काहिरा । इरानले शनिबार राति दक्षिणी इजरायलका दुई समुदायमा क्षेप्यास्त्र प्रहार गर्दा भवनहरू ध्वस्त भएका छन् र दर्जनौँ मानिस घाइते भएका छन् । यी आक्रमणहरू इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिकै भएका हुन् । यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४८ घण्टाभित्र हर्मुज जलडमरू पूर्ण रूपमा नखोले अमेरिकाले इरानका विद्युत् केन्द्रहरू ‘पूर्ण रूपमा नष्ट गर्ने्’ चेतावनी दिएका छन् ।
यी घटनाक्रमले युद्ध चौथो साताको सुरुमै खतरनाक नयाँ दिशातर्फ अघि बढेको संकेत दिएका छन् । तेलको मूल्य बढ्दै जाँदा देशभित्र दबाब सामना गरिरहेका ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासबाट सामाजिक सञ्जालमार्फत इरानलाई ४८ घण्टाको समय दिएका हुन् । उनले चेतावनी दिँदै भने—यदि जलडमरू नखोले विभिन्न विद्युत् केन्द्रहरू, सबैभन्दा ठूलोबाट सुरु गरेर, नष्ट गरिनेछ ।
हर्मुज जलडमरू फारसको खाडीलाई विश्वका महासागरहरूसँग जोड्ने अत्यन्त महत्त्वपूर्ण मार्ग हो । जहाजहरूमा भएका आक्रमण र थप आक्रमणको धम्कीका कारण तेल, ग्यास र अन्य वस्तु बोक्ने प्रायः सबै ट्यांकरहरू त्यहाँबाट गुड्न रोकिएका छन् । यसले विश्वका ठूला उत्पादक देशहरूको उत्पादन घटाएको छ। इरानले गरेको यो आक्रमण त्यसै दिन तेहरान नजिकको नातान्ज आणविक संवद्र्धन केन्द्रमा भएको आक्रमणपछि भएको हो ।
इजरायलको सेनाले डिमोना र अराद शहरमा खसेका क्षेप्यास्त्र रोक्न नसकेको जनाएको छ । यी शहरहरू नेगेभ मरुभूमिमा रहेको आणविक केन्द्र नजिकका प्रमुख शहर हुन् । उक्त क्षेत्रमा पहिलो पटक इरानी क्षेप्यास्त्रले इजरायलको हवाई सुरक्षा प्रणाली पार गरेको हो । इरानका संसद् सभामुख मोहम्मद बाकर घालिबाफले डिमोना क्षेत्रमा क्षेप्यास्त्र रोक्न नसक्नु युद्धको नयाँ चरणमा प्रवेशको संकेत भएको बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले थप आपतकालीन टोली पठाइएको बताएका छन् र यो निकै कठिन साँझ भएको उल्लेख गरेका छन् । उद्धारकर्मीहरूका अनुसार अरादमा भएको प्रत्यक्ष प्रहारले कम्तीमा १० अपार्टमेन्ट भवनमा व्यापक क्षति पुगेको छ, जसमध्ये तीन वटा ढल्ने अवस्थामा छन् । कम्तीमा ६४ जनालाई अस्पताल लगिएको छ ।
डिमोना आणविक केन्द्रबाट करिब २० किलोमिटर पश्चिममा छ भने अराद करिब ३५ किलोमिटर उत्तरमा पर्छ । इजरायललाई मध्यपूर्वको एक मात्र आणविक हतियार भएको देश मानिन्छ, तर यसबारे उसले पुष्टि वा खण्डन गरेको छैन । संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले उक्त केन्द्रमा कुनै क्षति वा असामान्य विकिरण नदेखिएको जनाएको छ । इजरायलका सेनाप्रमुख एयाल जामीरले युद्ध अन्त्य नजिक नभएको बताएका छन् ।
इरानले हिन्द महासागरस्थित बेलायत–अमेरिकाको संयुक्त सैन्य अड्डा डिएगो गार्सियालाई पनि लक्षित गरेको छ, जसले इरानसँग पहिले अनुमान गरिएकोभन्दा टाढासम्म प्रहार गर्ने क्षमता रहेको संकेत दिएको छ । अमेरिका र इजरायलले युद्धका विभिन्न उद्देश्य प्रस्तुत गरेका छन्, इरानको शासन परिवर्तनदेखि लिएर आणविक तथा क्षेप्यास्त्र कार्यक्रम समाप्त गर्ने लक्ष्यसम्म । तर अहिलेसम्म कुनै जनविद्रोहको संकेत देखिएको छैन, र इन्टरनेट प्रतिबन्धका कारण सूचना सीमित छ । यस युद्धको प्रभाव मध्यपूर्व बाहिरसम्म फैलिएको छ, जसले खाद्य र इन्धनको मूल्य बढाएको छ ।
