अरुले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा हामी पुग्न सक्छौं, होसियार ! आज तपाईंहरूले खुसीयाली मनाउनुभएको छ, तपाईंहरूको निधारको अविर पनि, कतिपयको त नुहाउँदा नुहाउँदा पनि गएको छैन ।
कतिपय अझै पनि अविरमाला लगाइरहनुभएको छ । त्यस्तै सेलिब्रेसन अबको ५ वर्ष नेपाली जनताले मनाउन पाउने गरी काम गर्नुपर्छ ।
यो ५ वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ । राजनीति यसैगरी चल्छ भनेर कहीँकतै मानिसहरू त्यही ढंगले दौडधुप पनि मैले गरेको पनि देखिरहेको छु । राजनीति त्यसैगरी चल्नेवाला छैन । कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन । काँचुली फेर्ने हो । काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन् ।
हामी कानुन बनाउन आएका हौं । कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका छन् । त्यो कानुन फेरेर उनका घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ । उनलाई थाहा नहोला तर तपाईँलाई थाहा हुनुपर्छ । कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउन, तपाईँलाई थाहा हुनुपर्छ । अध्ययन गर्नुपर्ने हुन्छ ।
त्यसकारण यसपटक यो शक्तिको दौडधुप यताउता यसलाई भनेर हुन्छ कि उनलाई भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नुहोला साथीहरू । म आज अलिकति तितो कुरा गरिरहेको छु तपाईँहरूलाई । कानुन निर्माताका रूपमा तपाईँहरूको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ । कैयौं पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानुनहरू बन्न सकेका छैनन् । संविधान निर्माण भएको यति लामो समय हुँदा समेत।
विभिन्न बाधा अड्चनहरू भए तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुईतिहाइको बहुमत दिएका छन् । अब केको बाधा ? अब केले अड्काउँछ हामीलाई ? अब अड्काउने भनेको तपाईँ हाम्रो नियतले मात्रै हो र अर्को कुरा, धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन । जति समय राजनीतिमा रहें सधैँभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नुपर्यो । यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो । पार्टीको नाममा मुद्दा चल्यो । यो पार्टीलाई जन्मेदेखि कुल्चिने कोसिस भयो । बचाउँदै लिएर आउन सक्यौं । यो पार्टीको चुनाव चिह्नमा मुद्दा चल्यो । यो पार्टीको चुनाव चिह्न नै भत्काइदिने गरी प्रहारहरू भए । स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट। जोगाएर ल्यायौँ हामीले ।
हामीले घण्टी बजायौँ । किनकि नेपाली जनताको लागि घण्टी बचाउनुपर्थ्यो, घण्टी बजाउनुपर्थ्यो । सजिलो थिएन । यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौँ । हामी डराएनौँ । हामी हल्लिएनौँ । किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो ।
एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर हामीले ८४ कुरेका थियौँ । नागरिकले सबै हेरेका हुन्छन् । हरेक गतिविधि जनताले हेरेका हुन्छन् । जनताको चेतनालाई कसै–कसैले चुनौती दिन्छन् । जनता नै खराब भए कि भनेर चुनौती दिन्छन् । होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई २०–२१ सिट होइन, एकैपटक दुईतिहाइ दिन सक्थे जनताले । तर अघिल्लो चुनावमा जनताले के भने भने यी नयाँहरूलाई एकपटक हेरौँ, ताकि यिनीहरू नमातिउन् । त्यति मात्र सिट दिऊँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि नमिट्याउन नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे । तर नागरिकको त्यो विवेकलाई दुईतिहाइ पाएको सरकारले चुनौती दियो ।
शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ । नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३५–३६ वर्षसम्म कुरे, तपाईँ हामीलाई ३६ महिना ३६ दिन पनि कुर्नेवाला छैनन् । यो कुरा निर्धक्क हुनुहोला । किनकि जनता अब्बल चेतनामा आएको छ । अब कानुन निर्माताका रूपमा तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर–घरमा होइन ।
गुट बनाएर कांग्रेस–एमालेलाई जितिँदैन साथी हो । कुनै गुट बनाउनुपर्दैन । घण्टीका मुनि सबै हटाउन सक्छन् । घण्टीसँग त्यति धेरै तागत छ । कहीँ गुट बनाउनुपर्दैन र आफ्नो पोजिसन के हुन्छ ? म कहाँ हुन्छु ? मलाई के हुन्छ ? पार्टीमा मेरो हैसियत के हुन्छ ? संसदमा मेरो हैसियत के हुन्छ ? सरकारमा मेरो हैसियत के हुन्छ ? यो म–केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरूभन्दा पनि बत्तर हविगत हुन्छ । यो कुरा म तपाईँहरूलाई डे वानमा बताउन गइरहेको छु । त्यसकारणले आफूलाई सेन्टरमा राख्ने होइन । राजनीति आजसम्म त्यस्तै भयो । सहमति त गर्ने, राष्ट्रिय सहमति गर्या जस्तो भन्दै राजनीतिक सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आ–आफ्नो ठाउँ सुरक्षित राखे । पार्टीहरूले आ–आफ्नो ठाउँ सुरक्षित राखे । तर देशलाई सुरक्षित राख्ने हो कि होइन ? देशलाई केन्द्रमा राखियो कि राखिएन ? त्यो महत्वपूर्ण कुरा हो । यतिखेर देश केन्द्रमा छ । देशले देखेको सपना हामीले पूरा गर्ने हो ।
तपाईँको र मेरो मन्त्री–प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन । मेरो सपनाको भारी बोक्नका लागि यो समाज बाध्य छैन । तर यो समाजको सपनाको भारी तपाईँ हामीले बोक्ने हो । त्यसका लागि तपाईँ हामीलाई मत दिएर पठाएका हुन् । सामान्य कुरा होइन । यहाँ शहीदकी आमा छिन्, ध्यान दिनुहोला । कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुट्को पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनुहोला । आफ्नो छोरो चढाएर संसद् छिरेकी छिन् शहीदकी आमा । यो सामान्य कुरा होइन ।
देशमा बिचौलियागिरी बिगबिगी छ । मैले छोटो समयको राजनीतिमा जुन देखें, त्यो अनुभव तपाईँलाई सुनाउँदैछु । तपाईँहरूलाई विचलित बनाउन, तपाईँलाई प्रभावित बनाउनका लागि मानिसहरू दौडिन्छन् । यो देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाटै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ । बनेको दिनदेखि नै हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ । त्यो जनमत पाएसँगै यिनीहरूबिच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ–ठाउँबाट प्रयास भएको तपाईँहरूले देख्नुभएको होला । समाचारभित्रका नियतहरू पनि कहिलेकाहीँ बुझ्न सकिन्छ । त्यस्ता ठाउँबाट हामी जोगिनुपर्छ । हामीलाई फुटाउने, गिराउने, गलत गराउनेहरूको बिकबिगी छ । हामीविरुद्ध पनि धेरै मत आएको छ, लाखौँ भोट जसले हामीलाई दिएका छैनन् । प्रतिपक्षी र विरोधीहरूको कमी हुँदैन । फरक यति हो, हामी कति बलियो छौँ । आफू बलियो हुनुपर्छ । अरूलाई दोष दिएर अर्काले फुटायो, विदेशीको चाल भन्ने कुरा अब मेटाउनुपर्छ । समस्या तब मात्रै आउँछ, जब हामी आफैँ मिल्न सक्दैनौँ र स्वार्थको बन्दी बन्छौँ ।
