काठमाडौं । गत फागुन २१ गतेको निर्वाचन परिणामाले नेपाली राजनीतिमा आमूल परिवर्तन देखाएको छ । यही राजनीतिको परिवर्तन बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाह र रवि लामिछानेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन मार्फत बधाई दिएका छन् ।
‘आगामी नयाँ सरकारको लागि शुभकामना र हाम्रा दुई देशको पारस्परिक समृद्धि, प्रगति र कल्याणका लागि रास्वपासँग सहकार्य गर्ने भारतको प्रतिबद्धता छ ।’ प्रधानमन्त्री मोदीले सोमबार जितको बधाई दिँदै फोनमा भनेका छन् ।
नेपालका दुई नेताहरूसँगको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले संयुक्त प्रयासका साथ आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्ने कुरामा मोदी विश्वस्त रहेको बताएका छन् । अब नेपाल–भारत पारस्पारिक सम्बन्धमा अझै राम्ररी अगाडी बढ्ने भाव मोदीले दुई नेतासँग फोन वार्तामा बताएका छन् । रास्वपाले आम जनताबाट माया, साथ सपोर्ट पाएर निर्वाचनको परिणाम मार्फत इतिहास रचेको छ । बालेन र रविसँग फोनमा राम्रो भलाकुसारी भएको कुरा मोदीले आफ्नो आधिकारिक एक्स पोष्टमा राखेका छन् ।
बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई मार्च ५ (फागुन २१) मा भएको संसदीय चुनावमा राम्रो जनमत प्राप्त गरेकोमा उनको आधिकारिक एक्स पोष्ट मार्फत बधाई ज्ञापन गरेका छन् ।
उनले एक्स पोष्ट मार्फत नेपाली जनतालाई पनि सफल निर्वाचनको लागि बधाई दिएका हुन् । उनले भने,‘नेपालको संसदीय निर्वाचनमा सफल र भारी मतान्तरले विजय भएकोमा रवि र बालेन शाहलाई बधाई छ र सफल चुनावको लागि नेपाली नागरिकलाई बधाई दिन्छु ।’ नेपालमा आगामी सरकारसँग द्विपक्षीय देशबीचको न्यानो मित्रतालाई अझ घनिष्ठ बनाउन प्रधानमन्त्री तोब्गेले तयार रहेका कुरा संजालमा व्यक्त गरेका छन् । उनले नेपाल–भुटानको सम्बन्धलाई सुमधुर बनाउ सधैँ आफू तत्पर रहेको कुरा सामाजिक सञ्जालमा लेखेका छन् ।
सफल चुनावको लागि नेपाल सरकार र जनतालाई तारिक रहमानको बधाई
५ मार्च, २०२६ मा सम्पन्न सफल र शान्तिपूर्ण संसदीय निर्वाचनको लागि नेपाल सरकार र जनतालाई बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बधाई दिएका छन् । यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा, लचिलोपन र उनीहरूको लोकतान्त्रिक संस्थाहरूको बललाई प्रतिबिम्बित गर्दछ । उनले फेसबुक पोष्टमा लेखेका छन्,‘ बंगलादेश–नेपाल लामो समयदेखिको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन नयाँ सरकार र नेपाली जनतासँग नजिकबाट काम गर्न म तत्पर छु ।’
































