गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा ठूलो धनजनको क्षति भयो । राज्यको तीव्र बलप्रयोग र त्यसपछिको आक्रोशसँगै छ दर्जन बढीको मृत्यु र खर्बौँको नोक्सानी राज्यले व्यहोर्नुपर्यो ।
तत्कालीन सरकारका प्रधानमन्त्रीले पदबाट राजीनामा दिए भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा पछिल्लो सरकार बन्यो । कार्की सरकारले आन्दोलनमा भएको धनजनको क्षतिको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
पटक–पटकको म्याद थपपछि आयोगले अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर यसलाई सार्वजनिक गर्न ढिलाइ भइरहँदा बुधबार सञ्चारमाध्यममार्फत प्रतिवेदन बाहिर आएको छ । प्रधानमन्त्री कार्कीले बुधबार नै प्रतिवेदन सार्वजनिक गर्न मुख्यसचिवलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन् । प्रतिवेदनले भदौ २३ लाई बढी महत्व दिँदा २४ मा भएको विध्वंसबारे खासै बोलेको देखिँदैन ।
देशमा नयाँ सरकार बन्दै छ । यसको अर्थ अब यो प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी आगामी सरकारकै हुनेछ । नेपालमा विशेष परिस्थितिमा भएका घटना, आन्दोलनबारे उच्चस्तरीय आयोग बन्ने, त्यसको कार्यान्वयन नहुने समस्या छ । यसपालिको प्रतिवेदन पनि त्यसै थन्किने पो हो कि भन्ने आशंका नभएको होइन । तर नयाँ सरकारले यसलाई कसरी हेर्ला र कार्यान्वयन गर्ला चासोको विषय बनेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि सुरक्षा निकायका प्रमुखहरुसम्मको बयान लिएको छ भने कसरी ठूलो धनजनको क्षति हुने अवस्था आइपर्यो भन्ने आफ्नो अनुसन्धानमा समेटेको छ । अझ तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई कारबाही नै सिफारिस गरेको छ ।
आयोगमा बयान दिने सबैले इन्कारी बयान दिएको अवस्थामा नयाँ सरकारले उनीहरुलाई कारबाहीको दायरामा ल्याउला कि नल्याउला हेर्न बाँकी नै छ । तत्कालीन सत्तामा रहेको कारण नैतिक रुपमा उनीहरु जवाफदेही त छँदै छन्, यसपटक विगतको परम्परा तोडियो भने आगामी दिनमा यस किसिमको अवस्था आउनेछैन । त्यसकारण नयाँ सरकारले प्रतिवेदनको सूक्ष्म अध्ययन गरी जिम्मेवार पदाधिकारीलाई कानुनी रुपमा पनि जवाफदेही बनाउनु उचित हुनेछ । यदि प्रतिवेदन कार्यान्वयन विगतकै जस्तो नहुने अवस्था भयो भने यसले नयाँ सरकार पनि पुरानाभन्दा फरक देखिनेछैन र यसमाथि फागुन २१ मा जनताले गरेको भरोसामा प्रश्न उठाउनेछ ।
मिति २०८२ चैत १३ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
































