काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल लाओससँग १–० गोल अन्तरले पराजित भएको छ। मंगलबार लाओसको घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफको सुरुवातमै गरिएको एकमात्र गोल नै निर्णायक बन्यो।
खेलको ४७औं मिनेटमा लाओसका कप्तान बोउनफाचन बोउनकोङले चोनी वेनपासेर्थको पासलाई सदुपयोग गर्दै नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई बिट गरी गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दुवै टोलीले केही अवसर खेर फालेका थिए।
खेलभर नेपाल दबाबमा देखिएको थियो। बल पोजेसन कायम राख्न संघर्ष गरेको नेपालले आक्रामक क्षेत्रमा उल्लेखनीय अवसर सिर्जना गर्न सकेन। खेल अवधिभर नेपालबाट सीमित प्रहार मात्र लक्ष्यतर्फ गए। पहिलो हाफमा मनिष डाँगीले पाएका अवसर सदुपयोग गर्न नसक्दा नेपाल अग्रता लिन चुकेको थियो भने लाओस पनि केही अवसरमा गोल गर्न असफल भएको थियो।
दोस्रो हाफमा लाओसले आफ्नो अग्रता जोगाउँदै खेल नियन्त्रणमा राख्यो। नेपालले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। यससँगै लाओसले नेपालविरुद्ध छनोट चरणका दुवै खेल जित्न सफल भयो। यसअघि पहिलो लेगमा पनि लाओसले नेपाललाई २–१ ले हराएको थियो। नेपाली फुटबल इतिहासमा लाओससँग लगातार दुई खेलमा नेपाल पराजित भएको यो पहिलो पटक हो।
समूह ‘एफ’ मा ६ खेलबाट ६ अंक जोडेको लाओस तेस्रो स्थानमा रह्यो भने नेपाल ३ अंकसहित पुछारमा सीमित रह्यो। नेपालको ३ अंक पनि खेल जितेर नभई मलेसियाविरुद्धको खेलमा नियम उल्लंघनका कारण एएफसीले नतिजा उल्टाएपछि प्राप्त भएको हो।
यस समूहबाट भियतनाम शीर्ष स्थानमा रहँदै एसियन कपका लागि छनोट भएको छ भने दोस्रो स्थानको मलेसिया ९ अंकका बावजुद बाहिरिएको थियो। नेपाल र लाओस भने यसअघि नै छनोटको होडबाट बाहिरिसकेका थिए।
यो खेल नेपालका लागि घरेलु मैदानमा हुनुपर्ने थियो। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नसक्दा खेल लाओसमै सारिएको थियो, जसका कारण नेपालले घरेलु समर्थकको साथ गुमायो।
यस खेलमार्फत स्ट्राइकर युवराज खड्का र मिडफिल्डर पेम्बा दोर्जे लामाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्। साथै, मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले पनि हारबाट आफ्नो कार्यकालको सुरुआत गरेका छन्।
समग्रमा, एएफसी एसियन कप छनोटमा नेपालको प्रदर्शन निराशाजनक रह्यो र टोलीले बिना जित ३ अंकसहित आफ्नो यात्रा टुङ्ग्याएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