रास्वपामा विभिन्न राजनीतिक पृष्ठभूमिबाट आउनुभएका साथीहरूलाई स्वागत छ । कुनै हिचकिचाहट वा लघुताभास राख्नुपर्दैन । पुरानो पार्टीसँग जोडिएको भनेर असहज हुनुपर्दैन । हामीले हृदय खोलेर स्वागत गरेका छौँ । तर पुरानो प्रवृत्तिबाट मुक्त भएर आउनुपर्छ ।
देश यस्तो अवस्थामा नपुगोस् भनेर युवाहरूले रगत बगाएका हुन् । हामीमाथि ऐतिहासिक जिम्मेवारी छ । यो सामान्य चुनाव होइन, शहीदको बलिदानबाट आएको अवसर हो । त्यसैले यहाँ हल्काफुल्का अभिव्यक्ति दिने छुट कसैलाई छैन, मलाई पनि छैन । हामीले गर्ने हरेक गतिविधि नागरिकले हेरिरहेका छन् । जनताले दिएको मतको सम्मान हुनुपर्छ । कुनै पनि अभिव्यक्ति वा क्रियाकलापले मतदाताको शिर झुक्ने अवस्था आउनु हुँदैन ।
सञ्चारमाध्यममा आउनु रमाइलो लाग्न सक्छ, प्रशंसा पाउँदा राम्रो लाग्छ । सञ्चारकर्मी पनि यही समाजका साथी हुन् । तर अभिव्यक्तिको प्रभाव के पर्छ भन्ने सोच्नुपर्छ । हल्का अभिव्यक्तिले देशलाई दीर्घकालीन असर पार्न सक्छ । अब तपाईँ हिजोको जस्तो व्यक्ति होइन, जिम्मेवार सांसद, जिम्मेवार राजनीतिकर्मी, जिम्मेवार प्रतिनिधि हुनुहुन्छ । भूमिका बदलिएको छ । यदि कसैलाई अझै पुरानै शैलीमा बोल्ने वा व्यवहार गर्ने मन छ भने, त्यो भूमिका छाड्न सकिन्छ । तर यदि जिम्मेवारी स्वीकार्ने हो भने त्यसअनुसार आचरण बदल्नुपर्छ ।
अब हामीले कानुन बनाउने, संशोधन गर्ने, जनताको जीवनमा परिवर्तन ल्याउने काम गर्नुपर्छ । मत दिएका जनताको घरघरमा खुसी ल्याउनुपर्छ । उनीहरूले सेवा पाउँदा सोर्स–फोर्स चाहिने अवस्था अन्त्य हुनुपर्छ । सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार गराउनुहोस् । त्यसले सार्वजनिक सेवा सुधार्न मद्दत गर्छ । जनताले भोग्ने समस्या आफैँले अनुभव गर्नुपर्छ ।
रास्वपा स्थापना भएको धेरै समय भएको छैन तर विभिन्न पृष्ठभूमिका मानिसहरू जोडिएका छन् । पार्टीभित्रै देशको विविध अनुहार देखिन्छ । कसैको छवि राम्रो होला, कसैको सामान्य होला तर सबैलाई एउटै मापदण्ड लागू हुन्छ । दुईतिहाइ बहुमत होस् वा नहोस्, पार्टीले ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू गर्नेछ ।
स्वतन्त्रता र अनुशासनबिचको सन्तुलन कायम गर्नुपर्छ । स्वतन्त्रता प्रयोग गर्न पाइन्छ तर अनुशासनभित्र रहेर । पार्टीले अनुशासनमा कुनै सम्झौता गर्दैन । परिवार ठूलो भएको छ, अनुशासन नभए अराजकता बढ्छ । समाज पहिले नै अराजकताबाट प्रभावित छ, त्यसैले हामी अझ बढी अनुशासित हुनुपर्छ । आज मैले केही फरक कुरा गरेको छु, त्यो जिम्मेवारीकै कारण हो । अलि–अलि कडाइका कुरा गरेँ, अलि–अलि कराइका कुरा गरेँ । ‘राइट टु रिकल’को कुरा गरेँ, खबरदारी गरेजस्तो लाग्यो होला, लाग्नुपर्छ । किनकि जुन आशा र अपेक्षासहित नेपाली जनताले भोट दिएका छन्, त्यो जिम्मेवारीको महसूस तपाईँलाई हरेक दिन हुनुपर्छ ।
