राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्यालको नाम सिफारिस जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण

काठमाडौँ । नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभामा हाल रिक्त एक विज्ञ सदस्यमा उनको नाम सिफारिस भएको हो । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट मनोनीत गर्ने संवैधानिक प्रावधान छ । सङ्घीय संसद्मा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।

त्यसैगरी, सरकारले दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले नेपालका हिम नदी बेसिन क्षेत्रमा हिमताल विस्फोटनजन्य बाढी तथा बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममार्फत प्राप्त हुने सो रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, सरकारले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरुमा रहेका एंव ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावास रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, म्यानमा, मस्कट, इस्लामाबाद, कायरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावास जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

विसं २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद् बैठकले ग्रहण गर्ने निर्णय गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।