियो । सन् २०११ मा लिबियाका कर्णेल मुअम्मर गद्दाफीलाई विद्रोहीहरूले नेटो र खाडी देशहरूले दिएका हतियार र उनीहरूको हवाई सुरक्षाको मद्दतले सत्ताबाट हटाएका थिए । ट्रम्पले आशा गरिरहेका छन् कि इरानका मानिसहरूले यो काम आफैँ गर्नेछन् ।

ट्रम्पको योजना एउटा ठूलो दाउ हो । सिर्फ बमबारीको माध्यमबाट सत्ता परिवर्तन गरिदिनु निकै गाह्रो छ । के भित्रबाट कुनै पश्चिम–समर्थक तख्तापलट हुन सक्छ ? असम्भव त छैन तर युद्धको पाँचौँ दिनको अवस्था हेर्दा निकै कम सम्भावना भएको विकल्प देखिन्छ । धेरै सम्भावना यही छ कि जो मानिसहरू अहिले इरानी शासन चलाइरहेका छन्, उनीहरू आफ्नो विचारधाराबाट ऊर्जा लिँदै अझै जमेर लड्नेछन्, अझ धेरै मिसाइल प्रहार गर्नेछन्, उनीहरू अमेरिका, इजरायल वा खाडीका अरब देशहरूभन्दा धेरै पीडा सहन सक्छन् । यो पीडाको सबैभन्दा ठूलो हिस्सा त पहिलेदेखि नै हैरान भएका इरानी जनताले नै भोग्नुपर्नेछ ।

नेतान्याहूको गणित

डोनाल्ड ट्रम्प जस्तै इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहूले पनि बयान दिएका छन् कि इरानी जनता आफैँ अगाडि बढेर परिस्थिति आफ्नो हातमा लिऊन् । तर यदि उनीहरू इरानको निर्मम सुरक्षा संयन्त्रलाई हराउन सकेनन् भने नेतान्याहूको पहिलो प्राथमिकता इरानको सैन्य क्षमतालाई तोड्नु र उसको त्यो शक्ति समाप्त पार्नु हुनेछ, जसको आडमा उसले पूरा क्षेत्रमा यस्ता लडाकु मिलिसिया खडा गर्न सक्छ, जसले इजरायललाई खतरा पुर्‍याउन सक्छन् ।

दशकौँदेखि बिन्यामिन नेतान्याहू इरानलाई इजरायलको सबैभन्दा खतरनाक शत्रु मान्दै आएका छन् । इस्लामिक रिपब्लिकको सत्ता चलाउने नेताहरू परमाणु हतियार यसकारण बनाउन चाहन्छन्, ताकि यहुदी राज्यलाई नामेट पार्न सकून् ।

हरेक युद्धको एउटा घरेलु राजनीतिक पक्ष पनि हुन्छ । ट्रम्प जस्तै नेतान्याहूले पनि यसै वर्षको अन्त्यमा चुनावको सामना गर्नु छ । तर ट्रम्पको विपरीत नेतान्याहूको आफ्नै कुर्सी दाउमा लागेको छ । धेरै इजरायलीहरू ७ अक्टोबर २०२३ मा हमासलाई आक्रमणको मौका दिने सुरक्षा कमजोरीका लागि नेतान्याहूलाई जिम्मेवार मान्छन् । यदि उनले इरानविरुद्ध निर्णायक जीत हासिल गरेको दाबी गर्न सके भने उनी राजनीतिक रूपमा निकै ठूलो अग्रता हासिल गर्नेछन् । सायद त्यसपछि उनलाई हराउन लगभग असम्भव हुनेछ ।

बच्नु नै जीत हो

सर्वोच्च नेता र उनका शीर्ष सैन्य सल्लाहकारहरूको हत्या इरानी शासनका लागि एक ठूलो धक्का थियो । तर यो जरुरी छैन कि यसले शासन नै ढल्नेछ । करीब ५० वर्ष पहिले आयतुल्ला रुहोल्लाह खोमेनी र इस्लामी गणतन्त्रका अन्य संस्थापकहरूले यसका संस्थाहरूलाई युद्ध र हत्याबाट बच्न सक्ने गरी बनाएका थिए । इरानको शासन व्यवस्था कुनै एक व्यक्तिमा निर्भर छैन ।

सिरिया र लिबियामा असद र गद्दाफीको शासन परिवारमा टिकेको थियो । जस्तै परिवारलाई हटाइयो, गद्दाफीको हत्या भयो र बशर अल असद भागे, शासन छिन्नभिन्न भयो । तर इरानको शासन एक राज्य व्यवस्था हो, जो राजनीतिक र धार्मिक संस्थाहरूको बलियो नेटवर्कमा खडा छ, जसका जिम्मेवारीहरू आपसमा जोडिएका छन् । यो व्यवस्था युद्ध र हत्याका बाबजुद टिकिरहनकै लागि बनाइएको हो ।

यसको अर्थ यो होइन कि यो टिकिरहने नै छ । इस्लामिक रिपब्लिकको व्यवस्था आफ्नो सबैभन्दा कठिन परीक्षाबाट गुज्रिरहेको छ । तर उसले यो क्षणका लागि तयारी गरिरहेको थियो । शासनका लागि जीतको परिभाषा एउटै छ, बचेर रहनु । यसलाई हासिल गर्नका लागि उसले आफ्नो चारैतिर जबरजस्त सुरक्षा व्यवस्था खडा गरेको छ ।