यो देश अहिले पनि बनेन भने कहिले बन्छ ? भोट माग्दा आमाबाबुले रुँदै ‘देश बचाऊ’ भनेका थिए, यो सामान्य होइन, गहिरो जिम्मेवारी हो । निलो झण्डा र घण्टी बोकेका हाम्रो काँधमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले देश सुम्पिएका छन् । जति ठूलो शक्ति, त्यति ठूलो जिम्मेवारी ।
रास्वपाभित्र देशकै विविध अनुहार छ, व्यवसायी, विद्यार्थी, युवा, महिला, सीमान्तकृत समुदाय, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक सबै । यस्तो ठूलो परिवारलाई एउटै धारमा राख्न अनुशासन अनिवार्य छ ।
मिडियामा उपस्थित हुनुमा आपत्ति छैन तर बोल्नुअघि पार्टीसँग सरसल्लाह गर्नुहोस् । सानो अभिव्यक्तिले मतदाताको मन दुख्न नदिनुहोस्, देशका संवेदनशील विषय अर्थतन्त्र, कूटनीतिमा हल्का टिप्पणीले दीर्घ असर पार्न सक्छ ।
अब संसद्बाहेक समय जनतामाझ बिताउनुहोस् । आफ्नो क्षेत्रमा समस्या आयो भने त्यसको जिम्मेवारी तपाईँकै हुन्छ । जनताले तपाईँलाई आफ्नो सुखका लागि पठाएका हुन्, तपाईँलाई सुख दिन होइन ।
ठूला सेमिनार होइन, गाउँ–टोल, चिया–चौतारोमा सांसद देखिनुपर्छ । सांसद बनेपछि स्वतः ज्ञान आउँदैन । अध्ययन, अनुसन्धान र मेहनत अझै बढी गर्नुपर्छ । शक्तिसँगै व्यवहार बिग्रिने प्रवृत्तिबाट जोगिनुहोस्, नागरिकसँग नजिक रहनुहोस् । हामीले नागरिकसँग परिवर्तनको करार गरेका छौँ, काँचुली फेर्ने वाचा गरेका छौँ । त्यो करार अक्षरशः पूरा गर्नुपर्छ । मन्त्री बन्ने दौड, मिडिया ट्रायल बन्द गर्नुहोस् । पार्टीले क्षमता अनुसार निर्णय गर्छ । देखिएका र नदेखिएका सबै सक्षम साथीहरूलाई पार्टीले नियालिरहेको छ । सञ्चारकर्मीलाई पनि आग्रह चर्चित अनुहार मात्रै होइन, पार्टीभित्रका विज्ञ र सक्षम अनुहारहरूलाई पनि देखाइदिनुहोस् । नागरिकले सम्पूर्ण चित्र देख्नुपर्छ ।
सांसदहरूले चुनावमा जति मेहनत गर्नुभयो, अब त्यसभन्दा बढी अध्ययन र सोचको मेहनत चाहिन्छ । हामीले दुर्लभ अवसर पाएका छौँ, आफ्नै हातले देशको इतिहास लेख्ने अवसर । जनताले भनिसके, ‘लौ, हाम्रो भविष्य लेख ।’ यसलाई उत्सव होइन, जिम्मेवारीको रूपमा लिनुपर्छ । अर्को चुनाव जित्न होइन, अर्को पुस्ता नहारोस् भनेर काम गर्नुपर्छ । मेरो लागि विकासको मुख्य सूचक भौतिक पूर्वाधार मात्र होइन, सामाजिक न्याय हो । जहाँ विभेद छ, त्यहाँ विकास अधुरो छ । त्यसैले सामाजिक न्यायका लागि लड्नुपर्छ । समावेशितामा अझै कमी छ, विशेषगरी केही समुदायको प्रतिनिधित्व नहुनु दुःखद छ । आगामी दिनमा यसलाई प्राथमिकतामा राखिन्छ ।
विकास भनेको आफ्नो क्षेत्रमा मात्र बजेट ल्याउनु होइन । कर्णाली, मधेश, सुदूरपश्चिम पछाडि परे भने त्यो विकास होइन । सिङ्गो देश विकास हुनुपर्छ ।
हामी एउटा चुनावका लागि होइन, पुस्तौँका लागि लडेका हौँ । अर्को चुनाव जित्नु–हार्नुभन्दा ठूलो कुरा, अर्को पुस्ता हार्नु हुँदैन ।
