गगन थापाको राजीनामा अब के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदबाट राजीनामा दिँदै उपसभापति विश्वप्रकाश शर्मालाई पत्र बुझाइसकेका छन् । माघ १ गते सभापतिमा निर्वाचित भएका थापाले बुधबार राजीना पत्र शर्मालाई बुझाएका हुन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका हुन् । विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका थापाले लगत्तै प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा सक्रिय भए भने आफू पनि काठमाडौं–४ छोडेर सर्लाही–४ मा चुनाव लड्न गए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।

पार्टीभित्र थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने शेरबहादुर देउवा समूहका नेताहरूले बताउँदै आएका छन् भने विशेष महाधिवेशन पक्षधर नेताहरू भने राजीनामा दिन नहुने बताउँदै आएका छन् । ०७९ को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक थापा नेतृत्वमा ‘बदल्यौँ कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावमा होमिएको थियो । तर,निर्वाचनमा नमिठो हार बेहोरेपछि थापा राजीनामा दिने अवस्थामा पुगेका हुन् । थापाले राजीनामा दिए अब यसको प्रक्रिया के हुन्छ भन्ने आम चासो छ । थापाले उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्रसहितको प्रस्ताव अब केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । उक्त प्रस्ताव उपसभापतिले बैठकमा पेस गर्ने वैधानिक व्यवस्था छ । प्रस्तावलाई केन्द्रीय समितिले स्वीकृत गरेमा उपभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछन् ।सभापतिको राजीनामाबारे पार्टीको विधानको धारा २६ मा स्पष्ट लेखिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ ।

धारा २६ को () मा केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्नेछ ।

केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछ र ६ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाइ केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।

यता उपसभापति शर्माले थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। फागुन २१ को निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै सभापति थापाले पदबाट राजीनामा दिएका थिए। केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल एक्समा लेख्दै उपसभापति शर्माले सभापति थापाले बुझाएको राजीनामाबारे केन्द्रीय समितिमा छलफल हुने बताएका छन्। ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक ितर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ उपसभापति शर्माको भनाइ छ, ‘बैठकमा प्रारम्भीक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ िडढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन।’

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।