उसँग एक अत्यन्त शक्तिशाली र निर्मम सुरक्षा संयन्त्र छ, जो दमन र बल प्रयोगमा आधारित छ । जनवरीमा हजारौँ प्रदर्शनकारीहरूको हत्याको आदेश पालना गर्न यसका मानिसहरू सडकमा उत्रिएका थिए । अहिलेसम्म कुनै संकेत मिलेको छैन कि शासनको सशस्त्र सेना कमजोर भइरहेको छ, जसरी डिसेम्बर २०२४ मा असद मस्को भागेपछि उनको सेना छिन्नभिन्न भएको थियो । यद्यपि इजरायल र अमेरिकाले इरानमा आक्रमण अझ तीव्र पारेका छन् । अमेरिकाले इरानका २ हजारभन्दा बढी स्थानमा हमला गरेको दाबी गरेको छ ।

परम्परागत सेना र भारी हतियारयुक्त प्रहरीबाहेक ‘इस्लामिक रिभोलुसनरी गाड्र्स कोर’ (आईआरजीसी) पनि छ, जसको लक्ष्य स्पष्ट छ, उसले देशभित्र र बाहिर शासनको रक्षा गर्नुपर्छ । ‘विलायत–ए–फकीह’ अर्थात् ‘धार्मिक नेताको संरक्षण’ पछाडिको असली शक्ति यही हो । यो इरानको इस्लामी क्रान्तिको मुख्य सिद्धान्त हो र यसले शिया धार्मिक नेतृत्वको शासनलाई जायज ठहर्‍याउँछ ।

मानिन्छ कि आईआरजीसीका करीब १ लाख ९० हजार सक्रिय सदस्य छन् र ६ लाखसम्म रिजर्भमा छन् । धार्मिक विचारधाराबाहेक इरानको अर्थतन्त्रको ठूलो हिस्सामा नियन्त्रण पनि छ । त्यसैले उसका नेताहरूसँग बफादार रहन आर्थिक र वैचारिक दुवै कारण छन् ।

आईआरजीसीको मद्दतका लागि एक स्वयंसेवी अर्धसैनिक बल ‘बसिज’ छ । यसका अनुमानित ४ लाख ५० हजार सदस्यहरू शासनप्रति बफादारी र दबाबका लागि कुख्यात छन् ।

डोनाल्ड ट्रम्पले आईआरजीसी र बसिजलाई धम्की दिएका छन् कि उनीहरूको मृत्यु निश्चित छ । उनले भनेका छन् कि यदि उनीहरूले हतियार बिसाएनन् भने परिणाम राम्रो हुने छैन । तर उनका यी धम्कीपूर्ण बयानले शासनको सशस्त्र बलको मन परिवर्तन हुने सम्भावना निकै कम छ । इस्लामिक रिपब्लिक र शिया इस्लाम दुवैमा शहादतको विचार निकै गहिरो गरी बसेको छ । जब आईतबार कैयौ घण्टासम्म सर्वोच्च नेता सुरक्षित रहेको आधिकारिक दाबी गरिँदै थियो, तब राज्य टेलिभिजनमा रुँदै गरेका समाचार वाचकले खमेनीको मृत्युको घोषणा यसरी गरे कि उनले ‘शहादतको मीठो र पवित्र घुट पिएका छन्‌’ ।

इरानका केही विश्लेषकहरू मान्छन् कि जब विश्वको ठूलो हिस्साले हमला हुने अनुमान गरिरहेको थियो, तब आयतुल्लाले तेहरानस्थित आफ्नो परिसरमा वरिष्ठ सल्लाहकारहरूसँग बैठक यसकारण गरे किनभने उनी आफैँ शहादत चाहन्थे । शासनसँग नागरिक बफादारहरूको पनि एक बलियो आधार छ । सर्वोच्च नेताको हत्यापछि ४० दिनको शोकको पहिलो दिन हजारौँ मानिस तेहरानको सडकमा उत्रिए । भलै अमेरिकी र इजरायली हवाई हमलाबाट निस्किएको धुवाँ उनीहरूको पछाडि देखिन्थ्यो, उनीहरू मैनबत्ती र मोबाइलको फ्ल्यास बालेर सार्वजनिक स्थानमा भेला भए ।

इरान एक ठूलो देश हो, ९ करोडभन्दा बढी बहुजातीय जनसंख्या भएको । यदि इरानको सत्ता वा सरकार ढल्यो भने एक डरलाग्दो दृश्य उत्पन्न हुन सक्छ, जो अराजकता र रक्तपातले भरिएको हुनेछ ।

अमेरिका र इजरायलको सैन्य कारबाहीले इरानको सैन्य क्षमतालाई चकनाचूर पारिरहेको छ । यदि इरानी शासन बच्यो भने पनि यसले मध्य पूर्वको सन्तुलन बदलिदिनेछ । धेरै मानिसहरू, सम्भवतः धेरैजसो इरानीहरू यो शासन ढलेकोमा खुसी हुनेछन् । तर जब कुनै शासनलाई शक्ति प्रयोग गरेर हटाइन्छ, त्यसपछि एक शान्तिपूर्ण र टिकाउ विकल्प खडा गर्नु अत्यन्तै कठिन काम हुन्छ ।

ट्रम्पको दाउ यो हो कि युद्धले मध्य पूर्वलाई एक राम्रो र सुरक्षित ठाउँ बनाउनेछ । तर यस्तो हुने सम्भावना भने निकै कमजोर देखिन्छ । (जेरेमी बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक हुन् ।)

प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।