म लोकतान्त्रिक पद्धति, वर्तमान संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छु । इतिहासमा पुराना नेताहरूको योगदानलाई सम्मान गर्छु । विजयको उन्मादमा विपक्षीप्रति कटाक्ष नगर्नुहोस् । त्यस्तो व्यवहार कदापि स्वीकार्य छैन । विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन । विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन, त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ, आज तपाईँहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईँहरूको काँधमा पनि बाँड्न चाहन्छु, कि रास्वपालाई प्रायः अराजक छन्, रास्वपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली–गलौजमा उत्रिन्छन्, व्यक्तिगत गाली–गलौजमा उत्रिन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्, त्यस किसिमको एउटा छवि बनेको छ । म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्किनुपर्छ । रास्वपाले प्रशिक्षण गर्न पाएको छैन, ३ वर्षमा आक्रमण नै आक्रमण झेल्दै आएको रास्वपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन । तर यही समाजका पात्रहरू भएको हुनाले तपाईँले समाजका विभिन्न तह र तप्कामा लिनुभएको प्रशिक्षणले तपाईँको व्यक्तिगत आचरणलाई देखाउँछ, त्यसकारणले सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु ।
चुनाव रास्वपाले जितेको होइन, यो देशले जितेको हो, हामीले प्रमाणित गर्नुपर्नेछ । रास्वपाको माध्यमबाट देशले जितोस् भनेर आम नागरिकले हामीलाई भोट दिएका हुन् । त्यसकारणले यो जीत केवल रास्वपा समर्थक, रास्वपा भोटरको मात्र होइन, यो जीत सम्पूर्ण देशको हुनुपर्नेछ, त्यसका लागि तपाईँ हामीले काम गर्नुपर्नेछ । अबको ५ वर्ष सहज हुनेवाला छैन, हिजोका सांसदहरूको जस्तै गतिविधि या हिजोका मन्त्रीहरूको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भन्ने जोकोहीलाई परेको छ भने कृपया त्यो होइन । अतिसंवेदनशील समयमा, अत्यन्त धेरै मेहेनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईँहरूलाई मेहेनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु ।
अन्त्यमा, यो निर्वाचन जित्नका लागि पार्टीका विभिन्न तह र तप्कामा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । समानुपातिक साथीहरूलाई कतिपय मानिसहरूले तिमीहरू त समानुपातिक हौ, प्रत्यक्ष होइनौँ भनेर अलिकति फरक ढंगले हेर्न खोजेको देखिन्छ, म त्यसलाई विभेद भन्छु, म त्यसमा विभेद पार्टीभित्र नहोस् भन्ने चाहना राख्न चाहन्छु । चाहे प्रत्यक्षमा रहेका हुन्, चाहे समानुपातिकमा रहेका हुन्, सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरेका छन् । कतिले चुनाव जित्नका लागि भूमिका निर्वाह गरे भने, अब संसदमा गएर ती साथीहरूले आफूलाई अझ बढी अब्बल प्रमाणित गर्नुहुनेछ ।
हरेक पेशा, व्यवसाय, क्षेत्र, लिङ्ग सबैको प्रतिनिधित्व गरेर विशाल रास्वपा परिवारमा आउनुभएका तपाईँ साथीहरूलाई सुपर लास्ट, एउटै कुरा के भन्छु भने हामी समय र परिस्थिति एक ठाउँमा जोडिएका हौँ, हामी यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौँ भने अलग किसिमका मानिसहरू थियौँ, हाम्रा साथीभाइ अलग थिए, हाम्रो संगत अलग थियो, हाम्रो काम अलग थियो, हाम्रो पेशा अलग थियो, तर परिस्थितिले हामीलाई यहाँ जोडेका, हामीलाई जोडेको हो, जोडिसकेपछि एज अ टिम प्लेयर, एउटा सामूहिक खेलाडीका रूपमा तपाईँ–हामीले काम गर्नुपर्नेछ। व्यक्तिगत रूपमा कसैको आचरण, बानी–व्यवहार, स्वभाव, हामीलाई मन पर्नु–नपर्नु बेग्लै कुरा हो, तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो ।
तपाईँलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्, तर हामीले पढ्ने यिनै किताबहरू हुन्, यिनै किताबभित्र हामी एकबद्ध भएर देशको संविधान मानेर, पार्टीको विधान मानेर, विभिन्न नियम नियमावलीको अधीनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्नेछ । त्यसकारणले व्यक्तिगत इच्छा, आकांक्षा, व्यक्तिगत लाइक, डिसलाइक, व्यक्ति मनपर्ने, मन नपर्ने कुराहरू गौण रहन्छन् । मैले अघि पनि भने तपाईँको चाहना, तपाईँको सपनाको भारी यो देशले बोक्ने होइन, वर्षौंदेखि यो देशले देखेको सपनाको भारी तपाईँ हामीले मिलेर, मिलेर बोक्ने हो । कैयौं व्यक्तिगत जीवनमा मन नपरेका साथीहरू पनि कता–कता घुम्दै–फिर्दै यहीँ आएर ठोकिएका पनि हुनसक्दछौँ, यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति बफादार, इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेछ ।
म यहाँहरूको सुखद राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छु, फेरि पनि निर्वाचनलाई यति ठूलो परिणाममा ल्याउनका लागि काम गर्नुहुने पार्टीका अग्रपंक्तिमा माथिदेखि अन्तिम पंक्तिसँग काम गर्नुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु, मतदाता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
यो देशको निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईँहरू कहीँकतै पनि विचलित नहुनुहोला, तपाईँहरूले निर्धक्कसँग काम गर्नसक्ने वातावरण हामी बनाउँछौँ । यो देशमा लगानी ल्याउनको निमित्त विदेशमा रहेका नेपाली डायस्पोराका साथीहरूलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु, आउनुहोस् मिलेर काम बनाऊ, देश निर्माणको यो महान अभियानमा तपाईँहरूको साथ हामीलाई चाहिएको छ, सँगै मिलेर हामी थिति बसाल्ने संकल्प गर्न सक्छौँ, अन्तर्राष्ट्रिय समुदायलाई पनि म यति भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ । तपाईँ र तपाईँको लगानी यो देशमा सुरक्षित हुन्छ, निर्धक्क हुनुहोला, कुनै किसिमको बाधा अड्चन हुने छैन, तपाईँलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, तपाईँलाई देशको नीतिले, हाम्रो नीतिले संरक्षण गर्नेछ, नीतिगत रूपमा तपाईँ हामी संरक्षित हुनेछौँ ।
देशको विश्वविद्यालयहरूले काँचुली फेर्नुपर्नेछ, उद्योग–कलकारखाना चल्नुपर्नेछ, देशमा काम–धन्दा निरन्तर चल्नुपर्नेछ, इम्प्लोयमेन्ट क्रिएट गर्नुपर्नेछ, यी यावत जिम्मेवारीहरू पुरा गर्नको निमित्त हामी सक्षम भएर काम गर्नेछौँ । मुलुक नयाँ मान्छेहरूको हातमा गयो, कहिँ अप्ठ्यारोमा पर्छ कि, लोकतन्त्र पो खतरामा पर्छ कि, कहीँकतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका, भ्रम वा आशंकाहरू कहीँकतै भएको छ, म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ । हामी यसलाई एकदमै केयरफुली, यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ, अत्यन्त सौहार्दका साथ, करुणाका साथ र अत्यन्त चनाखो भएर हम काम गर्नेछौँ । सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौँ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































