सूर्यमुखी बगानले तान्यो चितवनमा कृषि पर्यटनको ध्यान

चितवन ।  चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगान अहिले आकर्षणको केन्द्र बनेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा ढकमक्क फुलेका सूर्यमुखी फूल हेर्न दैनिक सयौ मानिस पुग्न थालेपछि यस क्षेत्र कृषि पर्यटनका रुपमा चर्चित बन्दै गएको छ ।

यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो खिच्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस सङ्कलन गर्दै बगानभरि घुमिरहेको दृश्य र बाली जोगाउन सुगालगायत चरालाई भगाउन राखिएका ‘डमी’ले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ ।

बगानको बीच भागमा निर्माण गरिएका मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा निकै रमाइलो अनुभव गर्न सकिन्छ । भरतपुर–३ बाट अवलोकन गर्न आएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताए । उनिहरूले अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न र केही समय मन प्रफुल्लित बनाउन आग्रह गरे ।

त्यसैगरी, समूहमा यहाँ घुम्न आएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी, सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताए । नारायणगढबाट आएका उनिहरूले अघिल्लो वर्ष आउने योजना भए पनि फूल सुकेको हुँदा आउन नपाएको र यस वर्ष भने फूल फुलेको समयमा आएको बताए ।
टिकटकमा देखेर यहाँ आउन प्रेरणा मिलेको उनिहरूको भनाइ छ ।एग्रो–इको टुरिजम प्रवर्धन गर्ने उद्देश्यले तयार गरिएको यस बगानले यस क्षेत्रलाई चहलपहल बनाउनुका साथै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्रेरणा पनि दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउने गरेका छन् ।

फूल फुल्ने समय सीमित हुने भएकाले यस अवधिमा आगन्तुकको भीड बढी हुने गरेको छ । अधिकारीले भने, “धेरैजसो रमाउन, फोटो खिच्न र टिकटक बनाउन आउछन् । कतिपय भने खेतीबारे बुझ्न पनि आउछन् । बीउ कहाँ पाइन्छ ? ‘मेरो पनि जग्गा छ, म पनि लगाउँछु’ भन्दै सल्लाह लिन आउछन् ।

सकेसम्म मैले जानेको कुरा सिकाएर पठाउने गरेको छु ।” युवाहरूमा पनि यस खेतीप्रति आकर्षण बढ्दै गएको र कृषि पर्यटनको सम्भावना देखिएको उनको भनाइ छ ।प्राङ्गारिक किसान अधिकारीले कुनै पनि रासायनिक मल वा विषादी प्रयोग नगरी खेती गर्न थालेको ३६ वर्ष भएको बताए ।

उनको अग्रसरतामा जिल्लाका केही स्थानमा प्राङ्गारिक कृषि प्रणाली पनि अपनाइएको छ । यहाँ उनले सूर्यमुखीसँगै गाजर, चुकन्दरलगायतका खेती पनि गर्दै आएका छन् । उनका अनुसार गत वर्ष यहाँ गाजर र चुकन्दरखेती गरिएको थियो भने अघिल्लो वर्ष पनि सूर्यमुखी लगाइएको थियो ।यस वर्ष पुनः सूर्यमुखी खेती गरिएको उनले बताए ।

अघिल्लो वर्ष आगन्तुकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि सूर्यमुखी लगाइएको र हालसम्म राम्रो भइरहेको उनको भनाइ छ । उनका अनुसार यस बगान स्थापना गर्न रोपाइँ, गोडमेल र व्यवस्थापनमा ठूलो लगानी गरिएको छ ।उनले तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीबाट बीउ ल्याएर यहाँ सूर्यमुखीखेती गरेका हुन् । यहाँ उत्पादन हुने प्राङ्गारिक वस्तुको बजारको समस्या नभएको उनले बताए । काठमाडौंस्थित अर्ग्यानिक मार्टमा यहाँका उत्पादन जाने गरेका छन् । सूर्यमुखीको तेल प्रतिलिटर ८०० मा बिक्री हुने उनको भनाइ छ ।

उनका अनुसार मंसिरको सुरुमा रोपिएको सूर्यमुखी चैतमा उत्पादन दिन्छ । यही समयमा फूल फुल्ने भएकाले मानिसहरू अवलोकन गर्न आउने गरेका हुन् । “फूल फुल्ने समयमा कृषि पर्यटनसँग जोडिएको छ”, उनले भने, “मैले सुरुमा पर्यावरणमैत्री कृषि गरिरहेको थिएँ, पछि यससँग पर्यटन पनि जोडियो ।”

कृषिमा अत्यधिक नाफाको अपेक्षा गर्नु नहुने उनि बताउछन् । “कृषि गर्नु आफैँमा आनन्दको विषय हो”, उनले भने । अवलोकनका लागि आउने आगन्तुकबाट आफूलाई पनि हौसला मिलेको उनको भनाइ छ । नेपालको भौगोलिक विविधताले फरकफरक स्थानमा फरक किसिमको कृषि प्रणाली अपनाउन सकिने सम्भावना रहेको उनले बताए ।

“हरेक भूगोलअनुसार उत्पादन गरेर देशलाई आवश्यक पर्ने वस्तु उपलब्ध गराई बाँकी निर्यात गर्न सकिन्छ”, उनले भने, “यसका लागि कृषि विज्ञको परामर्श र नीतिनिर्माताको सहयोग आवश्यक छ ।” नेपालमा कृषिको सम्भावना राम्रो रहेको उल्लेख गर्दै उनले जानेर–बुझेर तथा विज्ञको सल्लाह लिएर फरकफरक प्रकारका कृषिबाली र कृषि पद्धति अपनाउनसके राम्रो हुने सुझाव दिए ।