फेब्रुअरी २८ देखि सुरु भएका आक्रमणबाट इरानमा कति क्षति भएको स्पष्ट छैन, र वास्तविक नेतृत्व कोसँग छ भन्ने पनि अनिश्चित छ । सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन् । इजरायलले नातान्ज केन्द्रमा भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इरानको न्याय प्रणालीले त्यहाँ कुनै चुहावट नभएको जनाएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले इरानको करिब ४ सय ४० किलोग्राम संवद्र्धित युरेनियम इस्फाहान क्षेत्रमा रहेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रूसले यस्ता आक्रमणले मध्यपूर्वभर ठूलो विनाश निम्त्याउन सक्ने चेतावनी दिएको छ । केही घण्टापछि इरानले प्रतिकार गरेको हो । बेलायतले डिएगो गार्सियामा भएको आक्रमण सफल नभएको जनाएको छ र इरान क्षेत्रभर आक्रामक रूपमा प्रतिक्रिया जनाइरहेको बताएको छ ।
इरानले पहिले आफ्नो क्षेप्यास्त्रको दूरी २ हजार किलोमिटरभन्दा कम भएको दाबी गरेको थियो । तर सैन्य विशेषज्ञहरूले अन्तरिक्ष कार्यक्रममार्फत प्रहार गरिएको हुनसक्ने बताएका छन् । इजरायलका सेनाप्रमुखले इरानले दुई चरणको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् । बेलायतले प्रत्यक्ष आक्रमणमा भाग नलिए पनि अमेरिकालाई आफ्नो अड्डा प्रयोग गर्न दिएको छ । हर्मुज जलडमरूमा तनाव बढेपछि संयुक्त अरब इमिरेट्ससहित २१ देशले सुरक्षित आवतजावत सुनिश्चित गर्न सहयोग गर्ने तयारी जनाएका छन् ।
अमेरिकाले जहाजमा लोड भइसकेको इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ, तर यसले उत्पादन बढाएको छैन । इरानले आफूले भण्डारणमा कच्चा तेल लगभग नरहेको जनाएको छ। अमेरिकी सेनाले इरानको समुद्री आक्रमण क्षमता कमजोर बनाइएको दाबी गरेको छ र भूमिगत क्षेप्यास्त्र भण्डारण स्थलमा भारी बम प्रहार गरिएको जनाएको छ । अमेरिकाले थप तीन युद्धपोत र करिब २५सय सैनिक मध्यपूर्वतर्फ पठाउने तयारी गरेको छ ।
खाडी क्षेत्रका देशहरूले थप आक्रमणको जानकारी दिएका छन् । दुबईमा क्षेप्यास्त्र चेतावनी बजाइएको थियो भने साउदी अरबले २० ड्रोन खसालेको जनाएको छ । इरानमा मृत्यु हुनेको संख्या १५०० नाघेको छ। इजरायलमा १५ जनाको मृत्यु भएको छ भने पश्चिम किनार क्षेत्रमा थप चार जनाको ज्यान गएको छ । कम्तीमा १३ अमेरिकी सैनिक र खाडी क्षेत्रका दर्जनौँ नागरिकको पनि मृत्यु भएको छ ।
लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीच झडप भएको छ । कम्तीमा चार लडाकु मारिएका छन् । इजरायलको आक्रमणबाट १ हजार भन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी विस्थापित भएका छन्। हिजबुल्लाहका नागरिक संरचनाहरू पनि लक्षित भएका छन् ।




































